काठमाडौं: पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेलगत्तै चुनावी कार्यक्रम सुरु गरेकी छन्।
पार्टीको निर्णय अनुसार ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेकी उनले आइतबार काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय थलीमा उम्मेदवारी दर्ता गरिन् ।
उम्मेदवारी दर्ता गरे लगत्तै उनी वेपत्ता परिवार भेट्न काठमाडौं २ मा रहेको कागेश्वरी मनोहरा वडा नम्बर –६ मूलपानीमा पुगेकी हुन् । मूलपानी पुगेर माओवादी स्थायी समिति सदस्य समेत रहेकी घर्तीले बुद्धि पोखरेल ‘अमृत’का बाबा आमासँग भेटेर जितको शुभकामना तथा आर्शिवाद ग्रहण गरिन् ।
पोखरेललाई राज्य पक्षबाट २०६१ सालमा बेपत्ता पारिएको उनका परिवारका सदस्यले बताएका छन्। पोखरेलको अवस्था अझै पत्ता लागेको छैन।
घर्तीले अबको राजनीतिक जीवन काठमाडौं २ मा समर्पण गर्ने र यस क्षेत्रका जनताको सेवाका लागि अनुमति लिन आएको बताउँदै चुनावी कार्यक्रम सुरु गरेकी हुन्। बेपत्ता परिवारका सदस्यसँगको भेटमा उनले आफ्नो छोरा–छोरी सम्झिन आग्रह गर्दै बेपत्ता छोराको सपना पूरा गर्न पनि माओवादी र आफ्नो जित आवश्यक रहेको बताइन्।









