व्यापार गरी गुजारा चलाउने भन्छन् : रोग भन्दा त्यसले निम्ताएको चिन्ताको शोक धेरै हुने भयो

सरोज कार्की

सरकारले कोरोना बढ्ने भन्दै झण्डै ६÷७ महिनासम्म लकडाउन गर्यो । नागरिक घरभित्रै बसे । तर कोरोना संक्रमण अहिले पनि नियन्त्रण हुन सकेको छैन । व्यापार, व्यवसाय सहित नियमति काम चौपट भए । त्यसैको प्रभाव÷असरका कारण कतिपयलाई मानसिक तनाव थपिँदै गएको छ ।

हामिले काठमाण्डौको व्यापार व्यवसाय गरेका केहि व्यवसायीको पिर मर्कालाई समेटेका छौँ ।

रोशनी लामा : बिजय किराना स्टोर, सितापाइला, काठमाण्डौ

मैले व्यवसाय गरेको ८ वर्ष भयो । भाडामा बस्ने र भाडामै व्यवसाय गरेको हो । यहि व्यवसायको कारण घर चलाउन सजिलो भएको थियो । कोरोनाको असर व्यवसायमा परेको छ । लकडाउनका बेलामा सरकारले तोकेको समय बिहान÷बेलुका पसल खोल्यौ । त्यसरी गुजारा चलाउन धौ धौ भयो । छाक टार्ने मुश्किल भएपछि दिउँसो पनि लुकेर पसल खोल्यौँ ।

घरधनीले सुरुका दुई महिना भाडा छुट गरे तर त्यसपछि छुट भएन । लकडाउन खुलेपछि पनि कोरोना भन्दा अगाडिको जस्तो व्यापार र चहलपहल छैन । धेरै फरक परेको छ । अरु व्यवसायमा ज्ञान छैन । पहिलादेखि नै यहि व्यवसाय गदै आएका छौ । अरु उपाय छैन, पछि पनि यहि व्यापार गरेर गुजारा गर्नुको विकल्प छैन ।

सुजन पुजारी : एस एस लिक्योर स्टोर, लक्ष्मी चोक

व्यवसाय सुरु गरेको लगभग ५ वर्ष भयो । पसल खोल्न नपाएको कारण व्यापारमा घाटा भयो । आफ्नो र परिवारको स्वास्थ्य सुरक्षाका लागि लगभग ६ महिना पसल नै खोलेनौं । कोठा र पसल गरेर महिनाको १२ हजार भाडा तिर्नुपर्छ । कोरोनाको महामारीको बेला एक महिनाको मात्र कोठा भाडा छुट गर्दिनु भएको थियो । अहिले मानिसहरु पसलमा आउन डराउँछन् ।

व्यापार आधा भन्दा धेरैले घटेको छ । सुरुमा कोरोनाको डरले बाहिर पनि निस्किएका थिएनौँ । तर पछि पेट पाल्नको लागि भए पनि स्वास्थ्य सुरक्षा अपनाएर पसल खोल्यौँ । स्वास्थ्य सुरक्षामा मास्क, सेनिटाइजर, फेस मास्कहरुको प्रयोगले अहिलेसम्म कोरोनाबाट बच्न सकिएको छ । अब फेरी पहिलाको जस्तै बन्द गर्ने हो भने सरकारले खाने र बस्ने व्यवस्था मिलाउनुपर्छ ।

हरि ढुंगाना : सितापाइला फेन्सी स्टोर, सितापाइला चोक

कोरोनाको कारण धेरै असर परेको छ । विगत २० वर्षदेखि अहिलेसम्म २ छाक खान यहि पसलबाट चलिरहेको छ । सरकारले जहिलेसम्म बन्द गर्न भनेको त्यो समयसम्म बन्द गर्नु पर्दा खान पनि धेरै गार्हो भयो । पसलको भाडा पनि तिर्न नसकेर साथिहरु, आफन्तसँग ऋण लिएर पसलको भाडा र खाने व्यवस्था मिलायौँ ।

घरधनिले पहिला एक महिनाको लागि त भाडा छुट गर्नु भयो तर पछि सबै तिर्नुपरो । पहिलाको तुलनामा कोरोनापछि अहिले व्यापार ५० प्रतिशत घटेको छ । चीनबाट आउनपर्ने लुगाहरु आएको छैन । आएका कपडा पनि महँगो भएका कारण नयाँ कपडा राख्न गार्हो भएको छ । यहि व्यवसायले अहिलेसम्म घर चलेको छ र पछि पनि यहि व्यवसाय नै गर्ने विचार छ ।

सरकारले व्यवसाय सुरक्षित हुने गरी केहि कदम चाल्नुपर्छ, साह्रै गाह्रो भयो । देशमा भैरहेको संकटमा हामि नागरिक र सरकार दुवै मिलेर हिड्यौं भने चांडै समाधान हुन सक्छ । हामि नागरिकले पनि हाम्रो दायित्व जस्तै: मास्क, सेनिटाइजर, भौतिक दुरी कायम गर्ने र सरकारले पनि यस सम्बन्धि केहि जोड दियो भने चांडै समाधान हुन सक्छ ।

बिन्दु खड्का : बिन्दु स्टेसनरी एंड बुक्स पसल, हरिसिद्धी

विगत १६ वर्षदेखि यहि पसल संचालन गर्दै आएको छु । कोरोनाको कारण धेरै गार्हो भएको थियो र आफ्नै घर भएको कारण पसलको भाडा तिर्न नपरे पनि खान पुग्ने अवस्था रहेन । कोरोनाको समयमा सरकारको नियम अनुसार नै पसल बन्द गर्यौं र खोल्यौं । अहिले स्कूल बन्द भएको कारण व्यापारमा ९० प्रतिशत घाटा भएको छ ।

देशमा भैरहेको संकटको विषयमा सरकारले मुख्य भूमिका खेल्नु पथ्र्यो जस्तै लकडाउनपछि सरकारले खान र बस्न सुबिधा दिनुपर्ने तर केहि गरेन । कोरोनाबाट बच्न सबै भन्दा पहिला घर मै बस्यौं । अहिले मास्क, सेनिटाइजरको प्रयोग, दुरी कायम गरि बाहिर हिंड्डुल गर्यौं । यस रोगको चांडै समाधान होस् र पहिला जस्तै बिना डर हिड्न र व्यवसाय गर्न पाइयोस् भन्न चाहन्छु ।

संदेश थापा : संदेश सुनचाँदी पसल, सितापाइला

सुनचाँदी व्यवसाय सुरु गरेको १५÷१६ वर्ष भयो । र घर चल्नुको मुख्य माध्यम नै यहि व्यवसाय हो । पछिसम्ममा पनि यहि व्यवसाय गर्छु । कोरोनाको कारण पसल पुरै बन्द गर्नु परेको थियो । खोलेको धेरै भएको छैन । कोरोना अघि कमाएको अलिअलि पैसाले व्यापार नभएको बेलाको पनि भाडा तिरे । भाडा छुट थिएन ।

कोरोनाको कारण व्यापार सुक्खा भएको छ । किनभने यस समयमा मानिसहरु सुन, चाँदी भन्दा बढी आफ्नो पेट र खानामा मुख्य जोड दिई रहेका छन् । यस समस्याको समाधानको लागि सरकार र नागरिक दुबै मिलेर लडे मात्र राम्रो हुने र यदि हामिले पनि यो रोगमा लापरवाही गरे गार्हो हुन्छ । कोरोनाको कारण पहिला डरले नै कोठाबाट बाहिर निस्केनौ तर रोगले भन्दा भोकले मर्न सक्ने बाध्यताले व्यवसाय चलाउन परेको छ ।

अब फेरी पनि यसरी बन्द हुने हो भने सरकारले खाने र बस्ने सुबिधा मिलाउन पर्छ र नागरिकले पनि एक अर्कालाई सहयोग गरेर र मिलेर हिँड्यौं भने पहिला जस्तो गार्हो हुन्न ।

लक्ष्मण गुरुङ : गोरखकाली हार्डवयर पसल, थापाचोक

व्यवसाय सुरु गरेको लगभग २५ वर्ष भयो र कोरोनाको व्यवसायमा ५० प्रतिशत असर परेको छ । सुरुमा दुई÷तीन महिना पसल बन्द गर्नु परेको थियो । पछि बिहान र बेलुका १÷२ घण्टा मात्र त्यहि पनि मास्क, सेनिटाइजर प्रयोग गरि, केहि दुरी कायम गरि अरुले दिए पैसालाई सिधा एउटा भाडामा राखेर, पछि घाममा सुकाएर अनि आफुले लगाएको लुगा फुकालेर सर्फ पानीमा डुबाएर मात्र घरमा प्रवेश गरेका थियौं ।

एक महिनाको पन्ध्र हजार रुपैयाँ भाडा तिर्नुपर्छ र कोरोनाको समयमा पनि भाडा छुट भएन, निक्कै अप्ठारो पर्यो । सरकारले अति समस्यामा परेका र रोजीरोटी गुमाएहरुलाई यो अप्ठारोमा सहयोग गर्नुपर्छ । नत्र कोरोनाकै कारण धेरैको उठिबास हुने अवस्था छ । रोग भन्दा त्यसले निम्ताएको अवस्था र चिन्ताको शोक धेरै हुने देखिन्छ ।

[sidebar name="button post"]