केहि आँटिला महिलाहरु जस्ले टेम्पो चलाउँछन्

सरोज कार्की

नेपाली समाजमा महिलाले गर्न हुने र नहुने कामको भाग गरिएको छ । पछिल्ला वर्ष नेपाली समाजमा मानिसहरुको सोंचमा धेरै परिवर्तन भएको देख्न सक्छौ । पहिलाको तुलनामा मानिसहरु धेरै शिक्षित र चेतनशिल भएका छन् । यसलाई आधुनिक साेंच र जीवनशैलिको नतिजा भन्न सकिन्छ ।

अरुको मजदुरी गरे चालक बनेकी चण्डिका रोका

चण्डिका रोका काठमाण्डौको सर्तुङ्गलमा बस्नु हुन्छ । उहाँले टेम्पो चलाउनु थाल्नुभएको ४ वर्ष भयो । छोराले कमाउने र छोरी घरको काम गर्ने सोंच र प्रथा रोकाले पछ्याउनु भएन । मजदुरीबाट काम सुरु गरेर आज आफ्नै टेम्पो चालकसम्म हुनुभएको छ । उहाँको संघर्षको जिन्दगी यस्तो थियो जुन अहिले पनि उस्तै छ ।

रोका एक साहसी महिला हुनुहुन्छ । जसले सानो उमेरदेखि मेहनत गर्नुभयो । उहाँ बिहान ५÷६ बजेदेखि बेलुका ७÷८ बजेसम्म टेम्पो चलाउनु हुन्छ । ‘मेरो जिन्दगी मजदुरी कामबाट सुरु भयो । काम गर्ने क्रममा एकदिन महिला टेम्पो चालक देखें । यहि काम सिकेर व्यवसाय गर्छु भन्ने रहर जाग्यो’ रोका भन्नुहुन्छ,‘अरुको मजदुरी गर्दै टेम्पो चलाउन सिकें र केहि वर्षसम्म अरुको चालक बनें।

केहि वर्षपछि जम्मा गरेको पैसाले आफ्नै टेम्पो किनें र चलाउन थालें । अझै पछि ठुला÷ठुला गाडीको चालक बन्ने सपना राखेको छु । एकदिन ठुलो बस किनेर आफैँ चालक बन्ने लक्ष्य छ ।’

केहि ठाउँमा महिला र पुरुषको क्षमतालाई भाग लगाउने सोंच जीवित छ, जहाँ महिलालाई घरको काम भन्दा बाहिरको काम गरे समाजले थु थु, छि छि गर्छ । अझै विकट क्षेत्र, जहाँ उज्यालोको नाममा टुकी बत्ति र घामको किरण मात्र छ त्यहाँ पुरानो परम्परा र सोंच जीवित हुनु अनौठो कुरा नहुने रोका बताउनुहुन्छ ।

तर देशको राजधानी धेरै शिक्षित रहेको काठमाण्डौ उपत्यकामा पनि अन्धविश्वास देख्दा अचम्मै लाग्छ । उहाँ भन्नुहुन्छ,‘अहिले २१ औं शताब्दीका महिलाहरु निकै नै निडर र साहसी भएका छन् र धेरै व्यवसायमा आफ्नो उपस्थिती जनाएका छन्, त्यसैमध्येको एक टेम्पो चालक पनि पर्छ ।’

श्रीमती टेम्पो अनि श्रीमान् पसल चलाउने लक्ष्मीको कथा

लक्ष्मी तामाङ्ग सितापाईलामा बस्नुहुन्छ । उहाँले टेम्पो चलाउनुभएको ८/९ वर्ष भयो । उहाँ बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म टेम्पो चलाउनु हुन्छ र श्रीमान् पसल गर्नुहुन्छ । ‘मैले कहिल्यै पनि नकारात्मक कुरामा ध्यान दिन्न । मलाई समाजले नराम्रो भन्ला भन्दा पनि आफ्नो छोरा÷छोरीको भबिस्यको चिन्ता छ । यसकारण परिवारको खर्च उठाउन र छोरा/छोरी उज्जवल भविष्यका लागि यो व्यवसायमा हात हालें ।

मेहनत गरेर खान लाज मान्नु हुँदैन । यदि नराम्रो बाटोमा हिंडेको भए सायद समाजसंग मुख लुकाएर हिँड्थे होला, तर मेहेनत गरेर खाँदैछु त्यसैले शिर उच्च छ । मैले सुरुवात गर्दा छोरी भएर टेम्पो चलाउने, परिवारको नाक काट्यो जस्ता धेरै नकारात्मक कुरा सुन्थे । त्यस्ता कुरामा ध्यान दिइन र आज साहस जुटाएर टेम्पो चालक बने र धेरै खुसी छु ।’

कृष्णमायाको कथा

कृष्णमाया श्रेष्ठले टेम्पो चलाउनुभएको ५ वर्ष भयो । छोराछोरी, श्रीमान र उहाँ सहित ४ जनाको परिवार गोठाटारमा बसोबास गर्नुहुन्छ । उहाँ रामेछापमा जन्मिनु भएको हो । टेम्पो भाडामा लिएर बिहान ५ बजेदेखि बेलुका ८ बजे सम्म दैनिक चलाउनु हुन्छ । घरमा अरुको केहि काम नभएको कारण उहाँले यहि काम गरेर जुटाएको पैसाले घरखर्च चलाउनुहुन्छ ।

श्रेष्ठ भन्नुहुन्छ,‘मैले जिन्दगीमा धेरै दुख र कष्ट सहें । टेम्पो चालक हुनु भन्दा अगाडी अरु पनि धेरै व्यवसायमा हात हालेको थिएँ। तरकारी पनि बेच्ने, अरुको लुगा धुने, होटल तथा अरु ठाउँमा पनि काम गरें। तर अरु कामले घर खर्च नपुगेपछि अन्तिममा टेम्पो चालक भएँ।

टेम्पो चलाउने सिलसिलामा धेरै कठिनाई सहनुपर्यो । कसैले गिज्जाए पनि र कहिले महिला चालक भएको टेम्पो चढ्न हुँदैन भनेर भेदभाव गरेको पनि सहेर काममा ध्यान दिएँ । कोरोनाको समयमा काम बन्द भयो । र छरछिमेकसँग सापटी लिएँ र दिन कटाएँ ।

महिला कमजोर छैनन्, समाजको डरले काम गर्न नसकेका हुन् । अरुलाई पनि भन्छु निडर भएर काम गर्नुस्, अहिले नगरे कैले गर्ने त ?

बिमला गौतम : काम बन्द हुँदा सापटी लिएर गुजारा

बिमला गौतम रामेछापमा जन्मिनु भएको हो । अहिले छाउनीमा बस्नुहुन्छ । उहाँले टेम्पो चलाउनु भएको १० वर्ष भयो । उहाँले साहुको टेम्पो चलाउनु हुन्छ । महिनाको १२ हजार तलब हुन्छ । उहाँ बिहान घरको धन्दा सकाएर टेम्पो चलाउनु निस्कनुहुन्छ र दिनभर काम गर्नुहुन्छ ।

‘भोकको अगाडि लाज नहुने र मेहनत नगरे बाँच्नै मुश्किल हुने’ उहाँ भन्नुहुन्छ,‘जब खान र बस्न नसक्ने अवस्था आयो तब मैले मजदुरी गर्न थालें । काम गरेको पैसाबाट थोरै थोरै पैसा जम्मा गर्दै टेम्पो चलाउन सिकें ।

आज पनि यही काम गरेर आफ्नो घर चलाउँदै आएको छु । कोरोनाको समयमा काम नहुँदा खान÷बस्न निकै मुश्किल भयो । घरबेटीले एक महिनाको मात्रै घर भाडा छुट गरे अरु बाँकी सरसापटी गरेर गुजारा गरें ।’

[sidebar name="button post"]