‘अस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाइने

२९ जेष्ठ, काठमाण्डौ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘अस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिनुभएको छ । सञ्चारकर्मीसंग आज कुराकानी गर्दै उहाँले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा उल्लेख गदै पत्र पठाइने बताउनुभयो ।

“ पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्ने छौ ” उहाँले भन्नुभयो “ ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्ने छौ ।” सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने विश्वास व्यक्त उहाँले गर्नुभयो ।

मन्त्रालयले भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुबिधाले दुबैले तत्काल ‘कोभिशिल्ड’ खोप उपलब्ध नगराएपछि ‘कोभिशिल्ड’ बिकल्पमा जस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ लगाउने निर्णय गरेको छ । खोपको पहिलो मात्रा लगाएका कम्तिमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने जनाएको छ ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ बर्ष माथिका उमेर समूहका करिव साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले त्यस्ता व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

[sidebar name="button post"]