फिजोनन्द शेर्पा
जीवन के हो ? धेरैको प्रश्न र उत्तर पनि आउँछ– जीवन संघर्ष हो । मानिसले अनन्तकालदेखि उठाउँदै आएको सबैभन्दा ठुलो दार्शनिक प्रश्न यही हो जस्तो लाग्छ । यस्तै दार्शनिक प्रश्न र उत्तरभित्र खोजिएको एउटा जीवन्त कथा हो देवराज राई उर्फ सुनिल राईको । काठमाण्डौ गोकर्णेश्वर नगरपालिकास्थित दक्षिण ढोकामा बसोबास गर्दै आएका २१ वर्षका सुनिल राई एक सन्तानका बाबु हुन् । आफ्नो पुख्यौर्ली घर खोटाङ जिल्लाबाट बाढीपहिरोका कारण विस्थापित भएको परिवार काठमाण्डौ बसाइँ सरे । सुनिल राई काठमाण्डौमै जन्मिए ।
सुख के हो ?
सुगममा जन्मे पनि राईलाई पारिवारिक प्रेम, माया ममता र सुख सुविधाको अनुभव रहेन । मन भारी बनाउँदै उहाँले भन्नुभयो,‘आमाले म सानै छँदा छोडेर जानुभएको, आजसम्म अत्तोपत्तो छैन ।’ उहाँको बाल्यकाल हजुरबुवा र हजुरआमाको लालनपालनमा नै बित्यो । बाल्यकालमा धेरैको चाहना पछि गएर आर्मी, पुलिस, डाक्टर, इन्जियिनर, पाइलट, खेलाडी बन्ने हुन्छ । कतिपयको मात्रै चाहना पुरा हुन्छ । अरु धेरैको सपना बिलाएर जान्छ ।
सानैमा उहाँको पनि सपना आर्मी र फुटबल खेलाडी बन्ने थियो । तर भविष्यमा सपना पुरा भएन । उचाई नपुगेका कारण सपना पुरा गर्न नसकेको राई बताउनुहुन्छ । सानै छँदा देख्ने गरेको भविष्यको सपनाबारे विगतलाई फर्केर सम्झदै उहाँ भन्नुहुन्छ,‘आर्मी र खेलाडी बन्ने सपना, सपनाकै खेल रहेछ जस्तो लाग्छ ।
राई भन्नुहुन्छ,‘बुबाले अर्की आमा विवाह गर्नुभयो तर उहाँले पनि छोडेर जानुभयो । अहिले बुवा भारतमा हुनुहुन्छ । बुबाबाट पनि कुनै आर्थिक सहयोग मिलेन । राईले पढाइ पुरा गर्न पाउनुभएन । कक्षा ८ मै पढाई छोड्नुभयो । झापा दमककी दीक्षा लिम्बुसंग विवाह गरेका राईको अहिले १६ महिनाकी छोरी छन् । उहाँ भन्नुहुन्छ,‘ुमैले आर्थिक अभावका कारण पढ्न नपाएपनि सक्दो मिहिनेत गरेर छोरीलाई चाहिँ धेरै पढाउँछु । सुख के हो ? उत्तर नभेटिएला । मेरो अबको संघर्ष छोरीको लागी र उसको उज्यालो भविष्यको लागि हो ।’
ज्याला मजदुरी
राईले ज्याला मजदुरी गरेर आफ्नो परिवारको दैनिकी चलाउँदै आउनुभएको छ । उहाँ कहिले ज्यामी काम त कहिले विभिन्न कलकारखानाहरुमा काम गर्नुहुन्छ । सानै उमेर भएकाले कसैले काम नदिने त कसैले काम गरेको ज्याला नदिई लखेट्ने गरेको उहाँ बताउनुहुन्छ । ‘आफ्नो दुख धोए जाओस् न पखाले जाओस् ।’ उहाँले दुख पोख्दै भन्नुभयो,‘दैनिक मजदुरी गरेर गुजारा चलिरहेको छ ।’
अब भने सिप सिकेर विदेश जाने, पैसा कमाउने र छोरीलाई धेरै पढाउने सोंचमा हुनुहुन्छ । कोरोना महामारी र त्यसपछिको लकडाउनका बेला दैनिकी निक्कै कठिन बन्यो । अहिले उहाँ हजुरबुबा, हजुरआमा, काकाकाकी, भाइबहिनी, श्रीमती र छोरी सुदिक्षाको साथमा हुनुहुन्छ । तै पनि आफ्नो संघर्ष निरन्तर छ । हरेक सन्तानले आफुलाई जन्मदिने आमाबुवाको साथमा भविष्य कोर्ने सपना देखेको हुन्छ ।
तर राईलाई हजुरबुवा र हजुरआमाले हुर्काउनु भएको हो । उहाँ कथा व्यथा पोख्दै भन्नुहुन्छ,‘मेरो छोरीले मैले जस्तो अभिभावकविहीनताको अनुभूती गर्नु नपरोस् ।’









