पछिल्लो समय जनता पुराना राजनीतिक पार्टीबाट वाक्क दिक्क भएर राम्रो स्वतन्त्र उम्मेदवारीको खोजीमा रहेका छन् । अहिले जताततै देशको मुहार फेर्छु भनेर युवाहरू स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले गर्दा स्वतन्त्र उम्मेदवारीप्रति जनताको मनमा हर्ष र उत्साह छ । पार्टीबाट निर्वाचित भएर गएका उम्मेदवारी पार्टीकै भुमरीकै दलदलमा अड्केका छन् ।
स्वतन्त्र उम्मेद्वारलाई कसैको डर, कसैको आडर, कुनै पनि पार्टीको निहितमा नरही स्वतन्त्र रूपमा काम गर्न पाउने भएकाले जनताले स्वतन्त्र नै रोज्ने थालेका छन्। अहिले जनताको एकै स्वर रहेको छ । अहिले पार्टीभन्दा राम्रो स्वतन्त्र उम्मेदवारी खोज्न थालेका छन् । बालेन र हर्कले गर्दा स्वतन्त्र उम्मेदवारप्रति जनताको आशा पलाएको छ ।
त्यस्तै अहिले काठमाडौँ क्षेत्र नं. २ (ख) बाट अशोक खड्काले प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । खड्का अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री तथा खेलाडी हुन् । खड्काले शनिबार काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । खड्काले नेपाललाई अन्तर्राष्ट्रियमा जगतमा चिनाए । तर देशभित्रै अनेकौँ बेथिति, विसङ्गति, भ्रष्टाचार, अनियमितताले गर्दा देश खोक्रो बनिसकेको चर्को आक्रोशपछि उनी आफै राजनीतिक मैदानमा ओर्लिएका हुन् । राजनीति निराशा नभई आशा भएको उनको भनाई छ ।
आफूले देशको लागि हजारौँ ताज र मेडल उठाएको तर देशका लागि अब विकासको मूल नारा बोकेर उठ्नुपरेको उनको टिप्पणी छ । देशको यो हालत देखेर देशको थोरै भए पनि मुहार फेर्न आफू स्वतन्त्र उम्मेदवार भएर जनताको माझमा आएको उनको भनाई छ । उम्मेदवारी घोषणापछि उनले घरदैलो अभियान तीव्र पारेका छन् ।
स्वतन्त्र उम्मेदवार खड्काबारे मतदाता के भन्छन् ?
कागेश्वरी मनोहरा ६ का स्थानीय रामबहादुर गुरुङ भन्छन्, ‘अशोक खड्का खेलाडी मात्र नभएर एक सामाजिक अभियन्ता समेत हुन् । देशमा महामारी कोरोना र भूकम्प बेला पनि उनी जनतालाई राहत र सहयोग गरिरहेका हुन्थे । अहिले बालेन र हर्कले गर्दा जनताको मनमा स्वतन्त्र उम्मेद्वारलाई भोट दिनु पर्छ भन्ने जागेको छ ।हामीलाई बालेन र हर्क जस्तै भएर अहिले स्वतन्त्र उम्मेदवार तथा खेलाडी अशोक खड्का जनतासामू आउनु भएको छ । उहाँलाई यो चोटि पालो दिने दिनुपर्छ ।
कागेश्वरी मनोहरा १ का धनीराम तामाङ भन्छन्, ‘यो देश बुढाहरूले चलाउँदा जनताको इच्छा पुरा हुन् सकेन । बुढा नेताले हामी जस्तै वृद्ध भत्ता खाने खाएर बस्दा हुन्छ । देश युवाहरूलाई सुम्पे हुन्छ । बुढा नेताको केही काम छैन । जे गर्छ अब युवा र स्वतन्त्र उम्मेदवारले गर्छ । यस पटक स्वतन्त्र उम्मेदवार खड्का जस्ता युवालाई भोट दिनुपर्छ ।’
त्यस्तै कागेश्वरी मनहरा ५ थलीका स्थानीय सुरेन्द्र तामाङ भन्छन्, ‘पार्टीका भ्रष्ट नेतालाई धेरै चोटि विजय बनायौँ । चुनाव जितेर गए । तर कहिल्यै फर्केर आएनन् । ५ वर्षको एक चोटि आउँछन् । पार्टीका नेता पालैपालो बाँडेर खाने । भ्रष्ट नेतालाई भोट दिनु भन्दा युवा र स्वतन्त्र व्यक्तिलाई भोट दिन्छु । थलीको यो सडक हेर्दा कहालीलाग्दो छ । हामीलाई बालेन र हर्क जस्तै काठमाडौं क्षेत्र नम्बर २ मा स्वतन्त्र व्यक्ति चाहिएको छ।’
(आउँदो चुनावका लागि काठमाडौँ क्षेत्र नंं. २ का उम्मेदवारबारे उनीहरूको परिचय र मतदाताको भनाई हामी क्रमशः सार्वजनिक गरिरहेका छौँ । यस पटक स्वतन्त्र उम्मेदवार अशोक खड्कापछि अरु उम्मेदवारबारे पनि सोधी खोजी गर्दै मतदाताको भनाई प्रकाशित गर्नेछौँ सम्पादक)









