तीन दशक बैंकको जागिरे तर नेपाली चलचित्रमा खलनायक पात्र : हरिचन्द्र

समिता श्रेष्ठ

नेपाली चलचित्र क्षेत्रमा खलनायकको भूमिका निर्वाह गर्दै आएका हरिचन्द्र फुयालले नेपाली कलाकारिता क्षेत्रमा दुई दशक पार गरिसक्नु भयो । उहाँले तीन दशक नेपाल बैंकमा पनि काम गर्नुभएको थियो ।

कलाकारितामा रुचि भएकै कारण आफ्नो जागिरमा जाँदै र चलचित्रमा खलनायकको रुपमा देखिने दुबै काम गर्नुभयो । बैंकबाट रिटार्यड भैसकेका उहाँ अहिले कलकारिता, संघ संस्था र सामाजिक कार्यमा हुनुहुन्छ ।

परिवार र जीवन यात्रा

हरिचन्द्र फुयालको जन्म २०२५ साल मंसिरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ मा भएको हो । हाल उहाँको परिवारमा श्रीमती र तीन छोरिहरु हुनुहुन्छ । उहाँको बाल्यकालदेखि नै रुचि कलाकारितामा थियो । बाल्यकालदेखि नै गाउँ टोलमा नाटक देखाउने गर्नु हुन्थ्यो । यहि कामले उहाँले चलचित्र क्षेत्रमा अब्बल बनायो ।

उहाँले माध्यमिक तह सम्म मात्रै अध्ययन गर्नुभएको छ । उहाँ भन्नुहुन्छ,‘मेरो बाल्यकाल एकदमै दुख कष्ट मै बित्यो । अहिले राम्रो छ । समय र परिस्थितिले गर्दा मैले १० सम्म पढ्दा पढ्दै जागिर खान थाले ।’ उहाँले २०४३ सालमा नेपाल बैंकमा जागिर सुरु गर्नुभयो । नियुक्तीको उमेर नपुगेर २ महिना गार्मेन्टमा काम गर्नुभयो । त्यसपछि जागिरमा नियुक्त हुनुभयो र न्युरोडको नेपाल बैंकमा जागिर खान थाल्नुभयो । जागिरसँगै कलाकारिता पनि गर्न थाल्नुभयो ।

बाल्यकालदेखिकै रुचिको पेशा कलाकारिता

चलचित्रलाई राम्रो र उत्कृष्ट बनाउन जती महत्त्व नायकको हुन्छ । त्यति नै महत्त्व खलनायकको पनि हुने गर्छ । उहाँले कलाकारितामा दुई दशक बिताउनुभयो । उहाँ भन्नुहुन्छ,‘सानैदेखि कलाकारितामा रुचि राख्ने भएकोले गाउँ टोलमा नाटक देखाउने गर्थे । हाम्रो कागेश्वरी मनोहरा नगरपालिकामा नाट्य समूह थियो । त्यो नाट्य समुहबाट विभिन्न कार्यक्रममा नाचघर, सभागृह जस्ता ठाउँमा नाटक गर्ने गर्थे ।’

कागेश्वरी मनोहरा नाट्य समुहले निर्माण गरेको टेलिशृङ्खला आमामा खेल्ने अवसर पाउनुभयो । यो टेलिशृङ्खला नारायण पुरीले निर्देशन गर्नुभएको थियो। । यो नेपाल टेलिभिजनबाट प्रसारण भयो । यो टेलिशृखलामा २०४५ साल तिर काम गर्नुभएको हो । यसबाटै कलाकारिताको यात्रा सुरुवात भएको फुयाल बताउनुहुन्छ । ‘त्यसपछि कलाकारिता क्षेत्रमा झनै रुचि बढ्नु थाल्यो ।

यो क्षेत्रलाई निरन्तरता दिन अफिसमा गएर हाजिर मात्रै गरेर यहि क्षेत्रमा लागें । कलाकार भएको कारण अफिसमा पनि त्यति कडा भएन जस्तो लाग्छ ।’

सानो पर्दादेखि ठुलो पर्दासम्मको यात्रा

कलाकारिता पेशालाई अगाँल्दै अघि बढ्दै फुयाल सानो पर्दाबाट ठुलो पर्दामा खेल्न थाल्नुभयो । ‘अनुहारको बनावट नै भिलेनको जस्तो भएर हो की के हो मलाई खलनायकको रुपमा निर्देशकहरुले चलचित्रमा काम गर्ने अवसर दिनुभयो’ उहाँ भन्नुहुन्छ,‘अनि दर्शकहरूले पनि खलपात्रमा रहेर अभिनय गरेको मन पराउनुभयो ।’

उहाँको पहिलो ठुलो पर्दाको चलचित्र सुकुम्बासी हो । सुकुम्बासी चलचित्र पछि फुयालले गोठालो, आई यम सरी, जस्ट फर यू, म छु नि तिम्रो, जुनि जस्ता अन्य चलचित्रमा पनि काम गर्नुभयो । सबै ठुलो पर्दाको चलचित्रमा खल पात्रकै रुपमा हुनुहुन्छ । अहिले नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको गोलमाल टेलिशृङ्खला ब्यस्त हुनुहुन्छ । यसमा पनि उहाँको भूमिका खल पात्र जस्तै छ ।

संघर्ष

फुयालले यो क्षेत्रमा आउन धेरै संघर्ष गर्नुभएको छ । ‘आफ्नो रुचिले अपनाएको क्षेत्र भएको कारण सुरुमा लगानी गरेर आएको हो । आम्दानी त्यति छैन । खर्च धेरै नै छ । यो क्षेत्रमा आउनको लागि सुरुको समयमा आठ÷दश लाख खर्च भयो । त्यसमाथी धेरै समय दिन सकिन । यो फिल्म क्षेत्रमा लागेर प्रगति होला जस्तो पनि देखिन । तर छोड्न पनि सकिन ।’

उहाँ भन्नुहुन्छ,‘समय, परिस्थितिले गर्दा प्रभावकारी रुपमा लाग्न पनि सकिन ।’ उहाँ हरेक दिन बिहान बेलुकै दौडिने गर्नुहुन्थ्यो । एक सिनको लागि रातभर कुर्दै बसेको, मेकअप गरेर एक सिनका लागि दुई दिनसम्म कुरेर बस्नु परेको उहाँको अनुभव छ । भन्नुहुन्छ,‘न चिसो भन्न पाइन्थ्यो न घाम । एकदमै दुख भोगेर यो ठाउँसम्म आइपुगेको हो ।’

पर्दामा देखिए जस्तो सहज छैन

पर्दामा देख्न जति सहज छ त्यति कलाकारिता पेशा सहज भने छैन । यसमा अन्य पेशामा जस्तै समय पनि हुँदैन । यो पेशालाई पेशा र ब्यवसायको रुपमा हेर्नुहुँदैन । यसबाट आम्दानी पनि धेरै छैन । यो सब फुयालको भोगाई हो । ‘आफ्नो रुचि र चाहनाको बिषय भएकोले यो क्षेत्रमा निरन्तरता दिएको हुँ’ उहाँ भन्नुहुन्छ,‘यो पेशाबाट दाम होईन नाम कमाएको छु र नाम कमाउनै हिँड्दैछु ।’

बक्स अफिस इन्टरनेशनल

अहिले फुयाल संस्था पनि आवद्ध हुनुहुन्छ । चलचित्र क्षेत्रमा राम्रो गर्ने कलाकारहरुको प्रोत्साहनको लागि संस्थामा आवद्ध भएको उहाँ बताउनुहुन्छ । बक्स अफिस इन्टरनेशनलको उहाँ सुन्दरीजल र कागेश्वरी मनोहरा शाखाको अध्यक्ष हुनुहुन्छ । यसले देशभरिका राम्रा कलाकारहरुलाई अवार्ड दिने, प्रोत्साहनको लागि पुरस्कार दिने गर्छ । त्यसको साथसाथै संस्थाले विभिन्न सामाजिक कार्य गर्ने, साईकल र्याली गर्ने, फुटबल खेलाउने जस्ता कामहरु पनि गर्दै आएको छ ।

कागेश्वरी मनोहरामा नै ७० जना भन्दा धेरै कलाकार छन् । तर अझै पनि सबै कलाकारहरुलाई समेटेर संस्थामा ल्याउन नसकेको उहाँ बताउनुहुन्छ । कलाकारहरु आ–आफ्नो टोलमा भएको कारण सम्पर्कमा आउनुभएको छैन । अहिले यो संस्थामा उहाँ र कमल खड्का हुनुहुन्छ ।

प्रेरणाको स्रोत नाट्य समूह

फुयाल बैंकबाट रिटार्यड भएको ३ वर्ष भयो । तर कलाकारिता र संघसंस्था तथा सामाजिक काम निरन्तर छ । ‘मेरो कलाकारितामा लाग्ने प्रेरणाको स्रोत कागेश्वरी नाट्य समूह नै हो । यो नाट्य समूहबाट नै मलाई उत्साह र जाँगर मिल्दै गयो । मुख्य प्रेरणाको स्रोत हाम्रो कागेश्वरी नाट्य समूह र यो समुहका साथीहरू नै हो ।’

उहाँ भन्नुहुन्छ,‘मैले कलाकारीताको सुरुवात गरेकै यहि नाट्य समूहबाट हो । आज जे छु जहाँ छु यहिँबाट सुरुवात गरेर हो । कलाकारितामा निरन्तरता दिदै अगाडि बढ्ने क्रम निरन्तर छ । भोलि के हुन्छ सफल÷असफल थाहा छैन । तर पनि अझै थकाई लागेको छैन । आफ्नो हिसाबले यात्रा जारी नै छ ।’ फुयाल अगाडि भन्नुहुन्छ,‘अहिलेसम्म दर्शकहरुले माया गर्नु भएको छ । साथ दिनुभएको छ । यहि आशिर्वाद र बरदान भएको छ ।’

अहिलेसम्म गरेको फिल्म र निभाएको भुमिका उहाँलाई राम्रै लाग्छ । अरु दर्शककै हातमा छ । त्यसमध्ये पनि सबैभन्दा मन परेको काम र आफ्नो भूमिका जुनि चलचिको रहेको उहाँ बताउनुहुन्छ । यो कोरोनाको कारण हलमा चलेको छैन । यसमा पनि उहाँ मुख्य खलनायकको रुपमा हुनुहुन्छ ।

कलाकारिता क्षेत्रमा लाग्न चाहने नयाँ पुस्तालाई उहाँले सिकेर, बुझेर र आफ्नो क्षमता के कति छ सोंच विचार गरेर आउन आग्रह गर्नुहुन्छ । यो पेशा अरु पेशा भन्दा राम्रो छ । कलाकार भनेको राज्यको गहना हो । तर यो क्षेत्रमा लाग्नेहरुलाई राज्यले केहि गर्न नसकेको फुयाल बताउनुहुन्छ ।

[sidebar name="button post"]