कागेश्वरी मनोहराको एउटा जग : जगत बहादुर थापा

रमिता दंगाल

जिन्दगीका अनेक आयामसँगै जुध्दै, हार र हरेशलाई जितेर अहिले ६८ वर्षका जगत बहादुर थापा बाँकी सुखमय जिन्दगीको यात्रामा हुनुहुन्छ । विसं २००९ साल साउनमा काठमाण्डौको कागेश्वरी मनोहरामा जन्मनुभएका थापाले बाल्यकाल संयुक्त परिवारमा बिताउनुभयो ।

काठमाण्डौ शहर भएपनि तत्कालिन अवस्थामा कागेश्वरी मनोहरा गाउँ नै थियो । थापा २० जनाको परिवारमा हुर्कनुभयो । बाल्यकाल रमाइलो माहोलमै बितेको अहिले उहाँ सम्झनुहुन्छ ।

परिवार र पढाई

संयुक्त परिवारमा हुर्केका थापाले निम्न माध्यमिक तहसम्मको शिक्षा गान्धी स्कुलबाट हाँसिल गर्नुभयो । त्यसपछिको पढाई भने अगाडि बढेन । उहाँले १६ वर्षको उमेर पद्मोदय हाई स्कुलबाट टेस्ट परिक्षा दिनुभयो । तर एसएलसी भने दिनुभएन । पढाई अगाडि नबढेपछि केहि त गर्नुपर्यो भन्ने बिचार आयो । उहाँले आर्मीमा जागिर खान जानु भयो । थापाले २०२५ साल चैतदेखि २०३१ मंसिरसम्म ६ वर्ष आर्मीमा जागिर खानु भयो ।

जागिर छोडेर बस्नुपर्दा

आर्मीमा जागिर खाँदै गर्दा थापा बिरामी पर्नुभयो । रोग लागेकै कारण उहाँले जागिर पनि छोड्नुपर्यो । थापा भन्नुहुन्छ,‘डाक्टरले कुष्ट रोग लागेको भने, त्यसबेला कुष्ट रोगको सहज उपचार थिएन, जागिर नै छोड्नुपर्यो । निरन्तर चलिरहेको जिन्दगीमा ब्रेक लाग्यो ।’ त्यसबेला निक्कै दुःख पाएको थापा अहिले पनि सम्झनुहुन्छ ।

जागिर छोडेपछिका झण्डै आठ वर्ष दुःखमै बिते । ‘घरपरिवार, सबथोक हुँदा पनि बाँच्न मन भएन’ उहाँ भन्नुहुन्छ,‘हरेक दुःख कष्टसंग लड्दै गएँ, हारलाई जित्दै गएँ ।’ बिरामी अवस्थामै थापालाई एकपछि अर्को पिडा थपियो । विसं २०३९ सालमा उहाँको देब्रे आँखाको अप्रेशन गर्नुपर्ने भयो । आँखाको अप्रेशन गरेको दुई वर्ष नपुग्दै विसं २०४१ सालमा परिवार छुट्टियो । ‘तीन दाजु भाई भिन्न भिन्नै भए । घरभान्सा अलग भयो,‘उहाँ भन्नुहुन्छ,‘हुने हारलाई दैवले पनि टार्न सकेन ।’ थापा जेठो हुनुहुन्छ । अहिले दुई दाजुभाई बितिसकेका छन् । बुवा आमा कान्छी बुहारीसंग बस्नुहुन्छ ।

बैवाहिक जिवन

थापाले २०२६ सालमा विवाह गर्नुभयो । थापा र मायादेवीबिच विवाह भयो । बैवाहिक जिवन, परिवार एकदमै सहजै चलेको थियो । थापा भन्नुहुन्छ कुनै गुनासो रहेन । तर २०६० साल जेठमा उहाँले श्रीमती मायादेवीलाई गुमाउनुभयो । थापाका एक छोरा र एक छोरी छन् । उनीहरु दुवैको घरबार भैसकेको छ । परिवारमा छोरा बुहारी सहित २ वटा नाती छन् ।

सामाजिक काम

जागिर गुम्यो, बिरामी अवस्था, पारिवारीक तनाव थपिदै थियो । झण्डै १० वर्ष अति दुःखमा बिते । दुःखलाई साथमा राखेर पनि थापाले सामाजिक काम थाल्नुभयो । उहाँ २०३६ सालदेखी सामाजिक काममा सक्रिय हुनुहुन्छ । मनको लगाम, सामाजिक काम निरन्तर हुँदै गएपछि आफ्नो सबै कुराहरु स्वास्थ्यदेखि जिन्दगीको यात्रा सामान्य अवस्थामा फर्केको थापा बताउनुहुन्छ ।

थापा २०४८ सालमा चुनावमा उठ्नुभयो तर हार्नुभयो । त्यसपछि फेरी उहाँ २०५४ सालमा चुनावमा उठ्नुभयो । यसपटकको चुनाव उहाँले जित्नुभयो । थापा कागेश्वरी मनोहरा ७ को वडाअध्यक्ष हुनुभयो । चुनाव जितेसंगै सामाजिक काममा खटिनुपर्ने भएपनि राजनीतिक काममा बाधा परेको उहाँ बताउनुहुन्छ ।

थापा वडाध्यक्ष भएका बेला बाटो नभएको धेरै ठाँउमा बाटोहरु बनाउन पहल भयो । त्यसपछि साथीहरुसंग मिलेर एउटा अस्पतालको निर्माण पनि गर्नुभयो । जुन अहिले गान्धी तुलसीमेयर भनेर चिनिन्छ । अझै पनि गान्धी तुलसीमेयर अस्पताल व्यवस्थित रुपमा चलिरहेको छ । उहाँले गान्धी स्कुलमा क्याम्पस खुलाउन पनि धेरै पहल गर्नुभयो तर सफल हुन सकेन । ‘आफूले पढ्न नसके पनि पढ्नु पर्छ भनेर पहिलादेखि नै साेंच थियो ।

उहाँ भन्नुहुन्छ,‘लामो समयसम्म बिरामी भएर आफ्नो पढाईलाई निरन्तरता दिन सकिन । अरुले पढ्न सकुन् भनेर पहल गरे तर सम्भव भएन । त्यो समयमा पढ्ने बालबच्चाहरु पनि कमै थिए । थापाले आफूले जानेको कुराहरु १०/१५ जना बच्चाहरुलाई आफ्नै घरमै बोलाएर समेत पढाउने गर्नुहुन्थ्यो । आफूले पढाएका बिद्यार्थीहरु धेरैले उच्च तहको स्नातकसम्म पुग्न सफल भएका उहाँ सुनाउनुहुन्छ ।

जिवनमा प्रेरणा

हरिप्रसाद प्रसाईं वडा अध्यक्ष हुनुहुन्थ्यो । उहाँ कहिलेकाहीँ गाउँ तिर घुम्ने गर्नुहुन्थ्यो । अनि अरुलाई सामाजिक काम र अनुशासनबारे ज्ञान दिनुहुन्थ्यो । उहाँले नै थापालाई तिमी नै छौ यो गाँउमा केही गर्नुपर्छ भनेर उत्साह दिनुहुन्थ्यो । प्रसाईँले गरेका काम तथा थापाले पनि थालनी गरेका काममा अरु धेरैले प्रशंसा गर्ने गरेको थापा अहिले पनि सम्झनुहुन्छ ।

हरिप्रसाद प्रसाईँबाटै जगत बहादुर थापा सामाजिक काम गर्न प्रेरित हुनुभयो । जुन उहाँले अहिले सम्झनुहुन्छ । भन्नुहुन्छ,‘सामाजिक कामप्रति झुकाव हुनुमा हरिप्रसादको ठुलो प्रेरणा छ ।’

सक्रियता निरन्तर

थापाले २०२७ सालमा विरेन्द्र युवा क्लब भन्ने एउटा क्लब खुलाउनु भयो । क्लब दर्ता गरेर महानता चौरमा एउटा भवन पनि निमार्ण गर्नुभयो । जुन बेला उहाँ आर्मीमा जागिरे हुनुहुन्थ्यो । अहिले सृजनशील भन्ने नामले चिनिन्छ । त्यो समयमा बाटो पनि थिएन । उहाँको पहलमा बाटो पनि बन्यो तर कतिपय मानिसहरुले बाटो निर्माण गर्दा उहाँलाई नराम्रो पनि गरे । यो उहाँको गुनासो हो ।

त्यस्तै त्यो ठाँउमा बोडिङ स्कुल थिएन । अनि बोर्डिङ स्कुल नै खुलाउनु पर्छ भनेर त्यहीँ महनताचौरमा चन्दा संकलन गरेर बोर्डिङ स्कुल संचालन भयो । दुई÷तीन सय विद्यार्थी जम्मा गरेर दार्जिलिङ्गबाट आएका शिक्षकहरु बसन्त र गोपाललाई जिम्मेवारी दिएको उहाँ बताउनुहुन्छ । थापाले विद्यालयको लागि आफ्नै जग्गा भाँडामा दिनुभएको छ ।

आफ्नै पहलमा धारा, पाटीपौवाहरु निर्माण भएका उहाँ बताउनुहुन्छ । ‘अब आफ्नो एउटा कृति राख्न इच्छा छ, उहाँ भन्नुहुन्छ,‘पैसा भन्ने कुरा एक दिनमा सकिन्छ तर कृति भन्ने कुरा संधै रहिरहन्छ ।’ थापाका छोरा जीवन थापा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ को अध्यक्ष हुनुहुन्छ ।

जगत बहादुर थापा अहिले पनि सामाजिक काममै सक्रिय हुनुहुन्छ । बिहान बेलुका समाजमा भैरहेका कामहरुमा समय दिने गर्नुहुन्छ । साथै बेला बेलामा वडा कार्यालयमा गएर छोराले गरेका कामहरुमा सल्लाह सुझाव दिने हुनुहुन्छ ।

[sidebar name="button post"]