Ad #144479

रमिला नेपाल

श्रीमान् मृगौला रोगी हुनुहुन्छ । परिवारमा अरु सदस्य छन् । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका  ८ मा बस्नु हुन्छ। नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि उहाँलाई पनि डर बढ्न थाल्यो । त्यो बेला संक्रमण फैलने डरले सरकारले पनि लकडाउन गर्यो । जब संक्रमण बढ्दै गयो भट्टराईपनि जोगिन सक्नुभएन । ‘जे डर थियो त्यहि भैहाल्यो’ भट्टराई भन्नुहुन्छ,‘तर जितेरै छोडें ।’

कसरी भयो कोरोना संक्रमण

अरुलाई झैं सामाजिक अभियन्ता ईन्दिरा भट्टराईलाई पनि कोरोना भैहाल्छ की भन्ने डर सुरु सुरुमा निक्कै थियो । मनको डरलाई काबुमा राख्दै आत्मबल बलियो पार्दै आफैंलाई भन्नुहुन्थ्यो,‘मलाई कोरोना लाग्दैन । सावधानी अपनाउन कतै पनि कमजोरी गरेको थिइन । भौतिक दूरी पनि कायम गरेकै हो ।’

श्रीमान् मृगौला रोगी भएका कारण उहाँ घरबाट तरकारी किन मात्रै बजार निस्कनुहुन्थ्यो । अनि स्यानिटाइजर प्रयोग गर्नुहुन्थ्यो । तर सावधानी अपनाउँदा अपनाउँदै पनि कसरी कोरोना संक्रमण भयो उहाँलाई पत्तै छैन ।

श्रीमान्लाई ज्यान दुख्ने लक्षण देखिन थालिसकेको थियो । कोरोनाको चेक नगराएपनि एउटा कोठामा छोराछोरीलाई आउन नदिएरै बस्नुभयो । ‘केही दिनपछि मलाई घाँटी दुख्न थाल्यो’ उहाँले भन्नुभयो,‘कोरोना चेक गराउनुपर्छ भनेर वडाअध्यक्षलाई फोन गरेँ।’

कोरोना चेक गरेपछिको रिपोर्ट छिटो भन्दा छिटो चाहिएको थियो तर वडाअध्यक्षले दुई चार दिन पछि मात्रै रिपोर्ट आउँछ भनेपछि भट्टराईले छुट्टै चेक गर्नुभयो । चेकअप पछिको रिपोर्टमा दुई जनालाई नै कोरोना पोजेटिभ देखियो ।

हामी दुबैले कोरोना जित्यौँ : रोगसँग लड्न आत्मबलले काम गर्यो

कोरोना पोजेटिभ देखिएपछि भट्टराईलाई निक्कै डर बढ्यो । ‘श्रीमान् दिर्घरोगी भएकाले अलि धेरै नै डर लागेको थियो । सामाजिक सञ्जालमा समाचार हेर्दा र सुन्दा पनि दिर्घ रोगीलाई बढी गाह्रो हुन्छ भनेर सुनिएको थियो । श्रीमान्सँग घरमै अक्सिजन किनेर ल्याउने सल्लाह समेत भयो ।

अस्पतालमा पनि खासै केयर नहुने भएका कारण घरमा नै बस्ने निर्णय भयो ।’ उहाँ भन्नुहुन्छ,‘श्रीमान्लाई केही सामान्य हुँदै गईरहेको थियो । तर म आफैलाई एक्कासी घाँटी दुख्ने र श्वर भासिने भयो ।’

श्वर भासिनु पनि कोरोनाकै लक्षण भएको उहाँले जानकारी पाउनुभएको थियो । होम आइसोलेशनमा बस्दा आफन्त र माइतिबाट धेरै सहयोग र माया पाएको उहाँ बताउनुहुन्छ । केहि दिनपछि फेरी कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । उहाँ भन्नुहुन्छ,‘हामी दुबैले सहजै कोरोना जित्यौँ । रोगसँग लड्न आत्मबलले काम गर्यो । सावधानी सबैले अपनाउनुपर्छ ।’