एक्लोपनलाई साथी बनाएर आर्ट तथा बिजनेसमा अघि बढ्दै : मिस नेवाः का प्रतिस्पर्धी मनिसा महर्जन

समिता श्रेष्ठ

आफ्नो जीवनलाई आफूसंग आफ्नै प्रतिस्पर्धा मान्ने मनिसा महर्जन मिस नेवाः प्रतिस्पर्धाको प्रतियोगी हुनुहुन्छ । उहाँले यहि प्रतिस्पर्धाको लागि ट्यालेट सो गर्न बनाउनु भएको भैरवको पेन्टिङलाई अहिले सबैले मन पराएका छन् । उहाँको सानैदेखि एक्लोपनलाई साथी बनाएर स्केच बनाउने स्वभाव थियो । उहाँलाई आफुले गरेको आर्टमा पेन्टिङ गर्दा बिग्रन्छ भनेर डर पनि लाग्थ्यो । तर बिग्रेको कुराबाट नै सिक्ने गरिन्छ, भनेर उहाँले भैरवको पेन्टिङ बनाउनुभयो । जसलाई धेरैले मन पराए ।

जन्म र परिवार

मनिसा महर्जन स्न १९९७ मा ललितपुर सुन्धारामा जन्मिनुभएको हो । उहाँको परिवारमा आमा, बुबा र दाई गरि ४ हुनुहुन्छ । उहाँसँग २ वटा पप्पी पनि छ । हाल उहाँ कुमारिपाटीमा बसोबास गर्नुहुन्छ । उहाँ कुमारिपाटी ललितपुर स्थित ब्लु बर्ड कलेजमा ब्याचुलर अफ बिजनेस स्टडी बीबीएस प्रथम वर्षमा अध्ययन गर्दै हुनुहुन्छ ।

उहाँको परिवारको पसल भएको कारण आमा बुबा पसलमा जाने र दाई पनि कलेज र अफिसको काममा व्यस्त हुने भएकोले उहाँको सानैदेखि एक्लै बस्ने बानी पर्यो । जहिले स्कुलबाट आएर आफ्नो खाजा आफै बनाएर गृहकार्य गर्न बस्नु हुन्थ्यो । आफ्नो गृहकार्य सकेर कला र शिल्पमा लाग्ने गर्नुहुन्थ्यो । उहाँले कोहि साथीहरूको जन्मोत्सवको अवसरमा पनि उपहार स्वरुप आफुले गर्नु बनाउनु भएको आर्ट नै दिने गर्नुहुन्थ्यो । उहाँको रुचिको क्षेत्र आर्ट बाहेक कराते तथा ब्याडमिन्टन खेलमा थियो ।

उहाँ भन्नुहुन्छ,‘सानोदेखि पेन्टिङ भन्दा स्केचिङमा रुची अनि स्केचिङ भन्दा कला र शिल्पमा बढी रुची भयो । बाल्यकाल एक्लोपनमा बित्यो । अनि मैले मेरो एक्लोपनलाई नै साथी बनाए । अनि एक्लोपनमा मैले गरेका आर्ट र क्राफ्ट्ले कोठा सजावट गरी राख्ने गर्थे ।

मिस नेवाः को लागि बनाएको पेन्टिङ

महर्जन अहिले बिहान ६ बजेदेखि १० बजेसम्म कलेजमा बिताउनुहुन्छ । कलेज सकेर सिधै सिभिलमलमा पुग्नुहुन्छ । उहाँ अहिले सिभिलमलमा डिजिटल मार्केटिङ अफिसरको रुपमा काम गर्नुहुन्छ । ‘अहिलेको लागि मेरो मुख्य काम भनेको डिजिटल मार्केटिङ गर्नु नै हो ।

त्यसैगरी मिस नेवाः को ट्रेनिङमा जाँदैछु । आफ्नो अफिसबाट अलि चाँडै निस्केर म ट्रेनिङमा पुग्छु । यसैगरी मेरो सानो अनलाईन बिजनेस पनि छ । मेरो अनलाईन बिजनेसको नाम रोयल मर्चिन्डाइस (royal merchandise)  हो ।

‘यो हालसालै बनाएको भैरवको पेन्टिङ मैले मिस नेवाः ट्यालेट सो मा देखाउन बनाएको हो । यो पेन्टिङ बनाउन मैले निकै समय दिएर सानो सानो कुरालाई ध्यान दिएर बनाएको हो । यसको लागि मलाई लगभग २ महिना लाग्यो ।’

उहाँ भन्नुहुन्छ,‘मैले यो आर्ट राती १० बजेदेखि ४ बजेसम्म, कहिले १० बजेदेखि ३ बजे सम्म गर्ने गर्थे । मिस नेवाः मा ट्यालेट सोमा आफ्नो ट्यालेट के देखाउने भन्दा पेन्टिङलाई देखाउने सोंचको साथ सांस्कृतिक र अलि दिव्य खालको पेन्टिङ गर्ने सोंच बनाए । यसको लागि मैले अनुसन्धान गर्दा लाख्येको फोटो बनाउने सोंच आयो । लाख्ये आफैंमा दिव्य हुने भएकोले यो पेन्टिङ गर्ने सोंच आएपनि आफुलाई चित्त बुझ्ने फोटो भेटिन ।

अरु अपसन हेरौं न भनेर हेर्दा अमित रन्जित दाईले लिनुभएको बसन्तपुरको भैरवको फोटो देखें । अनि अमित दाईलाई सम्पर्क गरेर हजुरले लिनुभएको भैरवको फोटो दिनमिल्छ म भैरवको फोटो बनाउन लाको छु भनेर भन्दा एकैछिनमा दाईले हुन्छ, बरु मेल पठाउ भनेर रिप्लाई दिनुभयो ।मैंले मेल पठाएर फोटो पाएँ । त्यो फोटो माग्नुको कारण चाहिँ मैले जुम गर्दा डिटेल किलिएर होस् र बनाउन पनि सजिलो होस् भनेर हो ।

यो पेन्टिङमा मैले सुरुमा स्केटिङ गरे अनि पेन्ट गरे, डिटेलिङ राखें । सबै सेन्टिङ मिलाएर कलरको अपसन राखें । फोटो राम्रो आओस्, साईनिङ देखियोस् भनेर कलरमा नि ध्यान दिनुपर्छ । यसरी स्टेप वाइ स्टेप गर्दै मैले यो पेन्टिङ पूरा गरें । सुरुमा यो आर्ट गर्न गाह्रो हुन्छ होला भने साेंचेको थिएँ । तर बनाउँदा के नै हुने हो र धेरै भए बिग्रने त हो नि, बिग्रियो भने पनि सिकिन्छ भनेर सुरु गरेको थिएँ । यो ट्यालेन्ट सो को एक दिन अगाडि मैले कुमारीको पेन्टिङ बनाएको थिएँ ।’

मिस नेवाःको ट्रेनिङ्ग सकेपछि आफ्नो बिजनेसको काम

मिस नेवाःको ट्रेनिङ्ग सकेर साँझ घर फर्केपछि महर्जन आफ्नो अनलाईन बिजनेसको अर्डर प्याकिङ र डेलिभरिको काम हेर्नुहुन्छ । अनि राती १० बजेपछि आर्ट १ देखि ३ घण्टा सम्म गर्नुहुन्छ । उहाँले रोलर स्केटिङ, आइस स्केटिङ गरेको २ वर्ष भयो । खाली समयमा स्केटिङ लिएर रोडमा कि कौसीमा कुदिहाल्ने बानी छ ।

‘म सानै देखि स्केचिङ त गर्थे तर कलरहरु संग डर लाग्थ्यो । आफुले राम्रो गरेको स्केच कलर गर्दा बिग्रन्छ भने डरले पेन्टिङ गर्दिन थिएँ । कोरोना महामारीको समयमा लामो समयको लकडाउनले गर्दा क्वारेन्टाइनमा धेरै खाली समय पाएँ । अनि वाल आर्ट गर्न थालें । वाल आर्टबाट बिस्तारै क्यानभास आर्ट गर्न थालें । अनि यहीँबाट मेरो आर्ट यात्रा सुरु भयो । यो आर्टको क्षेत्रमा अहिले म नयाँ नै छु ।

मैले अहिलेसम्म गरेको पेन्टिङ मा भैरवको ५ औं स्थानमा पर्छ । पेन्टिङमा लागेको अहिले ६ महिना जति भयो । यो क्षेत्रमा धेरै संघर्ष गरेर आएको त भन्दिन । जे काम गर्दा पनि मन राखेर मन लगाएर गर्नु भनेर दाईले सिकाउनु भएको थियो । उहाँले भने जस्तै मन लगाएर गरेको काम भएकोले सबैले मन पराउने खालको आर्ट र पेन्टिङ गर्न सकेको जस्तै लाग्छ ।’

आर्ट सिक्ने काम जारी

महर्जन आर्ट लाई सिकाइको रुपमा लिएर सिक्दै हुनुहुन्छ । त्यस कारण उहाँ आफूलाई आर्टिष्ट नै भन्नुनपर्ने बताउनुहुन्छ । किनभने आर्टिष्ट एकदमै प्रफेक्ट, राम्रो आर्ट गर्नेलाई भन्छ जस्तो लाग्छ । त्यो स्तर र शब्दको मान पाउन अझै प्राक्टिस पुगेको छैन जस्तो लाग्छ ।’

मलाई स्केच गल भनेर नि चिन्छन् साथीहरु । र रोलर स्केटिङ र आइस स्केटिङमा नि राम्रो गर्ने प्रयासमा छु । यो क्षेत्र गाह्रो छ । ‘आफुलाई आर्ट आउँदैन भनेर कहिले न सोंच्नु । हामीले पेन लिएर कोरेको एउटा धर्सोको पनि मिनिङ हुन्छ । आफुले आफ्नो भावना आर्टमा देखाउनु सक्नुपर्छ ।

आर्टलाई गाह्रो छ भनेर टाढा हुन हुँदैन । अहिले आर्टमा लाग्न चाहने नयाँ पुस्ताको लागि डिजिटल प्रबिधिको बिकास भैसकेको हुनाले यूटुब र अनलाईन प्लाटफर्मबाट पनि सिक्न सकिन्छ । गाह्रो लागेको कुरा सिकेर अगाडि बढ्दा जुन उत्सुकता र गर्व हुन्छ । त्यो अरु कुनैमा हुँदैन ।’

आर्टको क्षेत्रमा भर्खर पाइला चालेकी महर्जनसँग ५/६ वटा पेन्टिङ छ । उहाँ भन्नुहुन्छ,‘आफुले सिर्जना गरेको सबै आर्टहरु राम्रो लाग्छ । कुनै धेरै मन पर्ने र कुनै थौरै भन्ने नै छैन । वाल आर्टमा डिज्नी क्यारेक्टरहरु बनाएको छु । क्यानभासमा कुमारी, भैरव अनि भ्यानम मात्रै बनाएको छु । आफ्नो सिर्जनाहरु सबैको माया उति नै लाग्छ । ’

अबको योजना

महर्जन अहिले डिजिटल मार्केटिङमा हुनुहुन्छ । अनि आधार बनाउँदै हुनुहुन्छ । अबको योजना यसरी नै बिस्तारै आर्ट गर्दै गर्ने र अझै आफुले गर्न सक्ने क्षमता खोज्दै जाने, करियरमा फोकस हुने, अझै स्केटिङमा राम्रो गरेर आफ्नो एउटा स्केटिङ एकेडेमी खोल्ने रहेको उहाँ सुनाउनुहुन्छ ।

यसैगरी आफ्नो एउटा आर्ट एक्जिबेशन पनि गर्ने उदेश्य छ । अनि एउटा बिजनेस खोलेर त्यसलाई फरक तरिकाले संचालन गर्ने योजना रहेको उहाँ सुनाउनुहुन्छ । ‘मैले हालसम्म गरेको कामहरुमा म सन्तुष्ट नै छु । अनि आफुले गर्दै आएको कामहरुमा पनि सफल नै भएको आभास हुन्छ । स्केटिङदेखि बिजनेस खोल्नु र आर्टको काम सबैमा राम्रो नै भैराखेको छ ।’

उहाँ भन्नुहुन्छ,‘ अहिलेसम्म सबै कामहरुलाई आधार बनाउन सफल भएको छु । अहिले सम्मको जिवन भोगाइ र अनुभवको आधारमा जीवन भनेको एउटा प्रतिस्पर्धा रहेछ । यो प्रतिस्पर्धा अरुसँग नभएर आफुले आफैसँग गर्ने प्रतिस्पर्धा जस्तो लाग्यो । आज जति राम्रो छ, भोलि अझै राम्रो हुन खोज्नुपर्ने रहेछ । आज कलम उठाउन सिक्यौं भने भोलि कलम चलाउनु सिक्नु पर्दो रहेछ ।’