रमिता दंगाल
९ माघ , काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत शुरु हुँदैछ। स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ ।
यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । तर यसपाली शालीनदीमा आउने भक्तजनलाई आफ्नो सुरक्षा आफैंले गर्न पनि शालीनदी विकास समितिले आग्रह पनि गरेको छ। अहिले शालीनदीलाइ चिटिक्क बनाउने काम भैरहेको छ।

एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । काठमाडौंको साँखुमा एक महिनासम्म चल्ने शालीनदी मेलामा व्रत बस्ने व्रतालुको लागि कठोर नियम बनाइएको छ । कोरोना भाइरसको महामारीका कारण व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ ।

मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइने भएको छ । तर सामाजिक दुरी कायम गर्नको लागि प्रवेशद्वार र निस्कने द्वार छुट्टाछुट्टै राख्ने, सकेसम्म समूहमा हिँड्न नदिने जस्ता मापदण्ड कार्यान्वयनको लागि स्वयंसेवक खटाउने तयारी गरिएको छ ।

स्वस्थानी व्रत कथामा उल्लेखित लावण्य देशको रुपमा मानिएको साँखु क्षेत्रका हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म बसिने स्वस्थानी व्रत यस वर्ष मलमासका कारण केही पछि सरेको छ । परापूर्वकालमा पार्वतीले यहीँ स्वस्थानी व्रत बसी महादेव वर पाएको भन्ने धार्मिक विश्वासका कारण मध्यनेपालमा स्वस्थानी व्रतलाई महत्वपूर्ण व्रतको रुपमा मान्ने गरिन्छ ।









