आजका मुख्य समाचारमा
नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८१० पुगेको छ।
नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बसेको हो ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउने बताउनुभएको छ ।
कैलालीको टीकापुर नगरपालिका– १, गणेशपुर शिविरकी कल्पना चौधरीलाई महिला दिवसको जानकारी नै छैन । यस्ता दिवस कहिले आउँछन् ? कसले मनाउँछन् ? कहिले सकिन्छन् ? उहाँलाई यस्ता दिवसले कहिल्यै छोएको पनि छैन ।
ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराउनुभएको छ ।
भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना संक्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ ।
नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिम जिल्ला मुस्तुङमा सोमबार बिहान प्रहरीले गरेको एक कारबाहीमा परी कम्तीमा पाँच आतङ्ककारी मारिएका छन् ।
जुम्लामा आज बिहानदेखि हिमपात भएको छ । जुम्लाका माथीको भेगमा बाक्लो हिमपात भएको हो । बिहानैदेखि परेको हिउँले डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।