Ad #144479

कबिता चापागाई

८ भदौ,  यो सम्झिने मन छ, म भुल्नु कसरी …..नारायण गोपालले स्वर दिएका यी शब्द जस्तै छ, शिवप्रसाद देवकोटाको जिन्दगी । तर प्रेम कहानी जोडिएर भने होइन, कथा ब्यथा जिन्दगीको भोगाईमा केन्द्रित छ । विगत सम्झनु या भुल्नु ! जिन्दगीका गोरेटो र घुम्तीहरु धेरै पार भैसकेका छन् । बलवान् समयले कोल्टे फेरिसकेको छ । मेहनत र परिश्रमले नै शिवप्रसाद देवकोटालाई आज यो ठाउँसम्म ल्याइपुर्याएको छ ।

नारायण गोपाल बन्न नसकेका देवकोटा

नारायण गोपाल बन्ने सपना बोकेर चितवनबाट काठमाण्डौ छिरेका शिवप्रसाद देवकोटा एक आँटिला र साहसी व्यक्तित्व हुनुहुन्छ । जिवनमा गर्न नहुने र नसकिने काम केहि पनि छैन भन्ने सिद्धान्त बोकेका उहाँले धेरै संर्घष र दुःख झेल्नुपर्यो ।

आफ्नो गायक बन्ने सपनालाई ओझेलमा पारेर बालबच्चा र घरपरिवारको लागि दिनरात नभनि घोट्रटीरहेका देवकोटाका आज तिम्ल्याहा छोरा नै डाक्टर छन् ।

उहाँ माउण्ट एभरेष्ट माध्यामिक विद्यालयको प्रध्यानाध्यापक समेत हुनुहुन्छ । ‘हिजोका दिनहरुमा पेटभरि खान पाइएन, उहाँ भन्नुहुन्छ,‘मेहनत र परिश्रमले भने कहिल्यै धोखा दिएन ।’

पारिवारीक अवस्था

शिवप्रसाद स्वर्गिय माता पिता वृहस्पति देवकोटा र सरस्वति देवकोटाका कोखबाट २०२४ साल कार्तिक १ गते कास्कीको लुम्लेमा जन्मिनुभयो । ठुलो परिवारमा जन्मिएका उहाँको दुई जना आमाहरु हुनुहुन्थ्यो । दुबै आमाहरुको सन्तान १० जना । जसमा देवकोटा जेठि आमा पट्टीको काँइला छोरा । एक जना बहिनीको निधन भइसकेको छ भने अरु सबै आ आफ्नो काममा व्यस्त हुनुहुन्छ ।

स्कुल र कलेजको यात्रा

जन्म कास्कीको लुम्लेमा भएपनि उहाँ चितवनमा हुर्कनुभयो । देवकोटाले स्कुलको पढाई चितवनबाटै पुरा गर्नुभएको हो । ४०/४५ वटा गाईभैसी चराएर, खेतबारीको काम गरेर, हलो जोतेर, जंगलबाट दाउरा घाँस काटेर पढनु पर्ने उबेलाको अबस्था अहिले झलझली छ ।

त्यस बेलाको समय निकै कष्टकर थियो । यसरी पढ्रदै गर्दा पनि पढाईमा पछि नपरेका उहाँले आज धेरै सफलता हासिल गर्नुभएको छ । स्कुलको पढाई सकेर कलेज पढ्न र नारायण गोपाल जस्तै बन्ने सपना बोकेर काठमाडौ आएका उहाँले दुःख बाहेक केहि पाउनुभएन । उहाँ भन्नुहुन्छ,‘जागिरको लागि भनेर कति ठाउँहरुमा भौतारीनु पर्यो, कतिलाई हारगुहार गर्नुपर्यो तर कसैबाट साथ र सहयोग मिलेन ।’

मध्यम परिवारमा जन्मिएको हुँदा र धेरै सन्तान भएको हँुदा त्यस समय बाबु आमालाई पढाउन निकै गाह्रो थियो । त्यहि भएर घरमा पैसा माग्न मनलागेन । जसोतसो गरेर पढाईलाई अगाढि बढाउँदै लगेका उहाँ भन्नुहुन्छ,‘त्यति खेरको मेहनतले गर्दा नै आज यहाँसम्म आइपुगेको हुँ ।’

पाहिला टेक्दै गर्दाको सांगितीक यात्रा

सानैदेखि संगितलाई आफ्नो सारथी सम्झिएका देवकोटाले गाईवस्तु चराउन होस् वा घासँदाउरा गर्न होस् सबै खाले काम गर्दा गुनगुनाउने गर्नुहुन्थ्यो । चितवनको स्कुलमा नेपाली पढाउने गुरु स्वर्गिय बालमुकुन्द पोख्रलले पढाउँदा किताबका लेखहरुलाई गितमै ढालेर गाउने गर्दा गुरु तथा अन्य साथिहरुले काठमाडौं गएर गायक बन्न सल्लाह दिन्थे ।

यसैक्रममा स्कुलको पढाई सक्काएर र सांगितीक यात्रालाई अघि बढाउने सपना बोकेर काठमाडौं आएका देवकोटाले परिवारबाट भन्नेजस्तो साथ पाउनुभएन । देवकोटाले एक समय रेडियो नेपालमा आफ्नो प्रणेता सम्झेका नारायण गोपालको गित रेकर्डिङ गरेको हेर्ने अवसर पाउनु भयो ।

गित रेकर्डिङ हुँदाखेरी उहाँ जस्तो चर्चित गायकले त एउटै गितलाई ८/९ पटक दोहो¥याउनु परेको उहाँले देख्नुभयो । त्यसबेला आफुले गाउन सक्दिन जस्तो अनुभव उहाँलाई भयो र त्यस समयमा एउटा गित गाएर जम्मा ४ सय ७५ रुपैयाँ पाइन्थ्यो ।

‘नारायण गोपालजस्तो चर्चित गायकले हप्तामा १/२ वटा गित पाउँथे भने भर्खर सांगितीक यात्रा सुरु गरेका व्यतिहरुको त कुरै भएन उहाँ विगत सम्झदै भन्नुहुन्छ,‘यसरी आफ्नो घर परिवार र बालबच्चा कसरी धान्न सकिन्छ भनेर त्यहाँबाट केहि समय शिक्षण पेशामा लाग्न बाध्य भए ।’

शिक्षण पेसा अङगालेपछि

आफ्नो सांगितीक यात्रालाइ पछाडि धकेलेर शिक्षण पेसालाई अङगाल्ने क्रममा देवकोटाका माइलो दाई जगनाथ देवकोटाले उहाँलाई धेरै सहयोग गर्नुभएको थियो । देवकोटा भन्नुहुन्छ,‘ आज म जहाँ छु, जे छु त्यो सबै मेरो दाईले गर्दा हो । उहाँको साथ नपाएको भए मलाई धेरै गाह्रो पथ्र्याे ।’

२०४१ सालबाट शिक्षण पेसामा लागेका देवकोटाले दक्षिण ढोका स्थित मनकामना उच्च माध्यामिक विद्यालयमा पढाउन थाल्नुभएको थियो । यसरी पढाउदै जाने क्रममा आफैले पनि एउटा विद्यालय स्थापना गर्ने इच्छा शक्ति जाग्यो र २०५२ सालमा माउण्ट एभरेष्ट स्कुलको स्थापना भयो ।

जसमा माइलो दाई जगनाथ देवकोटा, जया मल्टिपल कलेजका प्रध्यानाध्यापक भवानीप्रसाद पौडेल र देवकोटाकी श्रीमती शकुन्तला देवकोटाले धेरै सहयोग गर्नुभएको थियो । हालसम्म देवकोटा आफ्नै विद्यालयमा कार्यरत हुनुहुन्छ ।

तिम्ल्याहा छोराहरु जन्माउदाको समय

२०४६ सालमा जेठो छोराको जन्म भएपछि परिवारमा बेग्लै खुसियाली छायो । अनि देवकोटाको जिम्मेवारी पनि बढ्दै गयो । छोरालाई बढाउने, पढाउनेमै श्रीमतीको समय बिते । देवकोटा एक्लैले हरेक काम गर्नुपर्ने भयो । बाल्यकालदेखि नै संर्घष गर्दै आएका देवकोटाका दुःखका पहाड सकिएनन् बरु थपिदै गए ।

फेरी नयाँ सन्तानको रहर भयो । र श्रीमति ४ महिनाको गर्भवती भएपछि एक्कासि उहाँमा समस्या आयो । टिचिङ अस्पताल पु¥याएपछि डाक्टर सानोमाया डलीले उहाँको भिडियो एक्सरे गर्नुभयो । डाक्टरले गर्भमा तीनवटा सन्तान भएको बताए । देवकोटा भन्नुहुन्छ,‘हामीले छोरा भएनी, छोरी भएनी एउटा सन्तान जन्माउने चाहना राखेका थियौ, तर एकै पटक तीन वटा सन्तान भएको सुन्दा डर, पिडा र छटपटी सुरु भयो ।’

अब कसरी हुर्काउने, पढाउने,बढाउने भनेरसोंचहरु पनि आए ।कतै हामीले गर्भपतन पो गर्नुपर्ने होकी भनेर धेरै डाक्टरहरुसँग पनि सल्लाह भयो र सल्लाह गर्भपतन गर्ने पनि पाएका थियौ । तर पछि बच्चाहरु जन्माउने निर्णय भयो । छोरी भयो भने तिन वटा ज्वाँई हुन्छन् र छोरा भए तिन वटा बुहारी हुन्छन्भन्ने निर्णयमा पुग्यौ ।’

त्यसपछि २०४८ साल असोज ५ गते तिम्ल्याहा छोराहरुको जन्मभयो । त्यस समयमा देवकोटा अस्पतालमा हुनुहुन्थेन । खाना लिन घर आउनु भएको थियो । त्यो समय अहिलेको जस्तो सुविधा फोन र गाडीको सहज सुविधा थिएन । उहा अस्पतालदेखि घर सम्म साईकल चढेर जाने आउने गर्नुहुन्थ्यो ।

यहि समयमा बच्चाहरु जन्मिए र अस्पताल जाँदा सबैले हेर्ने, एकआपसमा कुरा गर्ने गर्न थाले । त्यसपछि उहाँलाई डर जाग्यो र आत्तिएर श्रीमतिसँग पुग्नुभयो । देवकोटा भन्नुहुन्छ,‘तीनवटा बच्चा रोइरहेको सुन्दा र देख्दा खुसिको सिमा नै रहेन ।’

पढाइमै व्यस्त देवकोटाका जेठो छोरा सौरभ

जेठो छोरा सौरभ देवकोटा हाल आफ्नो पढाईलाइ निरन्तरता दिरहनुभएको छ । उहाँले मास्टर सिध्याएर अहिले पिएचडी गर्न तर्फ लागिरहनु भएको छ । बैङक (बैङक अफ काठमाडौ) मा¬ काम गर्दै आउनु भएको उहाले आफ्नो पढाइकै लागि भनेर जागिर समेत छाड्नुभएको हो । अब पढाई पश्चात शिक्षण पेसामै आबद्ध रहने र केही समय देश बाहिर बस्ने उहाँको विचार रहेको छ ।

तिम्ल्याहा छोराहरुलाइ डाक्टर पढाउदाको संघर्ष

जन्मदिए पछि कर्म पनि राम्रो दिनुपर्छ । आम अभिभावको जस्तै सोंच उहाँमा पनि थियो । देवकोटाले छोराहरुलाई बढाउने,पढाउने र हुर्काउने कुराहरुमा विशेष ध्यान दिनुभयो । यस बेलामा देवकोटाले आफ्ना कतिपय इच्छा चाहनाहरुलाइ त्याग्नुप¥र्याे । छोराहरुको भविष्यलाई लिएर दिन रात नभनी लागिपरेका देवकोटा छोराहरुकै भविष्य बनाउन विहान ५ बजेदेखि बेलुका १० बजेसम्म काम गर्नुहुन्थ्यो । जसले गर्दा आज उहाँको खुट्रटाका आंैलाहरु नचल्ने भएर जुत्ता लगाउन समेत मिल्दैन ।

आफ्नै स्कुल माउण्ट एभरेष्टमा पढेका तीन छोराहरु सौगात, सौजन र सौरज देवकोटा पढाईमा अब्बल भएका हुनाले एसएलसीमा सर्बोत्कृष्ट भए । यो देवकोटाका लागि खुसिको कुरा त छदैथियो । अब के पढाउने कसरी पढाउने भन्ने अर्काे समस्या थियो ।

थानकोटको डाडाँमा प्लेन दुर्घटना भएको र जाजरकोटमा झाडापखालाले झण्डै ५ सय नागरिकको ज्यान गएका घटनाले छोराहरुलाई डाक्टर नै बनाउने निर्णयमा पुग्नुभयो । जेहेन्दार तीन वटै छोराहरुले सेन्जेभियरमा नाम निकाल्न सफल भए । देवकोटा अहिले पनि सम्झनुहुन्छ,‘सबै आफन्तले पढाउन सक्दैनौ नपढाउँ भनेर सल्लाह दिएका थिए,केहिले कसरी पढाउलास् हेरौला भन्नेहरु पनि थिए, तर कसैको आवाजले कान खाएन ।

आफ्नै निर्णयले छोराहरुलाई डाक्टर पढाउने निर्णय गरे ।’ छोराहरुलाई डाक्टर पढाउन एभरेष्ट बैंक चाबहिल शाखाले ९७ लाख ऋण दिएको थियो, त्यो ऋण आजसम्म तिर्दैछु । भगवान्ले भन्छन् रे, त आँट म पु¥याउँछुयसै भनाइहरुलाई लिएर अघि बढ्दा असफल भने हुनुपरेन । अहिले तीनवटा छोराहरु मध्ये दुई जना सौगात र सौरज देवकोटा अत्तरखेल मेडिकल कलेजमा आबद्ध हुनुहुन्छ भने सौजन देवकोटा अमेरीकामा हुनुहन्छ ।

भगवान प्रतिको आस्था

ब्राह्मण परिवारमा जन्मिएता पनि पहिले भगवानप्रति कुनै आस्था नबोकेका शिवप्रसाद देवकोटा अहिले शिवको नै भक्त हुनुहुन्छ । पहिला जनै नलगाउने, माछा मासु खाने, धर्म प्रति ध्यान नै नजाने गरेको उहाँ आज धर्मको बारेमा ज्ञान दिनुहुन्छ । जेठो छोरा जन्मिएपछि धर्म प्रति आस्था जागेको उहाँ बताउनुहुन्छ ।

अहिले विश्वलाई नै तहसनहस बनाएको कोरोना भाइरसले गर्दा देवकोटा केहि फुर्सदीलो हुनुहुन्छ । स्कुल बन्द छ । अभिभावक र विद्यार्थीहरु सँग फोन मार्फत् समन्वय गर्ने कार्य हुन्छ । त्यसपछिको बाँकी समय गित संगितमा व्यस्त ।

देवकोटा पुन सांगितीक क्षेत्रमा फर्कनुभएको छ । साउन महिना शिव भगवानको महिना भएकोले शिव भजन सार्वजनिक गर्नुभएको छ । साउन महिना भरि केहि पनि नखाई ( माछा,मासु ,अण्डा ) बसेका उहाँले शिव भजन सार्वजनिक गर्नुभएको हो । देश, काल र परिस्थिति अनुसार सांगितीक क्षेत्रमा कलम चलाएका देवकोटाले यस भन्दा पहिले दरबार हत्याकाण्ड मदन भण्डारीको मृत्युको विषयलाई लिएर गित गाउनुभएको थियो ।

प्रधानमन्त्रि केपि शर्मा ओलीले कालापानी लिपुलेक हाम्रो हो भनेपछियो विषयलाई समेटेर पनि गित सार्वजनिक गर्नुभएको छ । त्यस गितलाई धेरै स्रोताहरुले मन पराएका छन् । देवकोटाका गितमा आफुनै तिम्ल्याहा छोराहरुले भिडियोमा खेलेका पनि छन् । हाल सम्म ३३ वटा गित सार्वजनिक भइसकेको छ । उहाँ भन्नुहुन्छ,‘यस क्षेत्रमा दाम कमाउने भन्दा पनि नाम कमाउने ठुलो इच्छा छ ।’

दुई कुरामा पछि परेका देवकोटा

सन्तान जन्मिएपछि सबै कुराहरुमा सफलता प्राप्त गरेको जस्तो लागेपनि दुई वटा कुरामा पछि परेको उहाँ आफैले सुनाउनुहुन्छ । २०७२ साल वैशाख १२ गतेको विनासकारी भुकम्पले विद्यालय भवनमा क्षति गर्यो । एक्लैको लगानी भएको हँुदा स्कुलमा मर्मतगर्न जुन खर्च लाग्यो त्यो खर्च आजसम्म पनि तिर्न नसकेको उहाँ बताउनुहुन्छ ।

अर्काे तिम्ल्याहा सन्तानको गिनिज बुक वल्ड रेकर्डमा नाम लेखाउने इच्छा थियो । त्यसमा अहिलेसम्म सफल हुन नसकेको तर प्रयास जारी नै रहेको देवकोटा बताउनुहुन्छ ।

दुख र खुसीका एक पल

२०५२ साल को अन्तिम तिर घरमा टेलिभिजन नभएर आफ्ना छोराहरु छिमेकीकोे घरमा टिभी हेर्न जाने गर्थे त्यो पल एकदमै दुखी हुने गरेको अनि २०७२ साल बैशाखमा तिम्ल्याहा छोराहरु एमबिबिएस अन्तिम वर्षको नतिजामा पास भएको दिन सबै भन्दा खुसिको क्षण बनेको देवकोटा सुनाउनुहुन्छ ।

अबका बाँकी योजना

अबको एउटा योजना सांगितिक क्षेत्रलाई अघि बढाउने छ । अनि सामाजिक, धार्मिक क्षेत्रमा लाग्ने र आफ्नो शिक्षण पेसालाई मर्यादित बनाउदै असल विद्यार्थीको उत्पादन गर्ने रहेको देवकोटा बताउनुहुन्छ ।

आफ्ना छोराहरुको पढाई सकिएर सबै व्यवस्थित भइसकेपछि अति दुर्गम भेगमा गएर निःशुल्क सेवा गर्ने उहाँको चाहना छ । उहाँ भन्नुहुन्छ,‘रोगभोकले अकालमा र अभावमा कसैले पनि मर्न नपरोस् ।’