एसियाकै पहिलो निर्णायक : तेक्वान्दोका गुरु अशोक खड्का

कबिता चापागाई

साउन २४ । काठमाण्डौ कागेश्वरीका अशोक खड्का भर्चुअल अन्तराष्ट्रिय तेक्वान्दोमा एसियाकै पहिलो निर्णायक बन्नुभएको छ । यो सफलताका पछाडी उहाँको अथकप्रयास र परिवारको साथ महत्वपूर्ण छ । खड्का १० वर्षकै उमेरमा ब्ल्याक वेल्ट पाउने खेलाडी समेत हुनुहुन्छ । त्यति मात्र उहाँको सफलतामा सिमित रहेन । १२ वर्षकै उमेरमा उहाँ तेक्वान्दोको गुरु बन्नुभयो । सानै उमेरमा खेल प्रतिको रुचीले उहाँलाई यो सफलता दिलाएको हो ।

काठमाडौं तेक्वान्दो संघको जिम्मेवारी

खड्काले हालै काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनै विधाका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ । उँहा प्रशिक्षक र निर्णायकका रुपमा बढी व्यस्त हुनुहुन्छ । खड्काले डाँछीमा नेप्लिज तेक्वान्दो एकेडेमी पनि सञ्चालन गर्दै आउनुभएको छ । यस एकेडेमीमा उँहाले आर्थिक अवस्था कमजोर भएका १५ जनालाई निःशुल्क प्रशिक्षण गराउदै आउनुभएको छ ।

तेक्वान्दोमा लाग्दै गर्दाका पाईला

कागेश्वरी मनोहरा नगरपालिका आलापोट २ मा मध्यम परिवारमा जन्मिएका खड्का कान्छो हुनुहुन्छ । परिवारका पाँच सदस्यमध्ये बुवा र दाई ठेकेदारी काम गर्नुहुन्छ । आमा घरायसी काममा व्यस्त रहनुहुन्छ । एउटा दिदी घरबारे हुनुहुन्छ ।

सानैमा आमाको हात समाएर हिँड्दै गर्दा सेतो लुगा लगाएर हिडेका बच्चा देखेर उहाँमा उत्सुकता जाग्यो । अनि यो खेलप्रतिको पाईला सुरु भयो । यो उत्सुकता र सेतो लुगाको आकर्षणले तेक्वान्दोमा रुची जगायो । र म पनि यहि लुगा लगाएर खेल्न जान्छु भन्ने उ बेलाको सोंचले आमालाई लुगा किनिदिन लगाएको र आमाले तेक्वान्दो कक्षामा पठाउनु भएको खड्का सम्झनुहुन्छ ।

उहाँको तेक्वान्दोमा लगाव यति धेरै थियो की, खेल्दा जहिले पनि डबल प्रमोसन पाउनुहुन्थ्यो । अनि थुप्रै मेडल पनि जितिसक्नुभएको छ । त्यहि रुची, लगाव र मेहनतले खरिएका खड्का तेक्वान्दोमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा परिचित समेत हुनुहुन्छ ।

परिवारको साथ र छोडेको सेनाको जागिर

अशोक खड्का भन्नुहुन्छ, आज म जहाँ आइपुगेको छु त्यो सबै परिवारको साथ र सहयोगले गर्दा नै हो । मेरो खुसी नै परिवारको खुसीभएको छ । नेपालि सेनाको सहायक सेनानीको जागिर छोडेर खेल जिवनलाई निरन्तर दिएको खड्का बताउनुहुन्छ । खेलप्रतिको मोहले जागिर त्यागेको, परिवारलाई समय दिन नसकेको तर आफ्नो परिवारबाट कुनै गुनासो सुन्नु र भोग्नु नपरेकोमा उहाँ खुसी हुनुहुन्छ ।

उहाँ सँगैको साथी विकास मल्ल सेनाका मेजर भइसकेका छन् । खड्का भन्नुहुन्छ, आर्मिको जागिर छाडेर पछुतो छैन, तेक्वान्दोको अन्तराष्ट्रिय निर्णायक बन्न सफल भएको छु । यसैमा गर्व गर्नुपर्छ । यो सफलतामा परिवारको साथ, सहयोग र हौसलालाई बिर्सनु हुँदैन ।

खेलमा लागेपछिको यात्रा

२०५० सालदेखि तेक्वान्दोमा सर्मपित खड्काले अहिले पनि यसैलाई निरन्तरता दिनुभएको छ । राष्ट्रिय टिममा छनोट भएपछि पढाई छाड्नुपर्यो । उहाँ भन्नुहुन्छ, मलाई पढाईले भन्दापनि खेलले नै अगाडि बढायो, मेरो बाल्यकालदेखिको सपना पुरा भएको छ । तर बितेका २७ वर्षका उतारचढाव भने निक्कै धेरै छन् ।

कहिले पैसा नै भएन । आफ्नो मोटरसाइकल बेचेरै समस्या टार्नुपर्यो । जिवन नै खेलमा जोडिएकाले मोटरसाइकल ठुलो विषय नै बनेन । बाधा अवरोध हटाउँदै र टार्दै अगाडी बढेकै कारण अहिले प्रगतिका पाईला र चिन्हहरु घरमा अटाई नअटाई छन् । तेक्वान्दोका पाचौँ डन ब्ल्याक बेल्ट रहेका उहाँले सन् २०१३ मा कोरियाबाट अन्तराष्ट्रिय प्रशिक्षकको कोर्स गर्नुभएको हो । खड्काले विश्वको ३४ वटा भन्दा बढि देशहरुमा खेल खेलिसक्नु भएको छ ।

आफुले पाएको अवसर गुमाउनुको पिडा

श्रीलंकामा भएको १०औँ दक्षिण एसियाली खेलकुदमा छनोट भएपनि सागमा खेल्न नपाउदा मन सारै रोएको खड्का अहिले पनि सम्झनुहुन्छ । प्रशिक्षणका क्रममा उहाँको खुट्टा भाँच्चिएको थियो । त्यस समयमा उहाँ डिप्रेशनमा समेत पुग्नुभएको थियो । त्यस बेलाउहाँ २३ वर्षको हुनुन्थ्यो । २३ वर्षकै उमेरमा उहाँको खुटटाको शल्यक्रिया १४ पटक भैसकेको थियो । उपचारमा झैझमेला खेप्नुपरेको थियो ।

सरकारबाट पनि कुनै सहयोग नपाउँदाउपचारमा कठिनाई थियो । तर विभिन्न दवाव पछि उपचार समिति गठन भयो र उहाँको उपचार गरिएको हो । १३ महिना सम्म अस्पतालको बेडमा सुत्नु पर्दाको पिडा उहाँको बिर्सन नसक्ने क्षण बनेको छ । उहाँको खेलप्रतिको मोहले गर्दा अस्पतालमा रहदा पनिविभिन्न माध्यमबाट प्रशिक्षार्थिहरुलाई प्रशिक्षण गराईराख्नु भएको थियो ।

अस्पताल पछि…

तिन वटा विधा (गेरोगी, पुम्से र पारा) मा खेलने उहाँ अस्पतालको बसाई पछि गेरोगी विधा खेल्न नसक्ने हुनुभयो । फाईट गर्न नसक्ने भएपछि पुम्से (प्रदर्शन) मा मात्रै भाग लिन थाल्नुभयो । अस्पताल पछिको पहिलो खेल धनगढीमा भएको छैटौ राष्ट्रिय खेलकुद रहेको थियो । त्यस खेलको पुम्से विधामा स्वर्ण पदक जित्नुभयो । त्यसपछि उहाँले कोरियन एम्बासेडर कपमा रजत पदक, अस्ट्रेलियन गोल्ड कोस्ट ओपन, थाइल्यान्डमा भएको च्याम्पियनसिप तेस्रो हिरोज, कोरियामा भएको आठौ विश्व एक्सपोमा स्वर्ण पदक प्राप्त गर्नुभयो ।

लखनउमा भएको खेलमा खेल्दै जादाआफुले आठ शुन्यले हराईरहेको बेला फेरी त्यही ठाउँमा लागेर खुटटा भँचियो तर पनि आफ्नो खुटटा घिर्सादै खेलिनै रहे पछि सफलता हासिल भयो, उपचार पछि भयो । उहाँको त्यो खेल धेरै नै उत्कृष्ट रह््यो ।

अन्र्तराष्ट्रिय निर्णायक बन्न गरेको संर्घष

सन् २०१८ मा मुम्बाईमा उहाँले गेरोगी र पुम्सेका परीक्षा एकैपटक पास गर्नुभयो । यो नेपालका लागि गौरवको कुरा थियो । यीदुई वटै विधामा पास गर्ने एक्लो पहिलो तेक्वान्दो निर्णायक नेपालीले पाएको थियो । साथै त्यहि पुम्से विधामा उहाँ उत्कृष्ट निर्णायक पनि घोषित हुनुभयो । सन् २०१८ मा अष्ट्रेलियामा पारा कोर्स गरेर अन्र्तराष्टिय निर्णायक बन्न योग्य हुनुभयो । खड्काले अहिले पनि निर्णायकका साथ साथै रेफ्रीको भुमिका निभाउदै आउनुभएको छ ।

तेक्वान्दोमा खड्काले पुर्याएको योगदान

अशोक खड्काले तेक्वान्दोलाई नै आफ्नो कर्म बनाउनुभएको छ । उहाँले यौन हिंसामा परेका नानिहरुलाई ४ वर्ष निशुल्क तेक्वान्दो सिकाउनुभएको छ । काठमाण्डौको डाछिँमा तेक्वान्दो कै पहिलो एकेडेमी खोलेर त्यहाँबाट राम्रा खेलाडि निस्केका छन भने सञ्जु शाही र अस्मिता नगरकोटि जस्ता थुप्रै खेलाडिहरुले देश बाहिर स्वर्ण जित्न सफल भइसकेका छन् ।

खड्काले मुलपानीको डोजाङबाट एसियन गेम खेल्ने खेलाडी पनि उत्पादन गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, तेक्वान्दो सिक्छु भन्नेको लागि म जहिले पनि मन, तन, धन लगाएर सहयोग गर्नेछु । उहाँले हाल ३ वटा स्कुल, ३ वटा अनाथ आश्रम, रक्षा नेपाल तथा विभिन्न आर्मी सैनिकहरुलाई पनि सिकाउदै आउनु भएको छ ।

खेलाडिका साथै सामाजिक कार्य

खड्का सामाजिक संघसंस्थामा पनि आवद्ध हुनुहुन्छ । उहाँले युएस वेष्ट कोष्ट तेक्वान्दो सघं, पोर्टल्यान्ड अमेरिकाको तत्वाधान तथा दान अमेरिकन तेक्वान्दो युनियन पोर्टल्यान्डको आयोजनाबाट संकलित रकम कोरोना भाइरसबाट अति प्रभावित ठाउँमा सहयोग गर्ने, विभिन्न अनाथालयमा रहेका खेलाडिलाई सहयोग गर्ने र आफुले पाएको पारिश्रमिकबाट पनि कटाएर अति दुख पाएकालाई सहयोग गर्दै आईरहनु भएको छ ।

उहाँले मानिसलाई मात्र नभएर कोरोनाको महामारीमा पशुपतिको बाँदर, गाईवस्तुलाई पनि खान दिनुभएको थियो । यसअघि भुकम्प गएको बेलामा पनि उहाँले राहत वितरण गर्नुभएको थियो ।

अबका योजना र मुख्य उदेश्य

सानोमा आफूले खेल्दा दुख थियो । दुख र अभावका बिच निरन्तरको प्रयासले सफताका सिँढी चढ्न सफल उहाँले तेक्वान्दो सिक्छु भनेर इच्छा राख्ने जो कसैलाई सहयोग गर्ने बताउनुहुन्छ । कसैले पनि अभावमा खेल्न नपरोस् भन्ने उद्देश्यले तेक्वान्दो होष्टेलको व्यवास्था गर्ने उहाँको अबको योजना र उद्देश्य रहेको छ ।

ओलम्पीकमा आफुले खेल्न नपाए पनि त्यहाँ निर्णायक भएर खेलाउने इच्छा रहेको र सरकारले पनि यस खेललाई अरु खेललाई जस्तै ध्यान दिएर सहयोग गरेमा नेपालका थुप्रै खेलाडीहरुले नेपाललाई विश्वमा चिनाउन सक्ने उहाँको विश्वास छ ।

[sidebar name="button post"]