‘एक था टाइगर’को तेस्रो भाग सुटिङका लागि तयार

३० माघ, एजेन्सी । केही समय यता सलमान खान र कट्रिना कैफ अभिनित ‘एक था टाइगर’को तेस्रो भाग सुटिङका लागि तयार रहेको समाचार सार्वजनिक भएका थिए । सार्वजनिक समाचार अनुसार फिल्मको तेस्रो भागमा निर्देशक फेरिए पनि मुख्य कलाकार भने यथावत रहने जनाइएको थियो ।

फिल्मको पहिलो भाग कबिर खानले निर्देशन गरेक थिएभने दोस्रो भाग अलि अब्बास जफरले निर्देशन गरेका थिए । फिल्मको तेस्रो भाग भने मनिष शर्माले निर्देशन गर्न लागेका छन् । यसमा सलमान र कट्रिना यथावत रहे पनि फिल्मको भिलेनको भने टुंगो लागेको थिएन ।

तर, निर्माता यशराज फिल्मले फिल्मको भिलेनका लागि इमरान हासमीलाई फाइनल गरेको समाचार छ । फिल्मको सुटिङ भने मार्चको तेस्रो हप्ताबाट सुरु हुनेछ । स्रोतका अनुसार सलमानले यशराजकै फिल्म ‘पठान’मा सानो भूमिका गरिरहेका छन् । त्यसको सुटिङ सकिने बित्तिकै उनले ‘टाइगर ३’को सुटिङ सुरु गर्नेछन् ।

महेश भट्टको फिल्मबाट किसर हिरोको पहिचान बनाएका इमरान हासमीले पछि भने गम्भीर अभिनेताको रुपमा विश्वसनियता कमाएका थिए । तर, पछिल्लो समय इमरान मसला फिल्ममा देखिएका छैनन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘हरामी’ बुसानमा प्रिमियर भएको थियो ।