काठमाडौँ: राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्वीकार गरेकी छिन्।
राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्र्काएको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेको थियो । त्यसपछि पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरेर संविधानको गम्भीर उल्लङ्घन गरेकी छन् ।
मङ्गलवार राति १२ बजेसम्म उक्त विधेयक प्रमाणीकरण नभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।
संविधानको पालना र संरक्षण गर्ने दायित्वबाट उनी च्युत भएकी छिन्। संविधानको धारा ६१ मा राष्ट्रपतिको कर्तव्यबारे किटान गर्दै भनेको छ, ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।’ नागरिकता विधेयक आफू समक्ष पेश भएपछि राष्ट्रपति भण्डारीले विभिन्न पक्षसँग लगातार छलफल परामर्श गरिरहेकी थिइन्।









