समिता श्रेष्ठ
पवित्रा पौडेल काठमाण्डौको जोरपाटीमा बस्नुहुन्छ । कोरोनाको महामारीका बेला घरपरिवारमा कोरोना भैहाले कसो गरौला भन्ने चिन्ता थियो । तर यहि बेला उहाँ आफै संक्रमित हुनुभयो । कोरोना संक्रमण भैसकेपछि पौडेलको अनुभव यस्तो छ :
संक्रमण भएको थाहा पाएपछि
जब मलाई कोरोना लाग्यो भनेर पोजेटिभ रिपोर्ट हातमा आयो, त्यसपछि मेरो पहिलो सोंचाइ घरपरिवारलाई चाहिँ सुरक्षित कसरी राख्ने भन्ने रह्यो । त्यसले गर्दा मानसिक रुपमा तनाव भयो । एक दुई दिनपछि बिस्तारै सहज हुने कुरा त छदैछ, तर त्यसबेला सोंच अनेक आयो । जस्तै : मैले हात धोए की धोईन, मैले ढोका पनि छोएको थिए । ढोकामा मैले स्प्रे छरिन । मेरो परिवारमा म मात्रै संक्रमित थिए ।
अब अरुलाई संक्रमण नहोस् भनेर जोगिन चुनौती थियो । डर उस्तै थियो । अलिकति श्वास लामो आयो भने पनि फोक्सो नै संक्रमित भै सक्यो कि भन्ने हुदोरहेछ । मुटुमा बोझ परेर बढी ढुकढुक भयो भने पनि तुरुन्तै बिउँझेर कनि यस्तो भयो होला भन्ने लाग्यो । अलिकति हाँच्छ्यु आयो भने पनि पुरै मानसिक तनाव हुनेरहेछ ।
मासिक अभियानको भुमिका
म कोरोना संक्रमित भैसकेपछि आफन्त र साथीहरुको साथ पाए । विशेष गरी कोरोना संक्रमित मासिक अभियानकै साथीले नि बेलाबेलामा सम्पर्क गर्नुभयो । उहाँहरुले के छ ? कसो छ ? भनेर भन्नुहुन्थ्यो । उहाँहरुले फोन गर्ने बित्तिकै एउटा उर्जा हुन्थ्यो । किनभने उहाँहरु पनि कोरोनाबाट संक्रमित हुनुहुन्छ ।
उहाँहरुले त्यसलाई सहज रूपमा लिइरहनु भएको छ । म मात्रै किन यस्तो गहिरो ध्यान केन्द्रित गरेर बस्नु भन्ने लाग्थ्यो । त्यसपछि बिस्तारै आफैलाई त्यसले गर्दा थप उर्जा मिल्थ्यो । यसले गर्दा सजिलैसँग कोरोनालाई जित्न सके । हरेक परिवारमा एउटा महिलाले घरको चाँजोपाजो मिलाएको हुन्छ, त्यसैले मेरो घरमा पनि बढि चिन्ता मेरै भयो जस्तो लाग्छ ।
जब मलाई संक्रमण भयो । नजिकैका आफन्तहरुले आफैले थाहा पाउनुभयो । कतिपयको घर परिवारमा कोहि चाहिँ फोनै समेत नगर्ने पनि देखियो । पहिले पहिले नियमित रूपमा सम्पर्कमा हुनेहरु सम्पर्कमा नै नआउने पनि देखियो । यसलाई पनि म सहज रुपमा लिन्छु । किनभने कतिलाई यसलाई कोरोना भएको छ भन्ने हुँदो हो ।
सर्तक हुनुपर्छ तर ब्यवहार फेर्नु पर्दैन
कोरोना संक्रमणबाट जोगिन सर्तक हुनुपर्छ । मेरो दिदी, मेरो बहिनीलाई या मेरो आफन्तलाई कोरोना भएको छ भने उसले कसरी, कुन रुपमा लिएको छ मलाई थाहा छैन । अरु बेला बोल्ने, भेट्ने, सोध्ने, फोन गर्नेले यो बेला ख्याल नराखेमा अलिकति नराम्रो लाग्ने रहेछ । त्यति नराम्रो त लाग्दैन तर फोनबाट सम्पर्क गर्न सकिन्छ । वास्तममा हामी कसरी अरुलाई कोरोना नलागोस्, आफू कसरी सुरक्षित हुने, अरुलाई कसरी सुरक्षित राख्ने भनेर सचेत हुनुपर्छ ।
अलिकति छिमेकीहरुबाट फरक व्यवहार गरे जस्तो लाग्छ । बाहिर देखे पनि हेर्दै नहेर्ने गरे जस्तो लाग्छ । तर उहाँहरुलाई समस्या भयो भने मलाई भन्नुहोला भनेर म चाहिँ सोध्न जान्छु भनेर सोंचेको छु । सकेसम्म कोरोना कसैलाई पनि नलागोस्, तर संक्रमण बढेको देख्दा कुनै न कुनै दिन लाग्ने सम्भावना छ ।
कोरोना के हो ? बुझ्नै सकिएन
कोरोना केही होइन भन्ने धेरैलाई लाग्छ । तर अरु रोग भएकाहरुलाई एकदमै डर छ । जोखिम छ । अरु हट्टाकट्टालाई साधारण रुघाखोकी नै हो । तर यसलाई त्यस्तो सजिलो रुपमा पनि लिनु भएन । जुनसुकै रोग पनि ५० प्रतिशत औषधि र ५० प्रतिशत आत्मबल हो । जुनसुकै रोग भएपनि आत्मबल बलियो बनाउनुपर्छ । ठिक हुन्छ । मैले कोरोना जिते, यो भोगाईबाट अरुले पनि जित्नुहुन्छ जस्तो लाग्छ ।









