Ad #144479

२ माघ, ललितपुर । ललितपुर महानगरपालिकाले प्रत्येक वर्ष दैवीप्रकोप व्यवस्थापन कोषमा रु ५० लाख बजेट छुट्याउने भएको छ । “बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” भन्ने मूल नाराका साथ आज ‘२३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७७’ को अवसरमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आगामी दिनमा आउन सक्ने भूकम्पीय जोखिमलाई मध्यनजर गरी कोषमा हरेक वर्ष रु ५० लाख बजेट व्यवस्थापन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका हरेक वडाले पनि विकास बजेटमा आएको रकमबाट रु एक लाख कोषमा जम्मा गर्ने कुरा अघि बढेको छ ।” महानगरपालिकाले विपद् जोखिममा परेका नागरिकलाई बचाउन विभिन्न किसिमका तालीमलगायत असहाय अनि बिरामी व्यक्ति राख्न वडा नं १७ ग्वार्को र वडा नं २२ बुङ्मतीमा भवनको समेत व्यवस्थापन गरिसकेको उहाँको भनाइ थियो ।

वडा नं। १२ का वडाध्यक्ष नारायणलाल अवालेले हरेक वडामा आउने बजेटबाट ५ प्रतिशत भूकम्पीय व्यवस्थापनमा छुट्टाएर आफ्नै स्रोतबाट काम गर्ने कुरा अघि बढिरहेको जानकारी गराउनुभयो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले विपद् अप्रत्यासित रुपमा आइपर्ने भएकाले पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभ जस्ता कार्यमा ध्यान दिन जरुरी रहने औँल्याउँनुभयो ।
कार्यक्रममा १९९० सालमा भूकम्प गएपछि १९९७ सालमा पाटनको भीमसेन मन्दिर अगाडि अन्नपूर्णेश्वरीको मूर्ति स्थापना गरी आउने जोखिम हटाइएको बताइयो । विसं १९९० को भूकम्पमा परी ललितपुरवासीले घर बनाउन खर्च गरेको रु २४ लाख २१ हजार ३० भने तत्कालीन सरकारले सबैलाई मिनाहा गरिदिएको शिलालेखमा उक्त कुरा उल्लेख गरिएको पाइन्छ ।

वर्षमा ७९ प्रतिशत प्रगति

धादिङ : नेपालमा विनासकारी भूकम्प गएको ६ वर्ष पुग्नै लग्दा अझै पुनः निजी आवास निर्माणको काम ८० प्रतिशतमात्र सम्पन्न भएको छ । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ मनाउँदै गर्दा जिल्लाको अवस्था हेर्दा अझै १७ हजार ७०५ लाभग्राहीले घर निर्माण सम्पन्न गरेका छैनन् ।

चौरासी हजार ७९२ लाभग्राही सूचीमा रहेका भूकम्प पीडितमध्ये ६७ हजार ८७ लाभग्राहीले मात्र तेस्रो किस्ता रकम लिएका छन् । अर्थात् ७९ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरेको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका व्यवस्थापन सूचना प्रणाली विज्ञ दीपेन्द्र पौडेलले बताउनुभयो ।

सरकारले दिएको अनुदानका लागि लाभग्राही सूचीमा पर्नका लागि सात हजार २७६ जनाले पुनरावेदन गरेकोमा उनीहरु लाभग्राही कायम भएका छन् । प्रबलीकरणमा परेका पाँच हजार १६९ जनामध्ये एक हजार ८२० ले पूर्ण लाभग्राही सूचीमा परेको र बाँकी तीन हजार ३४९ जना प्रबलीकरण सूचीमा छन् । उनीहरुसमेत पूर्ण लाभग्राही बन्न इच्छुक भए पुनः निर्माण कार्यालयमा आवेदन गर्न माघ मसान्तसम्मको समय दिइएको विज्ञ पौडेलले बताउनुभयो । प्रबलीकरणमा परेका २७ जनाले मात्र घर निर्माण गरेको पौडेलको भनाइ छ ।

भूकम्प सुरक्षा दिवसमा प्रदर्शनी

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना एवं सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको सहआयोजनामा २३औँ भूकम्प सुरक्षा दिवसको अवसरमा प्रदर्शनी गरिएको छ । भूकम्पमा परेका व्यक्तिहरुलाई कसरी उद्धार गर्ने भन्ने विषयमा नाटकसहित उद्धारका लागि आवश्यक सामग्रीहरुको प्रदर्शनी गरिएको हो ।

नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीले आज भरतपुरको गेष्टहाउस चौरमा प्रदर्शनी गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले विपद् व्यवस्थापनका लागि पूर्वानुमान गरेर तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो । अहिले हिजोको अवस्थामा नभई भूम्पबाट सुरक्षित हुँदै काम गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भूकम्प लगायतका आपत्कालीन उद्धारका लागि सबै सधैँ तयारी भएर बस्नु पर्ने बताउनुभयो । विसं। २०७२ मा गएको भूकम्पबाट नेपालीले बच्ने तरिका बारेमा ज्ञान लिन थालेको भन्दै उहाँले अब बन्ने संरचनाहरु भूकम्प प्रतिरोधात्मक हुनुपर्छ भन्नुभयो । कार्यक्रममा सर्बसाधारण तथा सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।

कुश्मामा बिहानै भूकम्प गएपछि !!!

पर्वत : मानिसहरु आ–आफ्नो काममा व्यस्त रहेका थिए । घरभित्र बिहानको खानपान गर्ने कार्यमा गाउँले व्यस्त रहेको अवस्थामा शुक्रबार बिहान ९ः३० बजेको समयमा भूकम्प गयो । लगातार ३० सेकेन्डभन्दा बढी गएको भूकम्पका कारण घर, टहरा भत्किए । बस्तीमा रहेका कतिपय मानिस घर बाहिर निस्किएर भागदौड गर्दै थिए त कतिपय घरले च्यापिएर घाइते अवस्थामा पुगेका थिए । केही व्यक्तिको पुरिएर ज्यानसमेत गएको थियो ।

त्यतिकैमा तत्काल सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी एम्बुलेन्ससहित घटनास्थलमा आइपुगे र घाइतेको तत्काल उद्धार गरी जिल्ला अस्पतालतर्फ लगे भने मृतकलाई पनि परीक्षणका लागि अस्पतालतर्फ लगियो । सुरक्षा निकायले सकुशल उद्धार गरेकालाई सुरक्षित स्थानमा लगेर राखेको थियो । उनीहरु आफन्तको अङ्गभङ्ग भएको र कतिपयले आफन्तलाई गुमाउनुपरेकोमा रोइकराइ गरेका थिए । तत्काल सुरक्षा निकायको उद्धार टोली घटनास्थलमा पुगेका कारण ठूलो जनधन क्षति हुनबाट जोगिएको दृश्यमा देखिन्थ्यो ।

यो घटना हो कुश्मा बजारमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले भूकम्प सुरक्षा दिवसको अवसरमा गरेको विपद् उद्धार प्रतिकार्यको डेमोस्ट्रेसनको । भूकम्प गएपछि कसरी छिटो उद्धार गर्ने र नागरिकको जीउधनको सुरक्षा गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बलको २५ नम्बर गणका सुरक्षाकर्मीको संयोजनमा उक्त डेमोस्ट्रेशन गरिएको हो ।

यसैगरी उद्धार टोली तयारी अवस्थामा राख्न सकियो भने जुनसुकै विपद्का घटनामा पनि ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने दृश्यले देखाएको छ । उक्त कार्यक्रममा सहभागी गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को अवस्थामा सुरक्षा निकायको उद्धार टोलीले गरेको उद्धार कार्यको प्रशंसा गर्नुभयो । उहाँले तीनै तहका सुरक्षा निकायलाई आवश्यक सेवासुविधा र सामग्रीसहित तयारी अवस्थामा राख्नका लागि तीनै तहका सरकारको आवश्यक सहकार्य अवाश्यक रहेको बताउनुभयो ।

मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले जुनसुकै विपद्का घटनामा पनि तत्काल उद्धार गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेशका सबै जिल्लामा एक एक वटा युनिट स्थापना गर्न थालेको बताउनुभयो । उहाँले प्रत्येक युनिटलाई स्रोतसाधन, उद्धारका सामग्रीसहित तयारी अवस्थामा राखिने बताउनुभयो ।

भूकम्प सुरक्षा दिवसको अवसर पारेर जिल्लावासीको जनचेतनाका लागि यस्तो कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । उहाँले यो कार्यक्रमबाट नागरिक सचेतनामा वृद्धि हुने अपेक्षा गर्नुभयो । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले अहिले स्थानीय तहमा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि जिम्मेवारी आएको बताउनुभयो ।