काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरु न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेका छन् ।
न्यायाधीश डा. मनोज शर्माको इजलासमा पेसी तोकिएको छ। तर, राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण गराउन परमादेश-उत्प्रेषण आदेश माग गरिएको रिटको शुक्रबार हुने सुनुवाइ सूचीमा ३२औँ नम्बरमा राखिएको छ।
नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्चमा दर्ता भएका निवेदनहरु न्यायाधीश शर्माको इजलासमा परेका हुन् ।
राष्ट्रपतिविरुद्ध अधिवक्ता डा सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरुले रिट दायर गरेका हुन्।
विधेयकलाई प्रमाणीकरण गर्ने समयसीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको धारा ११३(४) को उल्लंघन गरेको रिटमा उल्लेख छ।
पाँचवटै रिटलाई एउटै इजलासमा राखेर सुनुवाइ गरिने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेमा राष्ट्रपतिले विधेयकलाई प्रमाणीकरण गर्नुपर्नेछ।









