Ad #144479

३१ वैशाख, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीको महान् चाड इद (इद–उल–फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिँदै उहाँले विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा यो चाड मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको मौलिक पहिचान भएको जनाउनुभएको छ ।

‘‘यही विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्ने मलाई लागेको छ ।’’ सन्देशमा भनिएको छ, ‘‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको दोस्रो नयाँ स्वरुपमा नेपालमा पनि देखा परेकोले यसबाट बच्नका लागि भिडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी इद (इद–उल–फित्र) मनाउनका लागि विशेष आग्रह गर्न चाहन्छु ।’’

यसैगरी उक्त पर्वका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने जनाउँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी सद्भाव र सहिष्णुताका साथ कोभिङ १९ का जोखिमप्रति सचेत हुँदै यो पर्व मनाउन आग्रह गर्नुभएको छ ।