काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे पक्षधरको राजनीतिक करियर ‘कत्लेआम’ पारेका छन् ।आम निर्वाचन– २०७९ का लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहँदा ‘१० बुँदे’ पक्षधर नेताहरुमध्ये कतिपयलाई कत्लेआम पारेका हुन् ।
नेकपा एमालेले योगेश भट्टराईलाई ताप्लेजुङमा प्रतिनिधि सभा उम्मेदवारको टिकट दिएको छ। ताप्लेजुङ भट्टराईको गृहजिल्ला समेत हो। उनले ताप्लेजुङबाटै २०७४ सालमा वाम गठबन्धनका तर्फबाट चुनाव जितेका थिए।
काठमाडौं क्षेत्र नम्बर ८ मा अष्टलक्ष्मी शाक्यले टिकट पाएकी छने । अब, चुनाव नलड्ने बाचा गरेकी शाक्यलाई पुनः उम्मेदवार बनाएको छ ।
यस्तै उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ र सचिव गोकर्ण विष्ट गुल्मी २ बाट उम्मेदवारका रूपमा दोहोरिनेछन् ।
एमाले नेता घनश्याम भुसालले भने टिकट पाउने वा नपाउने भन्ने टुंगो भइनसकेको उनीनिकट एक नेताले बताएका छन्। ‘घनश्याम भुषालबारे अझै टुंगो भइसकेको छैन,’ ती नेताले भने।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम छैन ।
एमाले अध्यक्ष ओलीको सूचीलाई अस्वीकार गर्दै १० औं महाधिवेशनमा अध्यक्ष लडेका भीम रावललाई पनि टिकट दिइएको छैन । उनी अछाम–१ बाट सर्वसम्ममत सिफारिस भए पनि झपट बोहोरालाई टिकट दिइएको छ ।
२०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्नबाट बञ्चित भएका छन् । उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए। २०६४ सालमा भने उनी समानुपातिक तर्फको सांसद बनेका थिए।









