प्रविणराज चालिसे
कोरोनाका कारण धेरैजसो व्यापार व्यवसायमा असर परेको छ । त्यसमाथि लामो समय बन्द रहेका चलचित्र हल अझै मारमा परे । दर्शककै भरमा चलाउनुपर्ने चलचित्र हल बढी भिडभाड हुने क्षेत्रमा पर्छ । कोरोनाको संक्रमणको डरले गएको चैतदेखि बन्द चलचित्र हल आजदेखि खुलेका छन् ।
संक्रमणकै बिचमा किन खोल्न लागियो
नेपाल चलचित्र हल संघका अध्यक्ष एवं सिद्धार्थ हलका सञ्चालक मधुसुदन प्रधान भन्नुहुन्छ,‘ देशमा रहेका तमाम व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, होटेल, सहर बजार, यातायात जस्ता निकाय निर्देशन भन्दा बाहिर गएर सञ्चालन भैसकेका छन्, भने चलचित्र उद्योगका हल मात्र किन नखुल्ने ? हामीले चलचित्र हल सामान्य रूपमा स्वास्थ्य मापडण्ड पालना गरी सुरु गर्न लागेका छौ ।’
चलचित्र संघका उपमहासचिव एवं निर्देशक गोपाल कायस्थले व्यापार र फाइदा भन्दा पनि सिनेमा चलायमान बनाउन हल खोल्न लागेको बताउनुभयो । उहाँ भन्नुहुन्छ,‘अहिले हल खोलेर कुनै नाफा छैन बरु उल्टो घाटाको विषय हो । हल खोलेर विभिन्न कर, बिजुलीको अनावश्यक शुल्क मात्र तिर्नु पर्ने हुन्छ । तर सरकारले लामो समय सम्म कुनै पनि ध्यान नदिएकाले बाध्य भएर खोल्न लागेका हौ ।’
हल खोलेर सरकारको ध्यानाकर्षण गर्न लागेको कायस्थले बताउनुभयो । अरुले बन्द गरेर आन्दोलन र माग राख्छन् हामी खोलेर सरकारलाई झकझकाउने काम गर्नेछौ । विना मन्दिरमा आवद्ध नरेन्द्र महर्जन भन्नुहुन्छ,‘हल खोल्दैमा पहिलेकै रूपमा दर्शक आउँछन् भन्ने छैन र आउदैनन् पनि । हामी चलचित्र उद्योगलाई पहिलेकै अवस्थामा लैजानका निम्ती प्रयास गरीरहेका छौ ।’
हलकर्मीको गुनासो
कोरोनाले सबै निकायमा मर्का पारेको छ । चलचित्र क्षेत्रलाई यसले विशेष मर्का परेको छ । चलचित्र उद्योगले हजारौलाई रोजगारी दिएको छ । ऋण गरी सरकारको कर तिर्न बाध्य भएको हलकर्मीको गुनासो छ । ‘महिनौ हल खोल्न पाएका छैनौ, तैपनी करको मारमा परेका छौ । ३३/३४ प्रतिशत कर कमाइ बिनाको भरमा तिर्दा सारै गारो परेको छ ।’ प्रधान भन्नुहुन्छ,‘यो मर्का सरकारले बुझिदिनुपर्छ ।’ अरू हलकर्मी पनि बिजुलीको बिल तिर्नुपर्दा मारमा परेको गुनासो गर्छन् । सरकारको मौखिक आश्वासन मात्रै पाएको तर कार्यान्वयन नभएको हलकर्मीको गुनासो छ ।
कसरी सञ्चालन हुदैछ हलहरू
नेपाल चलचित्र हल संघका अध्यक्ष एवं सिद्धार्थ हलका सञ्चालक मधुसुदन प्रधानका अनुसार विश्व स्वास्थ्य संघठन र नेपाल सरकारको निर्देशन तथा मापदण्ड अनुसार नै हल खोल्ने तयारी छ ।
हलमा छिर्ने बेला भिडभाड हुन नदिने, स्यानिटाइजको प्रयोग गराउने, माक्स बिना हल भित्र जान नदिन र भित्र दर्शक छिरेपछि दुई दर्शक बिचको सिट खाली राख्ने, भिडभाड हुन नदिने तयारी छ । नेपाल हल संघको निगरानीमा मापदण्डको अनुगमन गर्ने पनि प्रधानले बताउनुभयो । दर्शक भनेका हाम्रा परीवार हुन्, हामी हाम्रो परीवारको जति सक्दो सुरक्षामा ध्यान दिनेछौ । उहाँले भन्नुभयो ।
हल सञ्चालकका लागि मापदण्ड
हलको पुरा टिकट मध्ये ५० प्रतिशत मात्र टिकट अनलाइनबाट बेच्ने
यदि अनलाइन सेवा नभएमा २ मिटरको दूरी कायम गरी टिकट बेच्ने
ज्वरो नाप्ने यन्त्रको प्रयोग गरी हल भित्र प्रवेश गराउने,
अनिवार्य रूपमा स्यानिटइजरको प्रयोग गर्ने,
मोवाइल नम्बर टिपेर टिकट बेच्ने
हरेक दिन सिटमा स्प्रे गर्ने ।









