Ad #144479

कुकुर हामी धेरैको प्रिय घरपालुवा जनावर हो । घरपालुवा वा बाटोमा हिड्ने छाडा कुकुरले टोकेमा यदि कुकुर रेबिज भाइरसबाट संक्रमित छ भने मानिसलाई पनि रेबिज लाग्ने संभावना हुन्छ । रेबिज भाइरसबाट संक्रमित जनावरहरुको टोकाईबाट लाग्ने र नसा र दिमागलाई असर पुराउने एक किसिमको रोग हो ।

किन लाग्छ रेबिज?

रेबिज भाइरस नै यो रोगको कारण हो । संक्रमित जनावरको टोकाईपछि रेबिज भाइरस मांशपेशीबाट नसा हुदै दिमागमा पुग्छ र फेरि शरीरको विभिन्न भागमा फैलन्छ । मुख्यतया हाम्रो देशमा संक्रमित कुकुरको टोकाइबाट स्वस्थ मानिस रेबिजबाट संक्रमित हुन पुग्छ । चमेरो, फ्याउरो, छुचुन्द्रो आदि जनावरहरुको टोकाईबाट पनि रेविज लाग्न सक्छ ।

लक्षणहरु:

– संक्रमित जनावरले टोक्नु

– ज्वरो आउनु

– टाउको दुख्नु

– मांशपेशी दुख्नु

– निन्द्रा नलाग्नु

– होस गुमाउनु

– निल्न गाह्रो हुने, पानी पिउन दिदा डराउने वा पिउन नखोज्ने

– मानसिक समस्याहरु जस्तै : चाडै रिसाउने, टोलाइरहने, बेहोस हुने, अरुले बोलेको जस्तो सुन्ने अन्त्यमा मृत्यु हुने

जाँच:

– संक्रमित जनावरले टोक्नु र माथिको लक्षणहरु देखिनुले रेविज लागेको पुस्टि हुन्छ ।

– थप रगत जाँच र वायोप्सी पनि गर्न सकिन्छ ।

घाउको प्राथमिक उपचार:
जनावरले टोकेको ठाँउमा साबुन पानीले करिव ५ मिनट राम्रोसंग धुने । घाउ ठूलो छ, छाला उप्केको छ वा घाउ टाउकोको नजिकै छ भने तुरुन्त अस्पताल जाने । अन्य अवस्थामा पनि अस्पताल गएर रेबिजबाट बच्नको निम्ती खोप लगाउदा सुरक्षित भइन्छ । पहिलो दीन लगाएपछि तेस्रो, सातौँ र चौधौं दीन लगाएपछि खोपको मात्रा पुरा हुन्छ ।

बच्ने तरिका:

– घरपालुवा कुकुर तथा अन्य जनावरहरुलाई रेबिज विरुद्दको खोप लगाउने,

– घरपालुवा जनावरलाई खुला बाटोमा हिड्ने जनावरहरुसंग सम्पर्कमा नल्याउने,

– फार्ममा काम गर्ने वा जनावरहरुसंग नजिक भइरहनेहरुले खोप लगाउने,

– रेबिजबाट संभावित संक्रमित जनावरहरुले टोकेमा खोप लगाउने।