विवेकशील साझाबाट रवीन्द्र मिश्रले दिए राजीनामा, केहि दिनमै राप्रपा प्रवेश गर्दै

काठमाडौं: विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्ष बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

त्यसका लागि उनले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेका छन् । राप्रपाका एक नेताले मिश्रको वरियता निर्वाचित उपाध्यक्षहरू पछि रहनेगरी टुंगो लागेको बताए । तर उनको पद भने वरिष्ठ उपाध्यक्ष हुनेछ ।

मिश्रले सुरुमा अध्यक्ष लिङ्देनपछिको वरियतामा रहने गरी सहअध्यक्ष बनाउनुपर्ने बताएका थिए । तर पार्टीमा असन्तुष्टि देखिएपछि राप्रपाले राखेको वरिष्ठ उपाध्यक्षको प्रस्तावमा मिश्र सहमत भएका हुन् ।

त्यो छलफलमा पार्टी एकताका लागि सहमति जुटेको दुबै पक्षको स्रोतले पुष्टि गरेको छ । एक नेता भन्छन्, ‘वार्ता प्रक्रिया टुंगियो, भरेभोलि औपचारिक कार्यक्रम गरेर जानकारी दिन्छौं ।’

मिश्र र राप्रपाका नेताहरुबीच भएको सहमतिअनुसार उनी राप्रपाबाट निर्वाचित उपाध्यक्षभन्दा पछि रहने सहमति भएको हो । जसअनुसार मिश्रभन्दा अगाडिको वरियतामा उपाध्यक्षहरू  विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशनी कार्की रहनेछन् । यस्तै दीपक बोहराको वरीयता पनि माथि नै रहनेछ ।

हाल पूर्वअध्यक्षहरु लोकेन्द्र बहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाको वरीयता अध्यक्ष राजेन्द्र लिङ्देनको भन्दा पनि माथि रहेको छ । पदाधिकारीमा रहेका उपाध्यक्षहरू पछि मिश्रको वरीयता पाँचौ नम्बरमा रहने गरी सहमति भएको नेताहरुले बताएका छन् ।​

मिश्रको राजीनामा पत्र :
समिक्षा बास्कोटा
अध्यक्ष, विवेकशील साझा पार्टी
केन्द्रीय कार्यालय, वखुण्डोल
विषय: पार्टीको साधारण सदस्यबाट राजीनामा
आदरणीय अध्यक्षज्यू,
झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुविकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।

यो मेरालागि जीवनकै एउटा सबैभन्दा कठिनतम निर्णय हो। लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन। राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित हो। सो परिप्रेक्ष्यमा गत पाँच वर्षमा मैले यो देशका लागि जे अत्यावश्यक छ भन्ने सम्झिएँ, त्यो विश्वासलाई मार्नु उचित नहुने ठानेँ। मेरो मार्ग परिवर्तन र राजीनामा त्यसैको परिणाम हो।

नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने छन्। ‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुनेछ। ‍यी दुईकोबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने छ।  तर समयक्रममा त्यो कि ‍साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ।

नेपाली कांग्रेस र एमालेको विपरित ‘दायाँ ध्रुव’मा ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ शक्ति रहने छ, जो राजनीतिक-सामाजिक रूपमा नरम संवर्द्धनवादी र अर्थ-राजनीतिक रूपमा उदार तर कल्याणकारी हुनेछ। अर्थात् त्यसले तुलनात्मकरूपमा उदार अर्थतन्त्रभित्र नि:शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता विषयलाई जोडदार रूपमा उठाउने छ र अंगिकार गर्नेछ। यो देशको दूरगामी हित र रूपान्तरणका लागि सोही नरम संवर्द्धनवादी शक्ति निर्माण गर्न मैले आफू पनि संलग्न भएर बनाएको घरभन्दा माथि देशलाई राखेको हुँ।

जो मेरो धारणासँग सहमत हुनुहुन्न र जसले मेरो मार्ग परिवर्तनबाट पीडा, अन्यौल र असहजता महसुस गर्नुभएको छ, म उहाँहरूको भावना बुझ्न सक्छु र उहाँहरूसँग हृदयदेखि क्षमायाचना गर्न चाहन्छु। वैचारिकरूपमा मसँग सहमत नहुने तिनै साथीहरूलाई अघि बढ्न सहज होस् भन्नकै लागि मैले यसबीच वैधानिक रूपमा पार्टी जोगाउनको लागि सकेको भूमिका निर्वाह गरेको हुँ। म मा आएको परिवर्तनका कारण हाम्रा दृष्टिकोणमा अन्तर रहे पनि र हामी फरक पार्टीमा भए पनि, तपाईँहरूप्रतिको मेरो भावना, स्नेह र सम्मानका कुनै कमी आउने छैन।

साझा र विवेकशील साझा पार्टीको निर्माणका क्रममा पार्टीभित्र र बाहिरबाट मलाई निश्वार्थ सहयोग गर्नुहुने र सद्भाव राख्नुहुने सबैप्रति मैले जति आभार प्रकट गरे पनि अपर्याप्त हुन्छ। म सबैलाई के विश्वास दिलाउन चाहन्छु भने मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर लिएको हुँ। मेरो निर्णयले परिणाम दिएन भने त्यो दोषको भागेदार अरू कोही नभएर म हुनेछु। परिणाम दियो भने, त्यसको सम्पूर्ण श्रेय शुभेच्छुक र सहयात्रीहरूमा जानेछ।

यसै अवसरमा, विश्वासिलो, बलियो र रूपान्तरणकारी नरम संवर्द्धनवादी शक्ति निर्माणका लागि समान सोच र आस्था भएका सबै व्यक्ति, समूह र पार्टीहरूलाई एकवद्ध हुन पनि म विनम्र आग्रह गर्न चाहन्छु।
रवीन्द्र मिश्र
सदस्य/निवर्तमान अध्यक्ष, विवेकशील साझा पार्टी
मिति: १० असोज २०७९

[sidebar name="button post"]