बौद्धिक अपाङ्गताका क्षेत्रमा क्रियाशिल स्वस्थ समाज नेपाल : अध्यक्ष सिता श्रेष्ठ भन्नुहुन्छ,‘हामी नहुँदा हाम्रो बच्चाहरुलाई कस्ले हेर्ला ?’

समिता श्रेष्ठ

अपाङ्गता कुनै रोग होईन । न त भगवानको अभिसाफ । पहिला आफ्नो बुझाईलाई परिर्वतन गरौँ । अपाङ्गता एउटा अवस्था हो अनि जो कोहि पनि अपाङ्ग हुन सकिन्छ । अपाङ्गता भएका बालबालिकालाई घृणा होईन मायाको नजरले हेर्नुपर्छ । उनीहरुले अवसर पाएमा राम्रा काम गर्न सक्छन् ।

अपाङ्गता भएका बालबालिकालाई शिक्षा, स्वास्थ्य र विविध तालिम दिई स्वाभलम्बी र आत्मनिर्भर बनाउन स्वस्थ समाज नेपालले काम गर्दै आएको छ । समाजको अध्यक्ष हुनुहुन्छ, सिता श्रेष्ठ ।

स्वस्थ समाज नेपालको स्थापना

सिता श्रेष्ठको जन्म काठमाण्डौको सितापाईलामा भएको हो । उहाँको परिवारमा श्रीमान् र दुई छोरा गरि ४ जना हुनुहुन्छ । स्वस्थ समाज नेपाल स्थापना भएको ६ वर्ष भयो । यो संस्थाले अशक्त, बौद्धिक र शारिरिक रुपमा अपाङ्गता भएका, पिछडीएका र असहाय बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य र सीपमुलक तालिम दिएर आत्मनिर्भर र स्वाभलम्बी नागरिक बनाउन केन्द्रित छ ।

सिता श्रेष्ठ बौद्धिक र शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुको लागि संचालन गरिएको डे केयरको कामको साथै ती बालबालिकाका अभिभावकको लागि सिपमुलक तालिम संचालनमा व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘यो बौद्धिक र शारीरिक अपाङ्गताको क्षेत्रमा काम गरेको लगभग १७/१८ वर्ष भैसक्यो ।

मेरो आफ्नै छोरा पनि बौद्धिक अपाङ्गता भएको हुँनाले उनीहरुका समस्याबाट म अवगत नै छु । त्यसैले आफ्नो सन्तानलाई हेर्नु छदैं छ । आफू जस्ता अरु अभिभावकहरुको लागि पनि केही गर्न सकिन्छ कि भन्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २०७१ सालमा संस्था दर्ता गरि स्वस्थ समाज नेपालको स्थापना गरे ।’

श्रेष्ठ भन्नुहुन्छ,‘अपाङ्गता मात्रै भएका बालबालिकाहरुलाई हेर्ने अरु धेरै संस्थाहरु भए पनि बौद्धिक र शारिरीक रूपमा अपाङ्गता भएका बालबालिकाहरुलाई हेर्ने र अध्ययन गर्न÷गराउन कुनै संस्था नभएका कारणले गर्दा र आफू पनि बौद्धिक अपाङ्गता भएको बालकको अभिभावक भएको कारणले यो संस्था स्थापना गर्ने साेंच आयो ।

हाम्रो समाजमा बौद्धिक अपाङ्गता भएका बालबालिका र उहाँहरुको अभिभावकले भोग्नु परेका पीडा, व्यवहारिक समस्या र अपहेलनाको डरले लुकाएर राखिने अपाङ्गता भएका बालबालिकाको लागि आफैले केही गर्नु पर्छ भने मनसायले ७ जना साथीहरुको समूह बनाएर संस्था दर्ता प्रक्रियामा लाग्यौं ।’

शिक्षा, स्वास्थ र दैनिक जिवनमा उपयोगी कामहरु सिकाउने

स्वस्थ समाज नेपालले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ र आत्मनिर्भर बनाउनको लागि दैनिक जिवनमा गर्नुपर्ने कामहरु सिकाउने गरेको छ । तालिमपछि बालबालिकालाई मात्रै नभएर ती बालबालिकाको अभिभावकलाई पनि सहयोग मिलेको छ । किनभने अपाङ्गता भएका बालबालिकाहरुको अभिभावकहरुले आफ्नो काम गर्न पाएका छन् ।

त्यसबाट सामाजिक दुर्र्ववहार कारण र बालबालिकाको क्षमता बिकास कसरी गर्ने सोंचबाट अभिभावक मुक्त भएर काम गर्न पाउँदा डिप्रेशन हुनबाट जोगिएको श्रेष्ठ बताउनुहुन्छ । ‘यो पीडा आफ्नो जिवनमा स्वयं अनुभव गरेको हुनाले यसबारे धेरै जानकारी आफैलाई पनि छ । यस्ता बालबालिका र अभिभावकको आवाज राज्यका निकायसम्म पुर्याउने कोशिषमा संस्था लाग्दै आएको छ ।’

संस्थाको सुरुवात

यो संस्थाको सुरुवात ३ जना बौद्धिक र शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाबाट भयो । तर अहिलेसम्म २७/२८ जना बालबालिकासंग काम गरिसकेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । कतिपय बालबालिकाहरु भौगोलिक अवस्था र आर्थिक अवस्थाको कारण सम्पर्कमा नहरेपछि अहिले १५ जना हुनुहुन्छ । कोरोनाका कारण लकडाउन भएपछि डे केयर बन्द भयो । २ जना सहयोगिको साथमा डे केयर संचालन भैरहेको थियो । तर अब स्वंयसेवी साथीहरुको सहयोग पाए डे केयर सञ्चालन गर्ने तयारी रहेको उहाँ बताउनुहुन्छ ।

‘यो संस्था अभिभावक, स्थानीय निकाय, विभिन्न सामाजिक संघसंस्थाको सहयोगबाट नै चल्दै आईरहेको छ । कुनै कुनै बेला जन्मोत्सव, वर्षगाँठ एवं पूण्यकर्ममा एकदिन खाना, खाजा खुवाउन आउनु हुने सहयोगी मनहरुबाट नै संस्थाको संचालनमा सहयोग पुग्दै आएको छ । आर्थिक तथा भौतिक समस्याको कारण तत्काल डे केयर संचालन गर्न गाह्रो परेको हो ।

बालबालिकाहरुको लागि डे केयर संचालनको लागि उनीहरुलाई बोक्ने साधन सहित शिक्षा, स्वास्थ र रेखदेख गर्नको लागि एकजनाले मात्रै नसक्ने भएकोले समस्या छ साथै आर्थिक, भौतिक, स्वयंसेवा गर्न चाहनेले सम्पर्क गर्न पनि सक्नुहुन्छ ।’

संघर्ष र अबको सपना

यो संस्था स्थापना गर्नको लागि धेरै संघर्ष गर्नुपर्यो । र अझै पनि संघर्षशिल यात्रा जारी नै छ । अझै धेरै गर्नु बाँकी छ । ‘सेवा नै धर्म हो र धर्म गर्नको लागि मन्दिर, मस्जिद, गुम्बा विहार जानु पर्दैन । संस्थाका अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ,‘सुरुमा बाहिरी ज्ञानको अभाव थियो । आफू जस्ता धेरै आमाहरूको लागि केही गर्नुपर्छ भने साेंच र अठोट मनमा थियो ।

बौद्धिक अपाङ्गताको क्षेत्रमा काम गरेको धेरै भए पनि संस्था दर्ता प्रक्रिया गर्न सुरुवातको लागि ७ जनाबाट गर्यौ । बौद्धिक अपाङ्गतासंग सरोकार भएका महिला समुहका आमाहरुबाट संस्था दर्ता प्रक्रिया अगाडि बढायौं। के गर्ने, कसरी गर्ने केही थाहा थिएन । तर सबैको साथ र मनको अठोटले गर्दा विभिन्न संघर्ष पार गर्दै संस्था दर्ता गरेर संचालन गर्न सफल भयौ ।

अबको सपना भनेको यस्ता बालबालिकाहरुको संरक्षण र बिकासका लागि स्थानीय सरकार र नेपाल सरकारले संरक्षक नहुदा संरक्षणको लागि उचित व्यवस्थापन गरिदिओस् भन्ने छ । तर अहिलेसम्म हेर्दा धेरै संघसंस्था अपाङ्गता भएकाहरुको लागि स्थापना भए पनि बौद्धिक अपाङ्गताको लागि संरक्षकबाट मात्रै स्थापित संस्थाहरु देखेको छु ।

शारीरिक अपाङ्गता मात्रै नभएर बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि पनि स्थानीय सरकार र नेपाल सरकारले उचित व्यवस्था गर्न सक्यो भने संरक्षक नहुँदा, संरक्षण गर्ने संस्थाबाट रेखदेख, शिक्षा, स्वास्थको व्यवस्था हुने थियो । अहिले हामी जब सम्म छौं तब सम्म त हामिले हेर्छौं तर हामी नहुँदा हाम्रो बच्चाहरुलाई कस्ले हेर्ला भन्ने कुरा मनमा आउने गर्छ । त्यही भएर पनि सरकारको आँखा पुगोस् भन्दै आएका छौं ।’

आमाहरूको लागि सिपमुलक तालिम पनि संचालन

‘बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि पनि पढ्ने ठाँउ भए कति राम्रो हुने थियो भन्ने लाग्छ । अपाङ्ग महासंघ भए पनि शारीरिक अपाङ्गता भएका तर बौद्धिक रुपमा सक्षम भएकाको जमात देखिन्छ ।’ उहाँ भन्नुहुन्छ,‘बौद्धिक अपाङ्गताका लागी अहिले अभिभावक आफैं संरक्षक भएर लागेको हुनाले उहाँहरुलाई पनि आर्थिक बिकासका सिपमुलक तालीम दिने गरिएको हो ।

अपाङ्गता भएका आमाहरूको लागि विशेष रुपमा प्राथमिकता राखेर, क्षमता बिकास र स्वरोजगारको कार्यक्रम सञ्चालन हुने गरेका छन् । आमालाई नै प्राथमिकतामा राख्नुको कारण विशेषत बुबाहरुको तुलनामा आमा नै संरक्षकको भुमिकामा उभिनु भएको हुन्छ । अनि समाज र घर परिवारले पनि यस्ता बालबालिकाको जन्म हुनुमा आमालाई नै दोषी मान्ने गरेको पाईन्छ । यो मेरो आफ्नो भोगाई पनि हो ।’

डे केयरमा बालबालिकाहरु राख्दा आमाहरुकोलाई नगरपालिका, वडा कार्यालयबाट सिपमुलक कार्यक्रमहरु ल्याउने गरिएको छ । आमाहरुलाई डल्लो साबुन बनाउने, सिलाई बुनाई, फिनेल, हार्पिक बनाउने, डल बनाउने, पार्लरको ट्रेनिङ लगायतका क्षमता बिकासका साथै सीप सिकाउने तालिम दिने गरिएको छ ।

अहिले ढाकाको कपडा बनाउने तालिम भैरहेको छ । आमाहरुको तनाव हटाउने र सिप सिकाएर ब्यक्तित्व बिकास गराउने काम हुँदै आएको छ । विभिन्न तालीम सिकेर ५० प्रतिशत आमाहरुले काम गर्न पनि थाल्नु भएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

अबको योजना

बालबालिकाहरुको लागि आफ्नै एउटा भवन निर्माण गर्ने अबको योजना रहेको स्वस्थ समाज नेपालका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको सामुदायिक स्कुल गोकर्ण माध्यमिक विद्यालयमा ३/४ वटा कोठामा डे केयर संचालन भैरहेको छ । त्यसको पनि भाडा तिर्नुपर्ने कुरा भैरहेको छ । समस्या छन् ।

अझै पनि आफ्नो कामदेखि म सन्तुष्ट हुन सकेको छैन किनभने यस्ता बालबालिका र आमाबुबाको लागि धेरै काम गर्ने सपनाहरु बाँकी नै छन् । ती मध्येको सबैभन्दा ठुलो सपना बालबालिका र आमाहरूको उचित ब्यवस्थापन हो । त्यो सपनाहरु पूरा भए म सन्तुष्ट हुन सक्छु ।’

नोट : स्वस्थ समाज नेपाल संस्थाबारे बुझ्न ९८४१९५८२६६ नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।