कैलाली। नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक दुर्गा विक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी छन् । शुक्रबार विक समाजवादी छाडेर माओवादीमा प्रवेश गरेकी हुन् ।
बिकसँगै थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावतलगायत पनि पार्टीमा प्रवेश गरेका माओवादीले जनाएको छ । उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे ।
तत्कालीन नेकपामा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको विवाद हुँदा उनले नेपाल पक्ष रोज्दै आएकी थिइन् । त्यसै क्रममा प्रमुख सेचतक रहेका तारा लामा तामाङलाई हटाएर विकलाई प्रमुख सचेतक बनाइएको थियो ।
केही दिनअघि पूर्वअर्थमन्त्री तारा लामा तामाङ र भौतिक राज्यमन्त्री कुलवीर चौधरी समाजवादी छोडेर एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई केही दिनअघि केपी शर्मा ओलीले कञ्चनपुरमा पुगेर स्वागत गरेका थिए ।









