कोरोना महामारीपछि जनस्वास्थ्यका विज्ञ ज्ञानबहादुर बस्नेतको जिम्मेवारी र दौडधुप साह्रै बढ्यो । मोरङ्ग स्वास्थ्य कार्यालय, कोभिड अस्पतालको व्यवस्थापकीय प्रमुखसँगै जिम्मेवारी थपियो । कोभिड १९ को संक्रमण नियन्त्रण र अरुलाई संक्रमण हुनबाट जोगाउन खटिएका उहाँ आफै संक्रमित हुनुभयो ।
बस्नेत कार्यरत कार्यालयकै स्वास्थ्यकर्मीमा कोभिड संक्रमण देखिएपछि प्रोटोकल अनुसार उहाँ सहित कर्मचारीहरुको पीसीआर परिक्षण गर्दा बस्नेतलाई पनि संक्रमण पुष्टि भयो । आफूले संक्रमितहरुलाई नजिकबाट हेरेकाले अलिकति डर बढ्यो तर सामाजिक भेदभावको त्यो बेला सार्वजनिक हुन गाह्रो थियो ।
उहाँ भन्नुहुन्छ,‘म जिम्मेवार भएर सामाजिक वितृष्णा र रोगसंग लड्नुपर्छ भन्ने सोचाईले आफू कोभिडको संक्रमित भएको घोषणा गरे । र संक्रमित भएर होम आईसोलेसनमा बसे तर जिम्मेवारीबाट पन्छिन सकिन, सञ्चार माध्यमको प्रयोगले व्यवस्थापकीय जिम्मेवारीमा लागिरहे ।’
२६ दिन लामो एकान्तबास
ज्ञानबहादुर बस्नेत कोरोना संक्रमित भएपछि २६ दिन लामो एकान्तबास बस्नुभयो । कोरोना संक्रमणका शंकास्पद ६ दिनको क्वारेन्टिन, संक्रमणका १३ दिन होम आईसोलेसन र थप ७ दिन गरि २६ दिन निरन्तर घरमै एकान्तबास भयो । बस्नेतका लागि यो जागिरे जीवनकै सबैभन्दा लामो र अनुत्पादक बसाई भयो ।
उहाँ भन्नुहुन्छ,‘जागिरको ३१ वर्षको अनुभवमा बिदा लिंदा होस् या काजमा खटिएको बेला, कार्यालयमा एकदिन पनि ढिलो गरेको सायदै नहोला । अहिले यसरी जिम्मेवारीमा रहेर कोरोनाको कहरको बेला यति लामो समय गुजार्नु कति प्रतिपादक होला ? तर यो रहर नभई बाध्यता थियो ।’
एकान्तबासमा पनि सक्रिय
देश र जनताको सेवा कर्मचारीको पहिलो कर्तव्य हो । अझ कोरोनाको विश्व महामारी र बस्नेतले पाएको जिम्मेवारी निक्कै महत्वपूर्ण र संवेदनशिल थियो । यो महामारीमा टीमको नेतृत्व गर्ने एकजना सक्रिय र जिम्मेवार सदस्य नहुँदा पर्ने समस्या, खड्किएका अप्ठाराबारे जानकार बस्नेत सक्रिय हुनुभयो । आफ्नो बसाईलाई उपयोगी बनाउन तर्फ लाग्नुभयो ।
आफैं कोरोनासँग लड्दै होम आईसोलेसनबाट नै भर्चुअल माध्यमको सदुपयोग गर्दै कोभिड अस्पतालमा गर्नुपर्ने कामको सरसल्लाह, स्वाव संकलनमा समन्वय, एम्बुलेन्स तथा शव–वाहनको व्यवस्थापन, कार्यालयको काममा आवश्यक व्यवस्थापनमा ब्यस्त हुनुभयो । आफु जनस्वास्थ्यको विज्ञ भएकाले राष्ट्र र जनस्वास्थ्यप्रति दायित्व र जिम्मेवारी महत्वपूर्ण रहेको बस्नेत बताउनुहुन्छ । ‘घरपरिवार, नातेदार, साथिभाई, शुभचिन्तकहरुले देखाएको सद्भाव, शुभेच्छा र कामनाले धेरै सहज बनायो ।
कोरोना संक्रमण भएपछि हुन सक्ने असर, रोकथाम र नियन्त्रणको विषयमा कौतुहलताका साथ विभिन्न माध्ययमवाट कुरा सोध्ने गरिन्थ्यो । आफू नै संक्रमित भएपछि मनमा बढी कौतहुल हुने, धेरै कुरा खेल्ने अनि यसबारे तर्कहरु आउनु स्वभाविक थियो सायद ।
जिम्मेवार र उच्च मनोवलका साथ खट्ने मान्छे नै संक्रमित हुँदा सम्बन्धीत निकाय तथा अन्य जनस्वास्थ्य एवं स्वाथ्यकर्मीहरुलाई पनि बढी चासो हुँदो हो । बस्नेतको अवस्थाका बारेमा सोधखोज हुन्थ्यो । बस्नेत पनि आफ्नो कर्तव्य सम्झेर सवालको जवाफ दिन्थे र प्रतिउत्तरमा ‘न आत्तिनु होला, हामी छौं ।’ भनेर आश्वासन पाउने गरेको थिए ।’
३१ वर्षसम्म कमाएका आफन्त
सकुशल हुँदा आ–आफ्नै तनाव, जिम्मेवारी, जिविकोपार्जनमा समय कटाउनुपर्ने तर परेको बेला नेपाली संस्कार रमाईलो छ । सान्त्वना दिने, सन्चो बिसन्चो सोध्ने र सहयोगको बचन मात्र होईन, सहयोग पनि गर्ने । ‘मन्त्रीदेखि सर्वसाधारण, स्वदेशमा हुनेदेखि विदेशमा रहेका शुभचिन्तकहरुले स्वास्थ्यको चासो राख्नुभयो । यी मेरो लागि आत्मबलको ठूलो उर्जा बन्यो, लाग्थ्यो जिन्दगीको ३१ वर्षको सेवामा आफन्तहरु कमाएकै रहेछु ।
यद्यपि यो संक्रमणलाई मैले सामान्य सम्झे । कोरोना समुदायमा फैलिएको अवस्थामा पछिल्लो समयमा देखिएको संक्रमणमा नगन्य लक्ष्यण जस्तै हल्का ज्वरो, खानामा अरुचि, जिउ दुख्ने, सामान्य पखाला जुन व्यक्ति पिच्छे फरक पाइएको छ, मैले पनि अनुभव गरे ।
बस्नेतको दैनिकी :
१) सधै झैं बिहानै फोनको घन्टी बज्ने गर्छ, म्यासेज, सामाजिक संजालमा व्यवस्थापनका बिभिन्न कुरा उठ्छन् त्यस्को रेस्पोन्स गर्ने ।
२) जिम्मेवारी लिएको कामको लागि सरसल्लाह गरियो ।
३) एम्वुलेन्स, शव वहानको व्यवस्थापनमा सहयोग ।
४) स्थानीय तहसङ्ग विविध छलफल, संक्रमित भर्ना, स्वाब संकलन तथा परीक्षणको समन्वय ।
५) कोभिड अस्पताल विराटनगर र गोठगाउँ आईसोलेसनमा आएका समस्याको समाधानमा निरन्तर समन्वय ।
६) कोरोना व्यवस्थापनको जिम्मा लिएकै व्यक्ति संक्रमण हुँदा उसैको अनुभव सुन्नलाई आतुर साथिहरुसङ्गको सम्पर्कको ओईरो लाग्थ्यो र भलाकुसारी (कसरी भयो, कस्तो छ, लक्षण के–के आयो, औषधिको प्रयोग जस्ता कुरा) गर्थें जसबाट मेरो समय बितेको थाहा हुँदैन थियो, लाग्छ कि म संक्रमण हुनु पनि ठिकै भएछ मैले बाँडेको अनुभवले अरुलाई जोगिन र संक्रमित भैहाले गर्नुपर्ने उपायका लागि सहज भयो ।
कोरोनासङ्ग सतर्क हौँ, नआतिऔँ : डाक्टर बस्नेत
१) मैले ‘उच्च मनोबल, कोरोनाको हल’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गरे र गरौं भन्छु ।
२) एकोहोरो र एक्लोपन नहुने खालका कृयाकलाप गरी आफुलाई ब्यस्त बनाउने ।
३) कोरोनासङ्ग उच्च सतर्क भै कत्ती पनि नडराई मसङ्ग लड्न सक्ने क्षमता छ, भनी ढुक्क रहने ।
४) म संक्रमीत हुँ बिरामी हैन भन्ने सोचाईं बनाउने ।
५) कम्तिमा दिनको ४ पटक सन्तुलित खाना खाने (दाल भात, रोटी, हरियो सागपात, फलफूल, माछा मासु आदि मिलाएर
६) भोजनको अलावा तातोपानी, कागती पानी, अदुवा, बेसार, गुर्जो, अमला लगायतका जडिबुटी र घरायसी औषधिको सेवन ।
७) तातोपानीको वाफ र नुनपानीले कुल्ला गर्ने ।
८) मज्जाले निदाउने (कममा पनि ८ घन्टा)
९) हल्का शारीरिक व्यायाम ः बस्नेत भन्नुहुन्छ,‘नाच्ने, गुनगुनाउने तथा मनोरञ्जनका खेल खेल्ने, योगा गर्ने गर्दा मन प्रफुल्ल भई मनोबल बढेर रोग प्रतिरोधात्मक शक्ति ह्वात्तै बढ्ने रहेछ ।’
१०) आफूलाई पूर्णरुपमा व्यस्त बनाएर कोरोनालाई दिमागमा कतै नराख्ने ।
११) भिटामनि बि, जिङ्क चक्कि, भिटामिन सि, जिवनजल, सिटामोल तथा प्रोटिन लगायत अन्य पोषक तत्वहरुको सेवन गर्ने ।









