दिल्ली क्यापिटल्स् इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । यूएईको शेख जायद स्टेडियममा राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय पारी खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए । यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट भए । मार्कुस स्टोनिस १० र ऋषब पन्त ८ रनमा अविजित रहे । तर, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने प्लेइङ सेटमा परेनन् । बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १÷१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय पारी खेले । एबी डी भिलियर्सले ३५ रन र कप्तान विराट कोहलीले २९ रन बनाए । यस्तै शिबम दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबाडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।
जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । दिल्लीसँग पराजित बैंगलोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बैंगलोरले प्ले अफमा स्थान बनाएको हो ।
बैंगलोरले १४ खेलमा १४ अंक जोडेको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ । क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ । लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुनेछ । मुम्बईले जित निकालेमा कोलकाता प्ले अफ पुग्नेछ । हैदराबादले जित निकालेमा कोलकाता प्ले अफबाट बाहिरिनेछ ।












