आजदेखि दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाइने

२ फागुन, काठमाडौं । आज ‘आइतबार’ देखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्था र बैंकका कर्मचारीलाई खोप लगाइने छ ।

त्यस्तै काठमाडौं बाहिर क्रियाशील पत्रकार तथा पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप लगाइने छ। सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको थियो ।

यसैबीच स्वास्थ्य मन्त्रालयले काठमाडौंका १२ अस्पतालमा खोप केन्द्र तोकेको छ । वीर अस्पताल, सिभिल अस्पताल मिनभवन, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, प्रसूति गृह थापाथली, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल लाजिम्पाट, शहीद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी र काठमाडौं मेडिकल कलेज सिनामंगलमा खोप केन्द्र तोकिएको हो । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । नेपालमा कोरोनाविरुद्ध कोभिसिल्ड खोप प्रयोगमा ल्याइएको छ ।

कोभिशिल्ड खोप भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको हो । यो खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ । खोपले कुनै असर नगर्ने भएकाले निर्धक्कका साथ खोप लगाउन सरकारले सबैमा अपील गरेको छ ।

[sidebar name="button post"]