सुदन खड्का : छमछमीबाट उदाएका जादुयी ‘डान्सर’ !

अनिता धिताल ।

१७ साउन, काठमाडौं । नेपाल टेलिभिजनको रियालिटी शो छमछमीको चौथो सिजनमा सुदन खड्काको नृत्य देखेर अभिनेत्री मिथिला शर्माका आखाबाट आशु झरे । सुदनले मञ्चमा जादुमयी नृत्य देखाउँदा मिथिलाले आफूलाई सम्हाल्नै सकिनन् ।

सुदनले मञ्चमा नृत्य गरिरहदा मिथिला भने निर्णायकको कुर्सीबाट उठेर नेपत्थ्यमा गइन् । जहाँ उनले आफ्नो बाल्यकाल मात्रै होइन, आमाप्रतिको त्यो अमूल्य माया सम्झेर आफूलाई सम्हाल्ने प्रयास गरिन ।

सुदनले मिथिला शर्मासँगै अर्की अभिनेत्री सञ्चिता लुइँटेलको पनि मन जिते । सुदनको नृत्य हेरेपछि सञ्चिताको आँखाका चेपबाट पनि टिलपिल आँशु निस्किए ।

‘मलाई माफ गरिदेउ आमा’ गीतमा जीवन्त नृत्य गरेका सुदनको प्रस्तुती हेरेर मिथिलाले आफूलाई सम्हाल्ने प्रयास नगरेकी होइनन् । तर रुमालले पुछ्दा पनि आँशु झर्न नरोकिएपछि उनले अन्ततः निर्णायकको कुर्सी छाडेर नेपत्थ्यमा आफूलाई सम्हाल्नु पर्यो ।

सुदन यसरी नाच्छन, जो गीतमा आफ्नो शरीर मात्रै नचाउँदैनन्, गीतका पुरै भावमा आफूलाई डुबाउँछन । उनको त्यही जीवन्त नृत्यले दर्शक मात्रै होइन, निर्णायक नै भावुक हुन पुग्छन । सुदनको भित्री रहस्य नै यही हो, उनी मात्रै नाच्दैनन्, जो कोहीलाई नाचेर मन्त्रमुग्ध पार्छन ।

आउट भएपनि बदलियो परिवारको सोच

सुदनको नृत्य देखेर भावुक भएका निर्णायक उनलाई प्रतियोगिताकै अब्बल स्थान दिन चाहन्थे । तर हरेक श्रृङ्खलामा राम्रो नृत्य गरेपनि उनलाई सतप्रतिशत आफू अघिल्लो चरणमा जान्छु भन्ने विश्वास थिएन । कारण, भोट थियो ।

दर्शकले भोट दिएपछि मात्रै अघिल्लो चरण पुग्ने सिस्टमका कारण उनी हरेक श्रृङ्खलामा डराइरहन्थे । जति राम्रो नाचेपनि, निर्णायकले नृत्यको जति नै तारिफ गरेपनि दर्शकबाट भोट नपाउँदा आफू ‘आउट’ हुन्छु की भन्ने डर सुदनको मनमा रहिरन्थ्यो ।

तर उनको डर उनकै दिनरातको मेहनतले जित्यो । मञ्चमा जादुमयी नृत्य देखाए । तर पनि उनले सोचेको स्थान पाउन भने सकेनन् । निर्णाकको तारिफ बटुलेपनि सबै दर्शकको भोट पाउन् सकेनन् । जसकारण उनी छमछमी रियालिटी शो को पाँचौ चरणमा पुगेपनि विजयी बन्न सकेनन् ।

‘मलाई हरेक एपिसोडमा आउट हुने डर हुन्थ्यो । किनकी राम्रो नाचले दर्शकको भोटले अघिल्लो चरणमा जानेको टुंगो लाग्थ्यो’ एक बर्ष अघि छमछमी रियालिटी शोमा आफ्नो संघर्ष सम्झिदै सुदन भन्छन, ‘डरैडरमा निर्णायकसँगै केही दर्शकको माया त पाए । तर सोचेजस्तो प्रतियोगिताकै विजयी बन्न भने सकिन ।’

छमछमीको पाँचौ चरणमा पुगेर आउट भएका सुदनले केही दर्शकको भोट नपाउँदा फाइनल पुग्न सकेनन् । प्रतियोगिता जित्न सकेनन् । तर धेरैको मन जिते । त्यो भन्दा ठूलो कुरा उनले आफ्नै घरपरिवारको मन जिते हिजोका दिनमा छोरा लुकीलुकी नृत्य गरेको देख्न नरुचाउने आमा बुवा छमछमीमा भाग लिएपछि भने प्रोत्साहन गर्न थाले । उनलाई घरपरिवारबाट सबैभन्दा ठूलो सहयोग नै यही लाग्छ ।

अहिले विजेताको जस्तो व्यस्तता नभएपनि खाली बस्नु परेको छैन । अरुको भर पर्नु परेको छैन । कसैसँग काम खोज्न पनि जानु परेका छैन् । उल्टै अरुलाई काम दिन सक्ने गरी आफ्नै स्टुडियो खोल्न सफल भएका छन । यसले उनलाई मात्रै होइन, घरपरिवारका आमा, बुवा, दिदीलाई पनि गौरवान्वित तुल्याएको छ ।

जो शुरुमा नृत्यप्रति बेवास्ता राखेकै थिए । सुदनको रुचिलाई बेकामे ठान्थे । पढाई र राम्रो जागिरलाई प्राथमिकता राखेर अध्ययन पूरा गर्नमै जोड दिन्थे । तर सुदनले छमछमीमा आफूभित्रको प्रतिभा देखाएपछि अहिले घरपरिवारको सोच बदलिएको छ । सुदनको खुशी र रोजाईलाई साथ सहयोग दिन थालेका छन् । आमा, बुवाकै साथ सहयोगबाट सुदनले अरुलाई नृत्य सिकाउने स्टुडियो खोल्न सफल भएका हुन् ।

युट्युब हेरेर नृत्य सिकाई !

सुदन काठमाडौकै रैथाने हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदी सुवेदी टोलमा जन्मे हुर्केका हुन् । मध्यमवर्गीय परिवारमा जन्मेका उनी ठूलो सपना राख्दैनथे । आफूले सोचेको पूरा गर्ने स्वभावका थिए ।

बाल्यकालदेखि नै नृत्यमा रुची राख्ने खडकाले ८ कक्षाबाटै नृत्य गर्न शुरु गरेका हुन् । युट्युबमा हेरेर नृत्य गर्ने उनी आफू सिक्ने मात्रै होइन्, अरुलाई सिकाउने पनि गर्थे । यो उनको बाल्यकालदेखिकै शोख हो । जसले उनलाई नृत्य गर्न मात्रै होइन्, अरुलाई सिकाउने पनि बनायो ।

शुरुमा कसैबाट प्रशिक्षण नलिएका सुदनले युट्युबकै माध्यमबाट नृत्यका विभिन्न स्टेपहरु सिके । नयाँ नयाँ नृत्यको रिहर्सल गरे । यसले उनलाई अरुभन्दा एक कदम अगाडी जान सिकायो । जसले गर्दा उनी विभिन्न प्रतियोगितामा अब्बल प्रतियोगीका रुपमा सहभागि हुन पाए ।

‘लेट्मी डान्स’बाट थालेको यात्रा

खडकाले पहिलो पटक नृत्य गरेको रियालिटि सो ‘लेटमी डान्स’ थियो । २०७३ सालमा ‘लेटमी डान्स’मा सहभागी हूदा उनको डान्स निखारिएको थिएन । तैपनि उनको लगाबले सुदनलाई सेमिफाइनलसम्म पूर्यायो । सेमिफाइनलबाट उनी आउट भएपनि यसलाई उनले सफलताकै रुपमा लिएका छन् ।

‘बल्ल बल्ल सेमिफाइनलसम्म पुगेको थिए । त्यसपछि भने अगाडी बढ्न सकिन’ नृत्य करियरको विगत सम्झिदै सुदन भन्छन, ‘त्यो बेला छुट्टै रमाईलो थियो । अहिले सोच्दा पनि अर्कै फिल हुन्छ । साच्चै जोखिम मोलेर, आफ्नो रहर पुरा गर्न हिडेको यात्रा जस्तो लाग्छ । सेमीफाइनलबाट आउट भएपछि त्यो एककिसीमको सफलता नै थियो ।’

यस प्रतियोगितापछि उनी नृत्यमा झन मोहित भए । अब नृत्यलाई नै करियर बनाउने सोच बनाए । अहिले स्नातक दोस्रो बर्षमा अध्ययन गर्ने सुदनको सपना पनि अब ठूलो छैन् । नृत्य अझै धेरै सिक्ने, अरुलाई सिकाउने, ठूल्ठूला रियालिटी शोमा सहभागि हुने र यसलाई नै करियर बनाउने ।

अध्ययनका हिसाबमा उनले समाजसेवा विषय बढ्दै छन । स्नात्तक तहमा अध्ययन गरिरहदा उनी आफ्नै कलाबाट चर्चित बन्न चाहन्छन् । कलाको विस्तृत रुपमा आफूलाई उभ्याउन चाहन्छन् । मानिसभित्र लुकेको प्रतिभा उजागर गरेर समाजलाई कलाकृत बनाउन चाहन्छन् ।

यो विषय पढ्दा पनि आफ्नो नृत्य करियरलाई कुनै असर नगर्ने उनको बुझाई छ । पूरापूर नभएपनि केही अंश अध्ययनले पनि एउटा कलाकारको जीवनमा परिवर्तन ल्याउने सघाउने उनको अपेच्छा ।

राती काम, दिउँसो नृत्य !

हिजोका दिनमा कसैले नचिन्ने सुदन अहिले साथीहरुमाझमा परिचित छन् । भर्खर नृत्य सिकेकाहरु उनलाई गुरु भनेर बोलाउँछन । नयाँ नृत्यको शोख राख्नेहरुका लागि उनी प्रेरणाका पात्र बन्न चाहन्छन् । तर यी सबै प्राप्तीका लागि उनले कुनैबेला रातदिन नभनी काम गर्नुपथ्र्यो ।

यसका लागि उनी राती राती काम गर्थे । दिउँसो नृत्य सिक्थे । पुस्तक पसलका लागि चाहिने सामान वितरण गर्ने ‘होलसेल’ पसलमा काम गरेर उनी आफ्नो सपना पूरा गर्न तल्लीन थिए । खासगरी राती काम गरेको पैसाले उनी दिनमा नृत्य सिक्थे ।

पैसाको साह्रै अभाव भएपछि उनी त्यसरी काम गर्न बाध्य थिए । खासगरी घरमा शुरु शुरुमा सहयोग नपाउँदा, नृत्य सिक्ने उनको योजनामा ा आमाबुवाबाट आर्थिक सहयोग नहुँदा उनी यसरी काम गर्थे । तर पछि उनले छिमेकी दाईको सहयोगबाट नृत्य सिक्न थाले । त्यसपछि आमाले पनि सहयोग दिन थालिन् ।

बसुन्धारामा केही महिना नृत्य सिकेपछि उनी विभिन्न प्रतियोगितामा भाग लिन सक्ने भएका हुन । जुन यात्रा उनको अहिले पनि चलिरहेकै छ । यसका पछाडी छिमेकी दाजुभाई, आमा बुवाको सहयोग रहेको पनि उनको धारणा छ । ‘शुरु शुरुमा त कसैले पनि साथ सहयोग दिएन भन्दा हुन्छ ।

तर मैले मेरो रुचि र शोखको विषयलाई छाड्नुको साटो झन झन् महत्व दिए । मेहनत गरे’ आफ्नो संघर्षबारे सुदन अगाडी भन्छन, ‘शुरुमा छिमेकको दाईले केही पैसा दिनुभयो । पछि नृत्य कक्षाको भर्ना गर्न आमाले नै केहि पैसा दिनुभएको थियो । घरपरिवारबाट पछि सहयोग हुन थालेपछि मेरो यात्रा अघि बढेको हो ।’

छमछमी सिजन ४ को पाँचौ चरणबाट उनी आउट भएपनि धेरैमाझ चर्चित बनायो । केही गर्न हौसला दिलायो । छमछमीकै कारण उनले अरु फरक प्रतियोगितामा पनि राम्रो सफलता पाए ।

‘भ्यालेनटाईन डान्स प्रतियोगिता र लकडाउनमा अनलाईन डान्स प्रतियोगिताको विजेता बन्न पनि सफल रहे । यस्ता विभिन्न संघर्षबाट उनले आफ्नै ‘ विङस डान्स स्टुडियो’ खोल्न सफल भएका छन् । केही साथीहरुको सहयोगमा आफ्नै डान्स स्टुडियो खोलेपछि उनी आफू सन्तुष्ट देखिन्छन् ।

सन्तुष्टि छ, आम्दानी छैन् !

नृत्यलाई नै केन्द्रबिन्दुमा राखेर अगाडी बढेका सुदन अहिले फुर्सदमा छैनन् । तर यसबाट उनको व्यस्तता जति आम्दानी भने छैन् । खर्चको हिसाब गर्दा उनले झण्डै एक लाख जति स्टुडियो बनाउनै खर्च गरेका छन् । त्यसमध्ये ७० हजार रुपैयाँ त उनीहरुले ‘क्यास’ मात्रै लगानी गरेका छन् । सुदनका साथीभाईले पनि स्टुडियो बनाउन नगदै हालेका थिए ।

यसबाट उनीहरुको दैनिकी भने निकै व्यस्त तरिकाले अघि बढेको छ । बिहान बेलुकी घरमा भएपनि दिउँसो उनीहरु आफ्नै स्टुडियोमा रमाउँछन । आफू सिक्छन । अरुलाई सिकाउँछन । तर सोचेजस्तो भने छैन् । कुनै बेला जम्मा ७ हजार रुपैयाँमा तीन महिना नृत्य सिकेका सुदन अहिले त्यही रुपैयाँ विद्यार्थीबाट लिन्छन् । मासिक रुपमा २० देखि ३० जनाले उनीबाट नृत्य सिक्छन् ।

यो संख्या हेर्दा आम्दानीका लागि राम्रो आकँडा हो । तर उनको चित्तबुझ्दो भने छैन् । केहीले इमान्दार सिकेअनुसार पैसा दिन्छन् । तर केहीले दिदैनन् । अहिलेसम्म दुई तीन सयजतिले उनको स्टुडियोबाट नृत्य सिकेका छन् । तर मासिक स्टुडियो खोलिएको घरभाडा तिर्न हम्मे हम्मे पर्छ । साथी भाई मिलेर केही गरौ भनेर स्टुडियो खोलेपनि चित्तबुझ्दो आम्दानी भने छैन् । उनीसँग भएको इमान्दार सत्य अहिलेका लागि यही हो ।

‘खासमा भन्ने हो भने आम्दानी त नाम मात्रै हो । कहिल्यै आम्दानी छैन’ स्टुडियोबारे सुदन बोल्छन, ‘महिनामा २० देखि ३० जनाले सिक्छन । कोही नियमित आउँछन । कोही आउदैनन् । कोहीले पैसा दिन्छन । कोही दिदैनन् । दिएकाहरुबाट आएको पैसाले घरभाडा तिर्न ठिक्क हुन्छ । बाइकमा पेट्रोल हाल्न, खाजा खाने पनि धौ धौ हुन्छ ।’

यही हिसाबले उनका धेरै साथीले यो काम छाडीदेउ भनेर नभनेका होइनन् । तर शुरुमा यही काम गर्दा साथ दिएकाहरुलाई निराश बनाउने उनको मनशाय छैन् । ढिलोचाडो सफलता र आम्दानी हुने उनको विश्वास छ । यसका लागि धैर्यता र निरन्तरता चाहिने पनि सुदनको भनाई छ ।

‘आजको भोलि नै सफलता पाइदैन । तर अहिलेसम्म जे गरेका छौँ, यो फेरि सफलताकै लागि हो’ सारमा सुदन सुनाउँछन, ‘यो समयले निर्धारण गर्छ । तर हामी एक न एक दिन सफलता पाउँछौ । यसका लागि जुनसूकै मूल्य चुकाउन पनि तयार छौ ।’

एउटा सपना : डान्स इण्डिया डान्स !

आफ्नै बलबुतामा उभिएका सुदन अझै माथिल्लो उचाईमा पुग्न चाहन्छन् । नृत्यलाई अहिले पनि वैकल्पिक पेशा मानिने कारण केहीले मात्रै क्षेत्रमा सम्मान र प्रतिष्ठा प्राप्त गर्छन् । धेरैले चाहेर पनि यो पेशामा सफलता पाउन सक्दैनन् ।

यसका पछाडी सोच मूल कारण हो । आफ्ना सन्तानलाई डाक्टर इन्जिनियर नै बनाउन चाहने अभिभावकका कारण धेरैका सपना अहिले पनि आमाबुवाले लादिदिएका कारण मरेतुल्य बनेका छन । जीवनको एउटा चुनौतिपूर्ण मोडमा उभिएका सुदन यसलाई फेर्न चाहन्छन । त्यो भन्दा बढी नृत्यमा आफ्नो नामै काफी हुने गरी मेहनत गरेर सफलताको नयाँ उचाईमा पुग्न चाहन्छन् ।

यसका लागि उनी नेपालमा सिमित रियालिटी शोबाट केही पर पुगेर भारतीय रियालिटी शो सम्म पुग्न चाहन्छन् । यसका लागि मेहनत गरिरहेको पनि उनको भनाई छ । ‘नेपालमा अहिले पनि सिमित सोच छ । सिमित अवसर छ । सिमित ठाउँहरु छन । तर भारतमा धेरै माथिल्लो स्तरको सम्भावना छ’ आफ्नो आगामी गन्तव्यबारे सुदन भन्छन्, ‘कम्तीमा एकपटक डान्स इण्डिया डान्ससम्म पुग्ने सपना छ । त्यसका लागि मेहनत गरिरहेको पनि छु । हेरौ सपना पूरा हुन्छ कि हुदैन् । तर सपना पूरा गर्न मेहनत गरिहेको छु ।’

[sidebar name="button post"]