नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन् ।
एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आज आयोजित तराई मधेश बृहत् जनसभालाई सम्बोधन गर्दै उनले समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिलाए।
एमालेभित्रको घुसपैठले पार्टी सरकार विस्थापित भएको बताउँदै अध्यक्ष ओलीले पार्टीमा गलत काम गर्नेहरू चिनिएकाले उनीहरूलाई जनताले ठेगान लगाउने ठोकुवा गरे ।
आफू नेतृत्वमा बनेका सरकारले रक्सौल काठमाडौँ रेलसेवा, सुरुङमार्ग, काठमाडौँमा सुक्खा बन्दरगाह जस्ता राष्ट्रिय गौरवको योजना ल्याएको बताउँदै अध्यक्ष ओलीले कोभिड १९ को महामारीबाट नागरिकको जीवन सुरक्षा गर्न हरसम्भव प्रयास गरेको बताए ।
सरकारले एकै दिन ३९६ अस्पताल र २६५ वटा सडक शिलान्यास गरेको स्मरण गर्दै उहाँले जनताका हितका निम्ति आएका यस्ता योजनालाई सरकारले काट्न नहुने धारणा राखे ।
सदरमुकाम जोड्ने बुटबल, ढल्केवर, गोरुसिङे नेपालगञ्ज र धनगढीमा चारदेखि छ लेनको बाटो बनाएको भन्दै जनतालाई अनुभूति गराउने किसिमको विकास गरेको दाबी गरेका थिए ।
एमालेका सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएर सामाजिक न्याय गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले हाम्रो पार्टी जनताको चाहना एवं भावनाअनुसार काम गरेको उल्लेख गरे ।









