मकवानपुर र रुकुम बस दुर्घटना अपडेट: १२ जनाको मृत्यु, ३८ घाइते

काठमाडौँ । मकवानपुर र रुकुम पूर्वमा भएको यात्रुबस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३८ घाइते छन् ।

बिहीबार ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा ७ र रुकुम पूर्वको भूमे गाउँपालिका-३ क्याङ्सीबगरमा ५ जनाको मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा चल्ने बा३ख ७८५८ नम्बरको मिनीबस ३३ यात्रु लिएर बल्खुबाट बिहीबार करिब ११ बजे फर्पिङ–कुलेखानीको बाटो हुँदै हेटौंडातर्फ अघि बढ्यो। उक्त बसका लागि हेटौंडा–कुलेखानी–काठमाडौं सडक नयाँ थियो। यो बाटोको रुट अनुमति पनि थिएन। तर, आधा दर्जन प्रहरी चेकपोस्ट पार गर्दै भीमफेदी–६ स्थित जुरी खेत आइपुगेको बसले यात्रुले गन्तव्यसम्म सकुशल पुर्‍याउन सकेन।

दुर्घटनामा २६ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। २३ जनाको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ। गम्भीर घाइते तीन जनालाई भरतपुर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।

यसैगरी, काठमाडौंबाट रुकुम पूर्वको सदरमुकाम रुकुमकोट जाँदै ग१ख ९१०९ नम्बरको बस भूमे-३ को क्याङ्सीबगरमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसमा १७ जना सवार थिए । ५ जनाको मृत्यु भएको छ । गम्भीर घाइते ४ जनालाई उपचारार्थ सेनाको हेलिकोप्टरमा बाँकेको कोहलपुर लगिएको छ । आठ जनाको स्थानीय जिल्ला अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

[sidebar name="button post"]