काठमाडौं: नेकपा एमालेका नेता भीमबहादुर रावलले अध्यक्ष केपी ओलीलाई पार्टीभित्र ‘संदिग्ध’ व्यक्तिलाई कसले संरक्षण गरेको भनी प्रश्न गरेका छन् ।
अध्यक्ष ओलीले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका स्थायी कमिटी सदस्य प्रभु साहबारे दिएको अभिव्यक्तिलाई लिएर रावलले प्रश्न गरेका हुन् ।
उनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पार्टीमा ‘संदिग्ध र रंगीबिरंगी सर्प किन हुर्काइँदै छ?’ भनेर अध्यक्ष ओलीलाई प्रश्न गरेका हुन्।
रावलले लेखेका छन्, ‘प्रभु साहाको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। ‘हरियो सर्प’ भनेको पनि आयो। ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगीबिरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि?’












