पहिरोमा पुरिएर १३ जनाको मृत्यु

कालिकोट:  कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १३ जनाको शव फेला परेको छ। दूइ जना अझै बेपत्ता रहेका छन् ।

मृतक स्थानीय युवक हेमराज शाहीको मलामीमा गएका स्थानीय ५३ जनामध्ये १३ जना पहिरोमा परेका थिए । ५३ जनामध्ये अरु भाग्न सफल भएका छन् भने वडा नं. ४ का वडाध्यक्ष परबहादुर शाहीसहित १३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित तिलागुफा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष परबहादुर शाही र सोही वडाका ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीया छत्रबहादुर शाही, २८ वर्षीय खगेन्द्रबहादुर शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भानबहादुर शाही, ४१ वर्षीय मोतीलाल शाही, २४ वर्षीय नरेशबहादुर शाही र २३ वर्षका प्रशान्त शाही रहेका छन्।

मृतक सबै वडा नं. ४ राँचुलीकै रहेका छन्। दुईजनाको खोजी भइरहेको छ। प्रतिकूल मौसम र वर्षाले गर्दा कर्णाली राजमार्गको ठाउँ ठाउँमा पहिरो जाँदा खोजीमा समस्या आएको प्रहरीको भनाइ छ।

अहिले बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । पाँच दिनको वर्षाले कालीकोटमा ठूलो क्षति भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

[sidebar name="button post"]