भागरथी हत्या प्रकरण: हत्याका आरोपित प्रहरीद्वारा सार्वजनिक

५ फागुन, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्‍कारपछि हत्या आरोपमा पक्राउ परेका अन्‍दाजी १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताए । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले जानकारी दिनुभयो ।

गत माघ २१ गते ‘बुधवार’ विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले सार्वजनिक गरेका अभियुक्त भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिईन् ।

घटना भएको केही दिनमा नै ‘क्लोज रिङ’ मा राखेर अनुसन्धान गरेको प्रहरीले अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाई लगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि गरेको हो । अभियुक्तले भागरथीसँग बदला लिनको लागि उनको हत्या गरेको प्रहरीसमक्ष साबिती बयान दिएका थिए ।