नवविवाहित जोडीमाथि गरिएको एक अध्ययनबाट अनेकौं रोचक तथा अचम्मलाग्दा तथ्य बाहिर आएका छन् । जसबाट नवविवाहित जोडीमा परस्परको प्रेम कुन हदसम्म आवश्यक हुन्छ भन्ने थाहा पाइन्छ । महिलाका तुलनामा पुरुषलाई जीवनसाथीबाट स्नेहको चाहना बढी हुन्छ । विवाहपछि श्रीमती आफ्ना श्रीमानले विवाहअघि भएका सबै खराब आचरणको त्याग गरून्, कुनै कुरामा बेखुसी नहुन र आफ्नो कुरा ध्यानपूर्वक सुनुन र आफ्नो तारिफ गरिदिऊन् भन्ने चाहन्छिन् ।
श्रीमान् पनि श्रीमतीलाई उनले गरेभन्दा बढी प्रेम गर्न चाहन्छ । ऊ के पनि चाहन्छ भने आफ्नी श्रीमती अरूका श्रीमतीका तुलनामा आकर्षक देखियोस् । कुनै पनि श्रीमान् आफ्नी श्रीमतीलाई अन्य महिलाभन्दा स्मार्ट बनाउन चाहन्छ ।
विवाहपछि श्रीमान श्रीमती दुवै एकअर्कामा परिवर्तन आओस् भन्ने चाहन्छन् तर सँगै के पनि अचम्मलाग्दो कुरा छ भने कतिपय दम्पतीले भनेको सुनिन्छ- ‘तिमी पहिले त यस्तो थिएनौ, विवाहपछि तिम्रो व्यवहार निकै फेरिएको छ ।’
यसमा लुकेको गाँठी कुरो के भने विवाहपछि सँगै बस्न थालेपछि दम्पतीलाई एकअर्काको विषयमा थुप्रै नयाँ कुरा थाहा हुन थाल्छ, जुन कुरा उनीहरूले विवाहअघि थाहा पाएका हुँदैनन् ।
कतिपय भने विवाहअघि सम्भावित जीवनसाथीलाई प्रभावित तुल्याउने उद्देश्यले त्यस्ता कामसमेत गरिदिन्छन् जुन कुरा कहिल्यै गर्दैनथे । फलस्वरूप विवाहपछि जब ऊ आफ्नो वास्तविक स्वरूपमा फर्कन्छ त्यतिखेर जीवनसाथीलाई लाग्छ कि ऊ विवाहपछि बदलिएको छ ।
वास्तविकता के हो भने विवाहपछि केही पनि परिवर्तन हुँदैन । न त श्रीमान् श्रीमतीको सोच, न व्यवहार न रहनसहन । बीचमा केही गरी कुनै परिवर्तन देखा प¥यो भने त्यसको जड हुने गर्छ–परिस्थिति । यस्तो परिवर्तन जीवनमा अचानक हुने गर्छ, जुन परिवर्तित परिस्थितिसँगै प्राकृतिक रूपले व्यक्तिको स्वभावको हिस्सा हुने गर्छ ।
पहिले जसलाई केवल व्यक्तिगत जीवनसँग सरोकार थियो, स्वतन्त्र बाँच्ने बानी लागेको थियो, अब विवाहपछि परिवारको रूपमा परिवर्तित भएसँगै व्यक्तिमा थुप्रै किसिमका नयाँ पारिवारिक जिम्मेवारीहरू पनि जोडिन थाल्छन् ।
समझदारी आवश्यक
थोरै मात्र पनि आपसी तालमेल भयो भने नवविवाहितहरूको सम्बन्धमा नवजीवन भरिन थाल्छ । केही त्यस्ता कुरा छन् जसलाई अंगाल्न सके नवदम्पती जीवनभर एकअर्काको सुख दुःखमा रमाएर सन्तुष्ट जीवन बच्न सक्छन्
कोही पनि सर्वगुणसम्पन्न हुँदैन । यसकारण आफ्नो जीवनसाथीलाई उसको कमजोरीका साथ स्वीकार्नु आवश्यक छ । सकारात्मक प्रयास गर्ने हो भने क्रमशः जीवनसाथीको कमीकमजोरीलाई हटाउन सकिन्छ ।
जीवनसाथीमा सकारात्मक परिवर्तन आएको हेर्ने चाहना छ भने प्रेमको सहारा लिन सकिन्छ । क्रोध, रिस एवं जबरजस्ती आपसी सम्बन्धलाई जरैबाट निर्मूल पार्ने तत्व हुन् भने प्रेम अमृत हो ।
जीवनसाथीप्रति विश्वास गर्नुपर्छ, आफू ऊप्रति संवेदनशील भएको र सदैव ख्याल राख्छु भन्ने कुरा दर्शाउनुपर्छ । बेलामौकामा उपहार दिएर पनि यस्तो भावना प्रदर्शित गर्न सकिन्छ । जीवनसाथीका लागि कुनै पनि निर्जीव वस्तुको तुलनामा आफ्नो जीवनसाथीले आफूप्रति व्यक्त गरेको प्रेमभाव तथा सम्मान बढी महत्वपूर्ण हुन्छ ।
कुनै पनि कुरा लुकाएर गर्न खोज्नु वा झूटो बोल्नु आपसी सम्बन्धमा बन्चरो प्रहार गर्नु हो । आफूबाट गल्ती नै भइहालेछ भने पनि जीवनसाथीसँग इमान्दारीपूर्वक सत्य बोल्नु तथा सम्बन्धमा पारदर्शिता अंगाल्न राम्रो हुन्छ ।
जीवनसाथीका बीच सामान्य ठाकठुक पर्नु सामान्य हो, आगो बल्नका लागि पनि अगुल्टो ठोस्नैपर्छ, तर ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भन्ने उखानलाई आत्मसात् गर्नुपर्छ । रिसाएको जीवनसाथीलाई खुसी पार्ने प्रयास छोड्नु हुँदैन ।
जीवनसाथीको सानातिना गल्तीप्रति आ“खा चिम्लनुपर्छ । अनावश्यक शंका गरेर लज्जित पार्ने वा हुने क्रियाकलाप त्याग्नुपर्छ । विवाह दुई आत्माको प्रेमपूर्ण बन्धन हो भन्ने कुरा कदापि भुल्नु हु“दैन र यो सम्बन्धमा भ्रम र अहम्लाई कुनै स्थान दिनु हुँदैन ।
विवाहपछि आएको परिवर्तनलाई लिएर तिललाई पहाड बनाएर विवाद सिर्जना गर्नुहु“दैन, बरु हरेक परिवर्तनलाई बुझेर, त्यसको कारण ठम्याउनतर्फ लागेर त्यसलाई स्वीकार गर्नुपर्छ । समय–परिस्थितिअनुसार आफूलाई लाने प्रयास गर्दा दुवैको जीवन सुखद् हुन्छ ।










