Ad #144479

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारलाई अनुमति प्रदान गरेकी छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको पत्रका आधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा कार्य योजना, ०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’