काठमाडौं: रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा सागर ढकाललाई समर्थन गर्ने भएको छ।
डडेलधुराबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ढकाललाई निशर्त सघाउने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको हो।
राजनीतिलाई आजीवन पेसा बनाएकाहरु, पटक पटक परीक्षण भइसकेकाहरुको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेलधुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको पार्टीको आधिकारिक पेजमा उल्लेख गरिएको छ ।
साथै स्वतन्त्र पार्टीले चितवन, काठमाडौं- ४ लगायतका क्षेत्रमा तालमेल वा गठबन्धन गरेर उम्मेदवारी फिर्ता गरेको भन्ने बारेमा आएका समाचारहरूको खण्डन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै किसिमको तालमेल नगरेको र नगर्ने पनि जानकारी दिएको छ।









