अजय खत्री
सुनिता अधिकारी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । तर उहाँले जीवनका यात्रामा निक्कै कठिन मोडहरु पार गर्नुभएको छ । उपाध्यक्ष सुनिता अधिकारीलाई जनयुद्धले निक्कै ठुलो घाउ बनाएको छ । त्यसैले त उहाँ आफ्नो बिगतलाई सम्झदा त्यहि घाउ बल्झिन्छ ।
जनयुद्धले निम्त्याएको पिडा
गाउँपालिकाको उपाध्यक्ष बन्नुभएकी उहाँ जस्ता शोकलाई साहसमा बदल्ने महिला कमै छन् । आफ्नो बिगतका दुःख पिर भुलेर नागरिकको सुख र समृद्धिको सपना पुरा गर्न दिनरात सेवामा तल्लिन हुनुहुन्छ । काखका दुई छोरा, ससुरा, देवर अनि श्रीमान्÷श्रीमती संयूक्त परिवार थियो । आफ्नै खेतिबालीले ६ महिनासम्म पनि खान पुग्ने अवस्था थिएन । तर निरन्तरको मेहनत र परिश्रमले जसोतसो जीन्दगी चलिरहेको थियो ।
तत्कालिन जनयुद्धमा बिद्रोही समुह माओवादीको डर त्रास सबैमा थियो । २०५२ सालदेखि माओवादीले बिद्रोह सुरु गरेपछि देश अशान्त थियो । कतिबेला कहाँ के हुन्छ ? केहि यकिन गर्न सक्ने अवस्था थिएन । गाउँमा द्धन्द्धका बेला ठुला घटना भएनन् तर सुनिता अधिकारीको परिवारमा भने ठुलै बज्रपात आइपर्यो । तत्कालिन माओवादीले अधिकारीको परिवारको खम्बा नै ढालिदियो । तर यो घटना किन भयो, कसरी भयो अधिकारीले अहिलेसम्म पनि चित्त बुझ्दो जवाफ पाउनुभएको छैन ।
परिवारको जिम्मेवारी
परिवारको धरोहर ढलेपछि अधिकारी शोकमा पर्नुभयो । श्रीमान्लाई गुमाएकी उहाँ भन्नुहुन्छ,‘घटना किन भयो अहिले पनि अन्योलमै छु । यसको जवाफ तत्कालिन बिद्रोही माओवादीसँग पनि छैन होला ।’ घरको सम्पूर्ण जिम्मेवारी समालेर बस्नुभएका श्रीमान्को तत्कालिन बिद्रोही समुहले हत्या गरेपछि परिवारको सम्पूर्ण जिम्मेवारी अधिकारीको काँधमा आयो ।
श्रीमान्को हत्या हुँदा छोराहरु एउटा ११ वर्ष र अर्को १३ वर्षका थिए । छोराहरु सँगै ससुरा र देवरको जिम्मेवारी पनि अब उहाँको नै काँधमा नै थपियो । छोराहरुको पठनपाठन, घरको ऋणधन, सामाजिक कार्य सबैतिर अधिकारीको जिम्मेवारी बढ्यो । जेठो छोरालाई इन्जिनियरसम्म पढाउनुभयो । त्यसपछि बल्ल उहाँको काँध केहि हलुका हुँदै गयो ।
पालिका उपाध्यक्षसम्मकोे यात्रा
उहाँका श्रीमान् घरव्यवहार चलाउनुका साथै सामाजिक काममा पनि सक्रिय हुनुहुन्थ्यो । समाजमा घुलमिल भएकै कारण साथिभाई, इष्टमित्र तथा चिनजान राम्रै थियो । उहाँले गर्नुभएको सामाजिक कामले गर्दा आफु पनि सामाजिक काममा चासो राख्ने र सक्रिय हुने गरेको अधिकारी बताउनुहुन्छ । राजनीतिक र सामाजिक काममा संलग्न उहाँ देश संघिय संरचनामा गएपछि अझ सक्रिय हुनुभयो ।
जनयुद्धले परिवारको खम्बा ढल्यो तर त्यहि जनयुद्धको परिवर्तनले स्थानीय तह बन्यो । त्यसपछि २०७४ सालमा स्थानीय तहमा निर्वाचन हुने माहोल सिर्जना भयो । स्थानीय तहको अध्यक्ष वा उपाध्यक्षमध्ये एउटा महिला अनिवार्य भएपछि अधिकारीको नाम चर्चामा आयो । उहाँ उपाध्यक्षको उमेद्वार बन्नुभयो । स्थानिय तहको निर्वाचनमा पाँचपोखरी थाङपालका जनताले उहाँलाई अत्याधिक मतका साथ उपाध्यक्षमा चुने ।
पालिका उपाध्यक्ष भएपछिका जिम्मेवारी
पालिका उपाध्यक्ष विभिन्न समितिको संयोजक हुने व्यवस्था छ । विशेषगरी न्यायिक समिति, राजस्व समिति, अपाङ्ग समिति, स्थानिय संघ संस्था र अनुगमन समितिको संयोजकको जिम्मेवारी समालेर काम गर्नुपर्छ । पालिकाको न्यायिक समितिको संयोजकमा एउटा महिला संयोजक हुँदा महिलाहरुले आफ्ना समस्याहरु सहज रुपमा राख्ने वातावरण बनेको उहाँ बताउनुहुन्छ ।
२० वर्षसम्म मिल्न नसकेका घरेलु हिंसा, अंशबन्डा जस्ता मुद्धा मामिलाहरु न्यायिक समितिमा आएका र मिलाउन पनि सकेकामा उहाँ गर्व गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,‘स्थानिय सरकार बनेको सुरुवाती दिनहरुमा घरेलु हिंसाका धेरै केसहरु आउने गरे पनि न्यायिक समितिले केस मिलाउने मात्र नभएर भविष्यमा त्यस्ता समस्या नदोहोरिउन भन्ने उद्देश्यले उचित परामर्श दिने गरेकाले अहिले त्यस्ता केसहरुको सङख्या कम हुँदै गएका छन् ।’
पालिका भित्रका अपाङ्ग व्यक्तिहरुको खोजी गरि लगत संकलन गरी अपाङ्गता कार्ड वितरण गर्ने काम भएको छ । साथै उहाँहरुलाई स्वाभलम्बी बनाउन तालिमको व्यवस्था गरेको र तालिमपछि उहाँहरुले निर्माण गरेका सामाग्रीहरु गाउँपालिकाले नै खरीद गर्ने व्यवस्था मिलाइएको छ । अपाङ्गभत्ताको वितरणलाई पनि सहज बनाएको उहाँले बताउनुभयो ।
पालिका भित्र जति पनि संघ संस्थाहरु कुनै पनि योजना लिएर आउने गर्छन् उनीहरुको कामको लागि स्वीकृतीदिनेदेखि कामको अनुगमन र आवश्यक परामर्शका काम पनि उपाध्यक्षकै संयोजकत्वमा हुने गर्दछ । उपाध्यक्षका लागि चुनौती नै अनुगमन समितिको प्रमुख हुनु हो । नेपालको सन्दर्भमा हेर्ने हो भने सायद कुनै पनि योजनाको काम सोंचे अनुसार हुन सकेको छैन ।
काम सोंचे अनुसार नहुदा र समयमा काम नहुदा अनुगमन समितिको संयोजकको हिसाबले काममा जोड दिदा कामदारहरु खुसि नभएको धेरै उदाहरण छन् । अनुगमनको क्रममा कामको प्रगति जति हुनुपर्ने त्यति नभएकाले योजना खारेज गरेर ४० देखि ४५ लाख रुपैयासम्म रकमको योजना खारेज सम्म गरिएको उहाँको पनि अनुभव छ । ‘कतिपय ठाउँमा पार्टीगत र नाताका कुरा पनि ल्याउन खोज्नुहुन्छ तर म जनप्रतिनिधि भएपछि कामलाई प्रमुख प्राथमिकता दिन्छु र दिदै आएको पनि छु ।’
महिलाको क्षेत्रमा गरेका काम
महिलाहरुलाई आत्मनिर्भर बनाउने सोंचका साथ पालिकाले सिपमुलक तालिमको व्यवस्था गर्यो । गलैचा बुन्ने र कृषि तालिममा महिलाहरुलाई सहभागी गराएका थियौ जसको मद्दतले गर्दा कतिपय महिलाहरु अहिले आफ्नो घरमा नै गलैचा बुनेर र कृषिफार्म खोलेर काम गर्नुभएको छ । यो देख्दा निक्कै खुसी लाग्छ, उपाध्यक्ष अधिकारी भन्नुहुन्छ । त्यसका लागि हामिले अनुदानको व्यवस्था समेत गरेकाले महिलाहरु आत्मनिर्भर बन्न सफल हुनुभएको हो ।
महिलाहरु आत्मनिर्भर भएकै कारणले गर्दा घरेलु हिंसामा पनि कमि ल्याएको छ । त्यसका साथै महिला नेतृत्व विकासका लागि आवश्यक तालिमको पनि व्यवस्था गरेका थियौ, जसको माध्यमले गर्दा महिलाहरु आफ्ना कुरा समाजमा राख्न सक्षम हुनु भएको छ । महिला स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न महिला स्वास्थ्य शिविरको पनि व्यवस्था गर्दै आएका छौ ।
अवसर पाएमा महिला सक्षम छन्
अध्यक्ष र उपाध्यक्षमा आफ्नो फरक फरक पदिय जिम्मेवारी हुन्छ । महिलाहरु पनि अवसर पाएमा जुनैपनि क्षेत्रमा काम गर्न सक्षम छन् भन्ने कुुरा बुझ्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । पहिला अवसरको कमिले गर्दा महिलाहरु पछि परेका रहेछन् । अवसर पाउने हो भने महिलाहरु सवै क्षेत्रमा आफ्नो दक्षता देखाएर काम गर्न सक्षम छन् ।ब












