काठमाडौं : छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन आइतबारदेखि अनिवार्य रूपमा यान्त्रिक परीक्षणविना चल्न नपाउने भएका छन् । यो व्यवस्था उपत्यकाबाट बाहिरिने सवारीसाधनको हकमा लागू हुनेछ ।
दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको जानकारी दिए । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।
यसका लागि उनीहरूले उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा परीक्षण केन्द्र राख्नेछन् । सोही केन्द्रमा सवारीसाधनको यान्त्रिक परीक्षण हुनेछ । परीक्षणपछि मात्रै मध्य तथा लामो दूरीमा चल्ने सवारीसाधन छुट्न पाउनेछन् ।
यसैगरी यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।









