अजय खत्री
साउन १३ , काठमाडौंं । कागेश्वरी मनाेहरा नगरपालिकामा पर्ने कागेश्वरीधामकाे बृहत् विकास सुरु भएकाे छ । धार्मिक एवं पर्यटकिय स्थल कागेश्वरीधाम शिवपुरी राष्ट्रिय निकुञ्जको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ गागलफेदीमा रहेकाे छ । कागेश्वरीमा जनैपूर्णिमा र कागेअष्टमीका दिन विशेष मेला लाग्ने गरेको छ । जनै पूर्णिमाको दिन तामाङ्ग जातिका बौद्व धर्मावलम्वी झाक्रीद्वारा विशेष पूजा आजा हुने गर्छ । झाक्री बन्न चाहने चेलाहरुलाइ कागेश्वरी साछी राखि मन्त्र दिएर झाक्री बनाउने चलन पनि रही आएको छ ।
कागेश्वरीमा काठमाण्डाै उपत्यकाका तीन जिल्ला काठमाण्डाै, ललितपुर, भक्तपुर तथा काभ्रेका बनेपा, धुलिखेलका तिर्थालुहरु आउने गरेका छन् । अहिले पित्तलको कागको प्रतिमा रहेको स्थानमा पहिला सुनको काग रहेको थियो । शिव भगवानको आस्थाकाे धरोहर सहित कागको विशेष पूजाआजा हुने र प्राकृतिक रुपले मनमाेहक रहेको छ । यस स्थानको प्रबर्दनका लागी स्थानियको सक्रियता, कागेश्वरी मनोहरा नगरपालिकाको समन्वय र प्रदेश सरकारको आर्थिक सहयोगमा बिकास निर्माण र प्रबर्दनको काम भैरहेको छ ।
कागेश्वरी विकास र प्रबर्दनको काम
कागेश्वरीमा १७४३ खुट्किलो सिढीँ निर्माणको पहिलो चरणमा ४२ वटा सिढीँ बनेकाे छ । आर्थिक वर्ष २०७६÷७७ मा माननीय रामेश्वर फुँयालको पहलमा प्रदेश सरकार बाट विनियोजित दश लाखमा उपभोक्ता समितीकोबाट सिढीँ निर्माणको पहिलो चरणको काम सम्पन्न भएको हाे । पहिलो चरणमा ४२ सिढीँ बनेका हुन् । अब बाकी सिढीँका काम अगाडी बढाउनुपर्नेछ । सिढीँमा ढुङगा बिछ्याउनको लागि वडा १ र २ का वडाअध्यक्ष मुकुन्द गजुरेल र सुदर्शन धिमालले आर्थिक सहयोग गर्नुभएको उपभोक्ता समितीका अध्यक्ष चिरञ्जीवि ढकालले बताउनुभयो । याे वर्ष प्रदेश सरकारबाट बीस लाख विनियोजन भएको पनि उहाँले बताउनुभयो ।
यस आयोजनालाइ समयमा नै सम्पन्न गर्नको लागि समितीले एक घर एक सिढीँ निर्माणको अभियान अगि बढाएको छ । जसमा इच्छुक व्यक्तिहरुले आफ्ना पितृको नाममा वा सहयोगि हात अगाडी सार्न सक्नेछन् । याे अभियानमा जाेडिन अरु नागरिकलाई समितीका सल्लाहकार विमल धिमालले आग्रह समेत गर्नुभएको छ । यस अभियानबाट संकलित रकम समितीले कोष निर्माण गरी नगरलाइ दिने र नगरले रकमलाइ दोब्बर बनाएर दिने समेत धिमालले बताउनुभयो । सिढीँ निर्माणको काम समयमा नै सम्पन्न गर्नसके कागेश्वरीधामको सुन्दरता थपिनुका साथै तिर्थालुहरुलाइ मन्दिर पुग्न सजिलो हुनेछ । यसले आन्तरीक पर्यटन प्रबर्दनमा सहयोग पुग्ने २ वडाका वडासदस्य शिवराम बस्नेतको भनाइ छ ।
कागेश्वरीधाम प्रवेशमार्गमा ढुङगा विछ्याउने काम सम्पन्न
काठमाडौं महानगरपालिकाबाट विनियोजित एक करोड मध्ये सत्तरी लाखमा कागेश्वरीधाम प्रवेश मार्गमा ढुङगा विछ्याउने काम सम्पन्न भएको छ । भुगोल अनुसार स्थानिय अनुभवका आधारमा निर्माण सम्पन्न भएको उक्त कामलाई काठमाडौं महानगर पालिकाले नमुना कामको सुचिमा समेत राखेको छ । अनुगमनको क्रममा विनियोजीत रकम भन्दा कामको प्रगति बढी देखिएको समेत अनुगमन समितीका सदस्य वडा नम्बर १ का अध्यक्ष मुकुन्द गजुरेलले बताउनुभयो । साथै अबका दिनमा कागेश्वरीधामको डि.पी.आर अनुसारका स्काइ बृज बनाउने लगाएतका कामहरु अघी बढाउने समेत उहाँले बताउनुभयो ।
एक करोड मध्ये तीस लाख प्रबेश द्वार बनाउनका लागि छुट्याइएकोमा प्रबेश द्वार कहाँ बनाउने भन्ने अलमलले गर्दा काम हुन सकेको छैन । तर कामले निरन्तरता पाउने र यसै वर्षबाट कागेश्वरीधाममा अति आवश्यक देखिएको शौचालय, कपडा फेर्ने ठाउँ र होटलको समेत व्यवस्था गरिने सिढीँ निर्माण उपभोक्ता समितीका अध्यक्ष चिरञ्जीवि ढकालले बताउनुभयो ।
‘ कागेश्वरीधाम विकास कोष ’
कागेश्वरीधामको दिर्घकालिन विकास परियोजना सहित ‘ कागेश्वरीधाम विकास कोष ’ को निर्माण हुने भएको छ । कागेश्वरीधामको विकास, संरक्षण र दिर्घकालिन विकास योजना बनाउनका लागि कोषको निर्माण हुन लागेको हो । यस कोष निर्माण भएपछि कागेश्वरीधामको सम्पूर्ण कामकाज कोष मातहतबाट नै गरिने २ नम्बर वडाका वडा सदस्य शिवराम बस्नेतले बताउनुभयो । स्थानिय समाजसेवि, कागेश्वरी मनोहरा नगरपालिका र प्रदेश सरकारको सक्रियता सहित निर्माण कार्यले आगामी दिनमा धार्मिक पर्यटनको विकास र घुम्न लायकको गन्तव्यका रुपमा कागेश्वरीधाम थपिने भएकोे छ ।