बुधबार सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले एक सूचना जारी गर्दै प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको हो।
विभागले जारी गरेको सूचनामा वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको नेपाल सकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागु गर्ने तयारी रहेकोले सबैले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन आग्रह गरेको छ।
भदौ १ बाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले भनेको छ।
कोभिड-१९ को प्रकोपका कारण केही समय अनुगमन खुकुलो भएपछि पछिल्ला दिनहरुमा ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको विभागको भनाइ छ।











