१६ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ। महाशाखाका अनुसार यसबाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा शुक्रबार राति पनि हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।
अहिले बिहान देशका केही पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
पहाडमा हिमापातको संभावना रहेको साथै तराईका भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।











