पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ६४ संक्रमित थपिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

६ मंसिर, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका शङ्कास्पद ५२५ व्यक्तिको नमूना परीक्षण गरिएकामा ६४ व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ थपिने कोरोना सङ्क्रमितमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र बाजुराका छन् । नयाँ थपिएका समेत गरी आजसम्म प्रदेशमा १० हजार ७३१ संक्रमित पुगेका छन् ।

पछिल्ला दिनमा प्रदेशमा कोरोना भाइरसबाट हुने मृत्युदर बढ्दै गएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कात्तिक २९ गते यता थप सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आजसम्म कैलालीमा १९, कञ्चनपुरमा चार, बझाङमा तीन, अछाम, बाजुरा, डडेलधुरा, दार्चुलामा दुई-दुई तथा डोटी र बैतडीमा एक-एकसमेत जम्मा ३६ जनाको मृत्यु भएको छ ।

शुक्रबार मात्रै कैलालीका एक ५६ वर्षीय पुरुष र एक ७५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचारकक्ष ‘आइसीयू’ मा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ ।

प्रदेशमा कोरोना भाइरसको उपचार व्यवस्थापनपछि अहिलेसम्म आठ हजार ८७५ डिस्चार्ज भएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •