प्रविणराज चालिसे
समाज सेवामा समर्पित राधेश्याम खड्का काठमाण्डौको गोठाटार, काडाँघारीमा बस्नुहुन्छ । उहाँ पेशाले व्यवसायी हुनुहुन्छ । तर समस्या र अप्ठारोमा पर्नेहरुलाई सहयोग गर्दै आउनुभएको छ ।
उहाँ भन्नुहुन्छ,‘मान्छेलाई धन भन्दा पनि मनदेखि गरेको कर्मले सुख र सन्तुष्टि मिल्छ । त्यसमा पनि समाज सेवाको काम त मनदेखि नै आउने हो । जसको मन सफा हुन्छ, उसले समाजको समस्या पनि सफा गर्न खोज्छ ।’
जन्म र कर्म
राधे श्याम खड्काको जन्म २०२० र बैशाख ०१ गते भएको हो । उहाँको आमा जानुका खड्का र बुवा मदनबहादुर खड्का हुनुहुन्छ । ७ जनाको परिवारमा तीन छोरा, एक छोरी र दुई पत्नि हुनुहुन्छ । खड्का बाल्यकालमा साथीभाईहरूसँग खेल्न, घुम्न मनपराउनु हुन्थ्यो । विशेषगरी भलिबल उहाँलाई मन पथ्र्यो । उहाले पढाई आइएसम्म पूरा गर्नुभएको छ ।
बाल्यकाल सुख दुःखमा बितेपनी, उहाँ आफ्नो बाल्यकाल रमाईलो रूपमा लिनुहुन्छ । खड्का बिगत २५ वर्षदेखि समाज सेवामा लाग्दै आउनुभएको छ । व्यवसायिक हिसाबले उहाँ सहकालिन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । कागेश्वरी मनोहरा नगरपालिका सनसीटीमा एउटा मार्ट पनि छ । गोठाटार, काडाँघारीमै निजी अक्षरा माध्यमिक विद्यालय सञ्चालन गर्नुभएको छ ।
लामो समय सहकारीको सञ्चालनमा लाग्नुभएका खड्काको बुझाईमा सहकारी एउटा समाजका व्यक्ति मिलेर, समाजमा कृषी, सिलाई बुनाई, उधोग, घरायसी व्यापार स्थापनाका निम्ति कर्जा प्रदान गरी आर्थिक विकासमा टेवा पुर्याउने संस्था हो । उहाँले काम गरेको सहकालिन बचत तथा ऋण सहकारी संस्थाले साना कलकारखाना तथा घरेलु व्यवसायलाई पनी कर्जा प्रदान गर्दै आएको छ ।
व्यवसायको नाममा कर्जा लगेर कर्जा नबुझाउने र बुझाउन नचाहनेहरूबाट समय समयमा सहकारीहरूले समस्या भोग्दै आएको छ । त्यसबाहेक सहकारी मिहिनेतीका लागि राम्रो साथी बन्न सक्ने खड्काको बुझाई छ ।
समाजसेवा
व्यवसायी र समाज सेवामा लाग्नुभएका खड्काले बाल्यकालदेखि नै सहयोगि भावना आउने गथ्र्यो । समाज सेवामा प्रवेश भने अहिलेको सहकालिन बचत तथा ऋण सहकारी संस्थाको स्थापनापछि लाग्न थालेको उहाँ बताउनुहुन्छ । सामाजिक सेवाको काम धेरै गरेपनि उहाँले आफ्नो निजी पहलमा स्थापना गर्नुभएको काडाँघारी स्थित हनुमानको मन्दिरको निर्माणको कामबाट सन्तुष्ट हुनुहुन्छ । उहाँले यो मन्दिर १३ वर्ष अघि बनाउनुभएको हो ।
उहाँ भन्नुहुन्छ,‘आफ्नो घर नजिकै रहेको खाल्डोमा जथाभावी फोहोर फाल्ने र फोहोरका कारण हावामा प्रदुषण बढ्दै गयो । पछि त्यही स्थानमा हनुमानको मुर्ती स्थापना गर्नुभयो र त्यसैलाई मन्दिरको रूपमा स्थापना गर्नुभयो । मन्दिरमा आफ्नो व्यक्तिगत ५० लाख लगानीमा उहाँले भजनकृतन तथा महिला समुहका लागी भवन निर्माण गरीदिनुभयो ।
ज्ञान आदान प्रदान गर्नका निम्ती सत्सँगत संस्थालाई उहाँले आफ्नो निजी सम्पतिबाट ५ आना जग्गा प्रधान गर्नुभयो । हाल खड्का स्थानिय सरकारी विद्यालय गान्धी विद्यालयको समितिको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले यो विद्यालयको लागि लामो समय सेवा दिदै आउनु भएको छ । ८ वर्ष पहिले सप्ताह लगाई गान्धी विद्यालयको लागि भवन निर्माण गर्नुभयो ।
केहि सुख केहि दुखका क्षणहरु
हाल कोरोना महामारीका कारण धेरै समस्यामा छन् । सबै मानिस कोभिड त्रासका कारण घरभित्र बसिरहेका बेलामा आफ्नो सहकालिन बचत तथा ऋण सहकारी संस्था बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म खोलेर मद्धत गरिरहेको उहाँ बताउनुहुन्छ । साथै उहाँले यही कोभिड त्रासको बेलामा ६० बोरा रासनको सहयोग गर्नुभयो ।
कतै यात्राको क्रममा खानेकुरा, पानी र सकेको रकम पनि अप्ठारोमा पर्नेहरुलाई सहयोग गर्ने गरेको खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘यसो गर्दा मनमा आनन्द मिल्छ, आफुले कमाएको २० देखी ४० प्रतिशत रकम सधै समाजसेवामा लगाएको हुन्छु । यहि नै सुख हो ।’
समाज सेवा समाजकै हितमा हुन्छ । त्यहाँ आफ्नो व्यक्तिगत फाइदा जोडिएको हुँदैन । फाइदा खोजेर गर्ने सेवा समाज सेवा पनि हुँदैन । समाजमा बसीसकेपछी समाजको फाइदा पनि हेर्नुपर्छ, समाजको बारेमा पनि सोच्नु पर्छ । समाजसेवाको नाममा चन्दा संकलन गर्ने, रकम घोटाला गर्नेलाई कहिल्यै सन्तुष्टी नमिल्ने खड्का बताउनुहुन्छ ।
आफैं अध्यक्ष रहँदै आएको गान्धी विद्यालयमा हुँदै आएको राजनीति, शिक्षक पनि राजनीतिमा लाग्ने र शैक्षिक क्षेत्र कमजोर पार्ने कामबाट ज्यादै निराश हुनुपरेको उहाँको भनाई छ ।
मान्छे बाँचुन्जेलतरो मेरो गर्छ तर मरेर लैजानु के छ र ? भगवानमा आस्था र भगवान मै भरोसा साथै भगवान नै मेरो प्रेरणाका स्रोत रहेको खड्का बताउनुहुन्छ । खड्का समाजसेवा गर्नुहुन्छ । त्यसैले उहाँलाई धेरैले समाजसेवीकै रुपमा चिन्छन् । सेवा भावमै सन्तोष मान्ने उहाँ मनको धनी हुनुहुन्छ ।
आशा बोकेर आएका दिन दुःखीको मन निराश पार्न नहुँने उहाँ भन्नुहुन्छ । समाजमा सबैले आफुले सकेको सहयोग गरेमा, समाज आफैं विकासतर्फ लाग्ने खड्काको विश्वास छ ।












