275 - 275Shares
प्रविणराज चालिसे
धेरैलाई लाग्न सक्छ चलचित्र क्षेत्रमा मनग्ये कमाई छ । नाम त हुन्छ नै दाम पनि ओइरो लाग्छ । स्वभाविक रुपमा चलचित्र अर्थात् फिल्म क्षेत्रमा नाम र दाम दुबै देखिन्छ । बाहिरबाट अर्थात् आवरणमा जे देखिन्छ पर्दा पछाडि भने निक्कै फरक पाइन्छ । यो कलाकारको भोगाईले देखाएको छ ।
नाम र दाम कमाउने केहि पात्र पक्कै छन् । तर छाँयाकार कृष्णबहादुर थापा भन्नुहुन्छ,‘चलचित्र क्षेत्र त नाम पो कमाउने हो, दाम कमाउने ठाउँ होइन ।’
थापा २०४९ साल साउन २५ गते लमजुङको बेसीशहर २ मा कालिमाया थापा र मिनबहादुर थापाको कोखबाट जन्मनुभएको हो । चार दाजुभाइ मध्येका उहाँ माहिलो हुनुहन्छ । उहाँले प्लस टु सम्मको पढाइ पुरा गर्नुभएको छ । थापाका श्रीमती र छोरा सहित तीन जनाको परिवार छ ।
विगत
सामान्य मध्यम वर्गिय परीवारमा जन्मेका थापाको बाल्यकाल दुःखसुखमै बित्यो । गाउँमा साथिभाइहरूसँगै मेलापात, चाडपर्व, रोधी जस्ता नाचमै सहभागी हुने र रमाइलो गर्दै बिताएका पल अहिले पनि सम्झनामा रहेका थापा बताउनुहुन्छ । परिवारका अरु धेरै सदस्यहरु सुरक्षा क्षेत्रमा रहेपनि आफू भने चलचित्रमा लागेको र दाजुभाइको सहयोग रहेको पनि उहाँको भनाई छ ।
पर्दा पछाडिको फरक
फिल्म क्षेत्र नाम र दाम दुवै मिल्ने क्षेत्रका रूपमा देखिन्छ । यो क्षेत्रले कलाकारको कला, प्रतिभा र चाहनालाइ स्थान दिएको छ । यो क्षेत्रको व्यक्तिलाई दामले भन्दा बढि नामकै आधारमा चिनिन्छ । किनभने चलचित्र कलाको क्षेत्र हो, यसले कलाकारहरूलाइ एउटा राम्रो अवसर दिएको छ । हिजो समाजले हेयको दृष्टिकोणबाट हेर्ने गरेका कलाकारलाई चलचित्रले फरक पारिसकेको छ ।
अर्थात् हेयबाट तारिफमा बदल्न सफल भएको छ । कलाकार दर्शकका प्रिय भएका छन् । कलाकारलाई आफ्नो कला प्रस्तुत गर्न पाउनु र साथमा त्यसको तारिफ लिन सक्नु सबै चलचित्रले सम्भव बनाएको छ । विगतमा दरबारमा सिमित कला क्षेत्रलाई सबैको माझमा ल्याउने काम पनि चलचित्रले गरेको छ । ‘कलाकारितामा लाग्ने व्यक्ति स्वतन्त्र विचारधाराका हुन्छन् । आफ्नो काम कलाको माध्यमबाट देखाउँछन्,‘थापा भन्नुहुन्छ,‘भोगाई र पर्दा पछाडिको जीवन फरक छ ।’
काम
थापा विगत ६/७ वर्षदेखी छायाँकन क्षेत्रमा लाग्नुभएको । सुरूमा निर्देशक बन्ने चाहना बोकेर चलचित्र क्षेत्रमा लागेको तर केहि समय सह–निर्देशक भएर काम गरेपनि पछि छायाँकनमा लागेको उहाँ बताउनुहुन्छ ।
‘नेपाली चलचित्र क्षेत्रमा डिजिटल प्रविधि आएपछि नेपालमा जनशक्तीको अभाव देखेर छायाँकन तर्फ लागें ’उहाँ भन्नुहुन्छ,‘छायाँकार बन्ने क्रममा पहिले क्यामराको केयर टेकर हुँदै लाइटिङ, मोड, कलर टिउनिङ जस्ता चिजहरू सिक्दै गए ।’ थापाले आमा, तिनजन्तु, हुक्का, बसन्ती जस्ता दर्जनौ लामो तथा छोटो फिल्ममा काम गरी सक्नुभएको छ ।
के हो सिनेमेट्रोग्राफर
क्यामराको विभिन्न पाटो छ । त्यसमध्यको सिनेमेट्रोग्राफर एउटा सम्मानित पेशा हो । कुनै पनि सिनेमा बनाउँदा निर्देशकको एउटा सोंचलाइ क्यामरामा उतार्ने काम नै सिनेमेट्रोग्राफर हो ।
‘आफु सिनेमेट्रोग्राफर भएपनी नेपालमा अझै पनि सबै क्यामरा सम्बन्धि काम गर्नेलाइ क्यामेराम्यान नै भनिन्छ’थापा भन्नुहुन्छ,‘चलचित्रको छायाँकनको काम गर्छु भन्न पनि अरूलाई बुझाउन गाह्रो छ ।’ प्राविधिक क्षेत्र सधै नयाँ हुन्छ, कहिल्यै सिकेर पूर्ण बन्न सकिदैन ।’ थापा भन्नुहुन्छ ।
राम्रो काम कसरी लिने
नेपाली चलचित्रबाट राम्रो काम लिनु या हात पार्नु छ भने नेपाली छायाँकारलाई उचित आवश्यक समय दिनुपर्ने थापाको धारणा छ । थापा भन्नुहुन्छ,‘नेपालमा कुनै राम्रो वा ठुलो बजेटको फिल्म छायाँकन गर्नु परेमा विदेशबाट सिनेमेट्रोग्राफर झिकाउने चलन छ । तर विदेशदेखि सिनेमेट्रोग्राफर बोलाउनुको सट्टा नेपाली सिनेमेट्रोग्राफरलाई उचित समय र अवसर दिन सकेमा राम्रो काम लिन सकिन्छ ।’
थापा भन्नुहुन्छ,‘सबसिटीको चलन नेपालमा आवश्यक छ । विदेशमा छायाँकन गर्दा उनीहरूको पर्यटकीय स्थललाई आफ्नो चलचित्रमा उतारे बापत केहि प्रतिशत रकम सरकारले दिने गरेको र नेपालमा पनी यो चलन गर्न सकेमा नेपाली पर्यटनमा मदत पुग्नेछ ।’
चलचित्र क्षेत्रमा आउन चाहना राख्नेहरूका लागी सुझाव
सिनेमेट्रोग्राफर कला क्षेत्रमा रहनेले क्षमता देखाउन पाउने क्षेत्र पनि मानिन्छ । यो क्षेत्रमा आउनु भन्दा पहिले राम्रोसँग बुझेर मात्रै आउँदा ठिक हुने थापा बताउनुहुन्छ । ‘यस क्षेत्रमा नाम कमाउने हो, पहिले नाम कमाउन सके पछि दाम आफै आउँछ ।’ उहाँ भन्नुहुन्छ,‘धेरै दाम कमाउन चाहनेहरूलाई अरु अरु क्षेत्र पनि छन्, यहि चलचित्र क्षेत्र रोज्नुपर्दैन ।’

275 - 275Shares