रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुँदै

२२ मंसिर, काठमाडौं । नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।

‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्न लागेको यस रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । जो सफल रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक समेत हुन् । यस शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह लगायत निर्माताको रुपमा रहेका छन् ।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेनछिन् । जजको रुपमा भने ‘डान्स इन्डिया डान्स–लिल चाम्स’की विजेता तेरिया मगर, डान्स प्लस सिजन २ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।

शोमा होस्टको रुपमा विभिन्न रियालिटी शो होस्ट गरिसकेकी रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइराला पक्का भएका छन् । रीमा र सुमन दुबै एकसाथ होस्ट गर्न निकै आत्तुर रहेको बताउँछन् । निर्देशक भण्डारी राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई यही अवसर दिने सोचले यस शो सुरु गर्न लागिएको बताउँछन् ।

[sidebar name="button post"]