काठमाडौं : काठमाडौं उपत्याकामा डेंगुको प्रकोप अकल्पनीय छ। घरघरमा सिकिस्त बिरामी छन्। यसअघिका डेंगुका प्रकोपभन्दा यो निकै फरक छ।
सङ्क्रमण बढेसँगै अहिले हरेक अस्पतालका शय्याहरू डेङ्गीका बिरामीले भरिएको डाक्टरको भनाइ छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार एकै परिवारका सदस्य पालैपालो अस्पताल पुग्ने गरेका छन् । अब पनि सरकार गम्भीर बनेर समयमै नियन्त्रणतर्फ नलागे ठूलो समस्या निम्तन सक्ने उनको भनाइ छ ।
अधिकांश संक्रमितलाई कोभिड भन्दा गाह्रो भएको छ। सबै अस्पताल प्याक छन्। आइसीयू र भेन्टिलेटरमा धेरै संक्रमित छन्। निको भएका संक्रमित निकै कमजोर अवस्थामा छन्। पोस्टकोभिड जस्तै पोस्ट डेंगु सिन्ड्रोम कष्टप्रद छ।
लामखुट्टे मार्ने गरी धुवाँको प्रयोग गर्न सकिने, घरघरमा सरसफाइकाे चेतना बढाउनुपर्नेमा डाक्टरको जोड छ । डेङ्गी नियन्त्रण गर्न तीन तहका सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयले गम्भीरताका साथ खटिन डाक्टरको सुझाव छ।
सरुवा रोग विशेषज्ञ डा. गरिबदास ठाकुरले जनचेतना अभिवृद्धि गरेर, सरकारले विज्ञहरूको सल्लाहमा अघि बढेमा प्रकोप नियन्त्रण गर्न सकिने बताउनुभयो । नेपालमा डेङ्गीको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २९ जना पुगेको छ।









