पाँच दिनमा कति व्यापार गर्‍यो ‘२ नम्बरी’ले ?

२७ असोज, काठमाडौं । गत शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । अपेक्षा गरेभन्दा पनि चलचित्रले राम्रो बक्सअफिस कलेक्सन गरिरहेको स्वयं निर्माण पक्षले बताएको छ ।

शुक्रबार रिलिज भएको चलचित्रले मंगलबारसम्म साढे तीन करोडभन्दा माथि ग्रस कलेक्सन गरिसकेको छ । “मंगलबारसम्म पाँच दिनमा साढे तीन करोडभन्दा माथि कलेक्सन भएको रिपोर्ट छ,” ‘२ नम्बरी’का लेखक तथा निर्देशक दीपेन्द्र लामाले भने, “चलचित्र चल्छ भन्ने त थियो । तर, यति धेरै चाहीँ स्वयं मैले पनि अपेक्षा गरेको थिइनँ । दसैँ भर्खर सकिएर घर गएका दर्शक काममा फर्किने समय हुन्छ, त्यसैले यति धेरै उत्साहजनक दर्शकको उपस्थिति हुँदैन कि भन्ने पनि थियो ।”

चलचित्रले राम्रो नाफा कमाउने देखिएपछि निर्माता किरण नेपालीले निर्माणमा सहभागी प्राविधिकलाई बोनस दिने घोषणा गरिसकेका छन् । चलचित्रलाई हिट बनाउन उनीहरुको पनि ठूलो हात रहेको भन्दै नेपालीले बोनस दिने घोषणा गरेका हुन् ।

चलचित्रले गर्ने लाइफ टाइम कलेक्सनको आधारमा बोनस कति दिने भन्ने निर्णय गरिने निर्माण पक्षले जनाएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ ।

[sidebar name="button post"]