अजय खत्री
कागेश्वरी खबरले आजदेखि वडाध्यक्षसँग कागेश्वरी खबर श्रृंखला सुरु गरेको छ । पालिकाका जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी, जवाफदेहि र कामकारवाहीमा चुस्तता र पारदर्शिता कायम गर्न खबरदारी गर्नु हाम्रो उदेश्य हो । नागरिकको नजिकको सरकार अर्थात् घरदैलोको सरकार पालिकाले के कस्ता काम गर्दै आएका छन् त ?
यो श्रृंखलाको पहिलो अंकमा हुनुहुन्छ काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मुकुन्द प्रसाद गजुरेल । उहाँसँग कागेश्वरी खबरका सहकर्मी अजय खत्रीले गर्नुभएको कुराकानीको सार ।
जनप्रतिनिधि चुनिनुभएको तीन वर्ष बिते, नागरिकलाई दिनुभएका आश्वासन कति पुरा भए ?
तपाईंले राख्नुभएको चासो सान्दर्भिक छ । मैले अन्यथा रुपमा लिन्न । कागेश्वरी मनोहरा नगरपालिकाको वडा १ ले नागरिकका आधारभूत आवश्यकतालाई पुरा गर्दै आएको छ । हाम्रा काम, हाम्रो पहल निरन्तर अगाडी बढ्दै थियो, यहि बेला कोरोनाको महामारी देखा पर्यो । अहिले पहिलो प्राथमिकता भनेकै यहि महामारी विरुद्ध लड्नुपर्नेछ । चुनौती छ, त्यसैअनुसार काम पनि भैरहेको छ । अब के काम भए, के भएनन् नागरिकले पक्कै मुल्याङकन गर्नुभएको होला । थुप्रै काम भएका छन् । नगरपालिकाको नाम सङ्ग जोडिएको कागेश्वरीधामको विकासको लागि मन्दिर जाने बाटो लगाएतको भौतिक संरचना तयार गर्न पाएको र केहि काम निरन्तर भैरहेका यहाँलाई जानकारी गराउन चाहे ।
कोरोना महामारीको चुनौती भन्नुभयो, यसैलाई देखाएर अरु काम पो ओझेलमा परे की ?
पक्कै होइन, धेरैलाई यसै लाग्न सक्छ । सडकका काम, बाटोघाटो, ढल निकासमा सुरुवाती चरणमा धेरै काम भएको छ । हामीले जनताका आधारभूत आवश्यकता र आधारभूत पूर्वाधार निर्माणका कामलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेका छौ । भनिहाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विपद् लगाएतका क्षेत्रमा काम निरन्तर भैरहेका छन् ।
उसोभए के के काम भए ?
ब्रह्मखेलदेखि चिसापानीसम्मको लोकतान्त्रीक सडकमा काम भैरहेको छ । बाहिरी चक्रपथ अन्र्तगतको काम पनि हाम्रो वडामा पर्छ । खानेपानी सहज बनाउन एक घर एक धारा अभियान अन्र्तगत साविकको वडा नम्बर २ मा काम सम्पन्न भैसकेको छ । त्यस्तै साविक वडा नम्बर ४, ५ र ६ मा मंसिरसम्ममा गरिसक्ने योजना छ ।
अनि शिक्षा, स्वास्थ्य, कृषि क्षेत्र ?
शिक्षामा सबैको पहुँच पु्र्याउन सामुदायिक विद्यालयलाई नीजि अर्थात् प्राइभेटसँग प्रतिस्पर्धात्मक बनाउने योजना छ । जस अन्र्तगत विषयगत शिक्षक अभाव भएका विद्यालयमा शिक्षक समायोजन गरिनेछ । सामुदायिक विद्यालयमा पनि स्कुल बसको व्यवस्था गर्ने काम थालेका छौ । दूरी र सहजताले प्राइभेटमा आकर्षण बढी देखियो अब सामुदायिक विद्यालयलाई पनि सुविधा सम्पन्न बनाइनेछ । अभिभावकको सामुदायिक विद्यालयलाई हेर्ने दृष्ट्रिकोण परिवर्तन गर्ने योजना छ ।
कसरी काम गर्नुहुन्छ, सहज छ ?
सामुदायिक विद्यालयलाई प्राइभेटसँग प्रतिस्पर्धा गर्न सहज छ । सरकारले नै आवश्यक पर्ने सम्पूर्ण व्यवस्था गरिदिने भएकाले त्यसको उपयोग गर्छौ । सबै सामुदायिक विद्यालयहरु भूकम्प प्रतिरोधी बनाइसक्यौ । तुलनात्मक रुपमा प्राइभेटमा त्यस्ता सुविधासम्पन्न र सुरक्षित भवन छैनन् । अबका दिनमा सामुदायिक विद्यालयको गुणस्तर कमजोर भएमा हामी जिम्मा लिन्छौ ।
अघि तपाईंले स्वास्थ्य र कृषि पनि जोड्न खोज्नुभएको थियो । जनता स्वास्थ्य कार्यक्रम अन्र्तगत हरेक घरमा स्वास्थ्यकर्मी पुर्याएका छौँ । हामीसँग भएका स्रोत साधनको अधिकतम उपयोग गरेर रोगबाट बच्न र बाँच्न सिकाउनेछौ । सबै वडामा अस्पताल नै बनाउन स्रोत पुग्दैन तर नगर अस्पताल बनाउँदै छौँ । स्वास्थ्यकर्मी मार्फत् वडामा प्रेस, सुगर चेकअप गराइरहेका छौँ । स्वास्थ्य र सरसफाईमा बानी बसाल्न सचेतनामुलक कार्यक्रम गर्दै आएका छौँ ।
कृषि क्षेत्रको काम र योजना के छ ?
हजुर मैले जोड्दैछु । कृषिप्रधान देश भएर पनि हामी परर्निभर छौ । त्यसले मलाई पनि निक्कै दुखी बनाउछ । यो दुखद अवस्थालाई कसरी उकास्न सकिन्छ भनेर पहल भैरहेको छ । कृषीप्रधान देश भएर पनि परनिर्भर छौ त्यसले दुखी बनाउछ । यस अवश्थालाइ उकास्न वडाले कृषीबालिविमा, पशु विमा कार्यक्रम नगरबाट थालनि गर्यौ । आफ्नो जग्गामा खेतिमात्र गर्छु भन्ने वडाले कृषिबालीमा बीमा, पशु बीमा कार्यक्रम नगरबाट थालनी गर्यौ । कर छुटका कुरा भएका छन् । यन्त्र खरिदमा ५० प्रतिशत अनुदानको व्यवस्था समेत गरेका छौ ।
अबको आवश्यकता के छ ?
थ्रिडि गाउँको परिकल्पना गरेको छु ताकि अबका दिनमा जनताले कुनैपनि सेवा सहज ढङगबाट प्राप्त गर्न सकुन । डिजिटल माध्यमबाट नै बढि भन्दा बढि सेवा दिन सकियोस्, आधारभुत आवश्यकताको परिपुर्ति गरिसकेपछि अब हामि विकासको दोस्रो चरणको कामको प्रतिक्षामा छौँ । कोरोनापछिको अवस्थामा राहतका योजना मुख्य गरी रोजगारी सिर्जना गर्नुपर्नेछ । युवालाई समेट्नुपर्नेछ । यसअघि झण्डै १.५ किलोमिटर सडक निर्माणको काममा युवा सहभागीता रह्यो । यसैगरी हरेक विकास निर्माणका काममा युवा सहभागीतामा जोड दिएका छौँ ।
वडाबाट नागरिकले के कस्ता सेवा पाउन सक्छन् ?
सरकारका हरेक निर्णयको कार्यान्वयन गर्ने पहिलो निकाय भनेकै स्थानीय तह हो । त्यसमा आधारभुत तहको सम्पुर्ण काम वडाबाट नै हुँदै आएको छ । वडाले नसक्ने कामका लागि हामिले जुन निकायमा जादा काम हुन्छ सिफारिस र समन्वय गर्दै आएका छौ । अझै पनि संरचना त्यसमा पनि सरकारी संयन्त्र पारदर्शी र भ्रष्ट्राचारमुक्त नहुँदा अप्ठारा छन् ।
उसोभए कर्मचारी संयन्त्रबाट तपाईं सन्तुष्ठ हुनुहुन्न ?
आफुले सोचें अनुसार सबै काम नहुँदा आफै पूर्ण रुपमा सन्तुष्ठ हुन सकेको त छैन । तर संघिय संरचनाको बलियो आधार तयार गर्न पाएकोमा खुसी छु । कर्मचारी संयन्त्रबारे तपाईं पनि आफै जानकार हुनुहुन्छ, यसबारे धेरै बोलिन ।
अन्त्यमा के भन्नुहुन्छ ?
तपाईंहरुले पालिकाबाट भैरहेका कामबारे विशेषतः वडा तहलाई समेट्न खोज्नुभएको रहेछ, खुसी लागेको छ । हामीले दिगो विकासलाई मुख्य प्राथमिकतामा राखेका छौ । कुनै पनि काम देखाउनका लागि मात्र गर्दैनौ । यसका लागि तपाईंहरु मिडियाकर्मी साथीहरु सहित वडाबासी, नगरबासी सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।








